भारतीय कम्पनी एसजेभीएनले अरुण तेस्रोका लागि जुटायो १ खर्ब लगानी

अर्थ/वाणिज्य

काठमाडौं, १२ फागुन । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन)ले नेपालमा सञ्चालन हुने अरुण तेस्रो जलविद्यतुत परियोजनाका लागि ६३ अर्ब ३३ करोड भारतीय रुपैयाँ (एक खर्ब १ अर्ब रुपैयाँ) लगानीका लागि बैंकहरुसँग सम्झौता गरेको छ ।

एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले मंगलबार भारत र नेपालका विभिन्न बैंकसँग ऋण सम्झौता गरेको हो । भारतीय मिडिया बिजनेस स्टान्डर्डका अनुसार एसबीआई इन्डिया र पीएसबीको नेतृत्वमा कन्सोर्टियममा एक्जिम बैंक, केनरा, यूबीआई र नेपालका एभरेस्ट बैंक, नबिल बैंकले लगानी गर्न लागेका हुन् ।

एसजेभीएनका अध्यक्ष प्रवन्ध निर्देशक नन्दलाल शर्माले वित्तीय वर्ष २०२३÷२४भित्र नेपालमा ९ सय मेगावाट अरुण–३ जलविद्युत् परियोजना निर्माण गरिसक्ने योजनामा यो लगानीले सघाउने बताए । आयोजना २०२५को फेब्रुअरीमा सकाउने लक्ष्य भएपनि एक वर्ष पहिले नै सकिने अनुमान गरिएको छ ।

यो परियोजनाका लागि भारत सरकारले बजेटबाट नै रकम छुट्याएर खर्च गर्दै आएको छ । यो परियोजना निर्माणका लागि सन् २०११ मा १ खर्ब ४ अर्ब लागत अनुमान गरिएकोमा आठ वर्षपछि लागत बढेर १ खर्ब १६ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले २०७५ बैशाख २९ गते नयाँदिल्लीमा स्विच थिचेर अरुण तेस्रो परियोजनाको संयुक्त शुभारम्भ गरेका थिए । अहिले आयोजनाको सुरुङ र बाँध निर्माणको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ