नेपाली अर्थतन्त्रमा कोरोना भाइरसको असर

अर्थ/वाणिज्य

2/10/2020

काठमाडौं, २७ माघ । चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि त्यसको ठूलो असर नेपाली अर्थतन्त्रमा देखिएको छ ।

चिनियाँ लगानीकर्ता र ठेकेदारले निर्माण गरिरहेका करिब दुई दर्जन योजनाको काम कोरोना भाइरसका कारण प्रभावित भएको छ । नयाँ वर्ष मनाउन घर (चीन) गएका चिनियाँ कामदार काममा नफर्किंदा पूर्वाधार आयोजनामा असर परेको हो ।

त्यस्तै, आयोजनाहरूले चीनबाट थप कामदार एवं उपकरण पनि ल्याउन पाएका छैनन । चीनतर्फका दुवै नाका बन्द गरिएको छ ।

यो समस्याका कारण धादिङमा चिनियाँ लगानीमा निर्माण भइरहेको हुवासिन सिमेन्ट, भैरहवा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, माथिल्लो त्रिशूली बीलगायत करिब आधा दर्जन विद्युत् आयोजनाको काम प्रभावित भएको छ ।

रसुवामा बनाइँदै गरिएको सुक्खा बन्दरगाह पनि प्रभावित बनेको छ ।

कोरोना भाइरसका कारण चिनियाँ सरकारले विभिन्न प्रान्तमा हवाई तथा सडक यातायातमा रोक लगाएको छ । यो समस्याका कारण करिब डेढ दर्जन विद्युत् आयोजनामा असर परिरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ