काठमाडौं, १४ फागुन । उत्तरपूर्वी भारतकै ठूलो पर्यटन मेला बंगाल ट्राभल मार्ट (बीटीएम) मा सहभागीले पोखरा घुम्न चासो देखाएका छन् । सिलिगुडीमा भएको बीटीएममा भारत, भुटान तथा बंगलादेशका ट्राभल तथा टुर एजेन्सीबीच पोखरा आकर्षणमा परेको हो ।
बीटीएमको नेपाल कक्षमा पोखरा पर्यटन परिषद अन्तर्गत १२ व्यवसायी आफ्नो स्टल राखेका थिए । पश्चिम बंगाल, सिक्किम सहित उत्तरपूर्वी भारतमा रहेका ट्राभल तथा टुर अपरेटरले नेपाल कक्षमा पुगेर पोखरामा उपलब्ध प्याकेजको जानकारी लिए ।
पोखराका ट्राभल, टुर, होटल, रेस्टुरेन्ट व्यवसायीले पोखराका पर्यटकीय स्थान, साहसिक गतिविधि, धार्मिक गन्तव्य, सांस्कृति विविधताका बारेमा अवगत गराए । परिषदको भारत सेल्स मिसन २०२० अन्तर्गत पोखराका व्यवसायी सिलिगुडी पुगेका हुन् ।
चीनमा नोबेल कोरोना भाइरसको सन्त्रासले पोखराको पर्यटन समेत सुस्ताएपछि व्यवसायीले भारतको उत्तरपूर्वी सहरमा प्रवर्द्धन थालेका हुन् ।
पोखराका पर्यटन व्यवसायी पश्चिम बंगालको सिलिगुडीसँगै कोलकातामा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने छन् । मंगलबार कोलकाता र पोखराका पर्यटन व्यवसायीबीच बीटूबी सेल्स मिसन कार्यक्रम हुने छ ।
तपाईको प्रतिक्रिया