ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु

अर्थ/वाणिज्य

काठमाडौं, २५ पुस । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

काठमाडौँमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरु ठूलो हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्ने बताए ।

“बैंक मर्जर असाधारण काम हो, यो प्रसंशा योग्य छ । बैंक ठूला हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ । ठूला बैंकले मुलुकको दूरदराजसम्म नबिनतम बैंकिङ्ग सेवा र वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गर्न जरुरी छ,” उनले भने ।

प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र सुधारउन्मुख रहेको र यसका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताए ।

साना व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गर्नुभएका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र आफ्नो राजनितिक जीवनमा धेरै समानता रहेको बताउँदै प्रधानमन्त्री दाहालले मुलुककै सबैभन्दा ठूलो बैंकको अध्यक्ष बन्न सफल भएकोमा अध्यक्ष ढकाललाई बधाई तथा शुभकामना समेत दिए ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार अर्थतन्त्र सुधारमा केन्द्रित रहेको र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

“वर्तमान सरकार मुलुकको अर्थतन्त्र सुधार गर्न प्रतिवद्ध छ । हामीले हाम्रो पहिलो क्याबिनेट बैठकबाट नै मुलुकको अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम सुरु गरेका छौं,” उनले भने ।

नेपाल सरकारका मुख्य सचिब शंकरदास बैरागीले अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखिएकोले निजी क्षेत्र हतोत्साहित हुनुपर्ने अवस्था नभएको बताए । “अर्थतन्त्रमा सकारात्मक संकेत र आर्थिक सूचकमा सुधार आएको छ । बैंकहरुको ठूलो मर्जरले वित्तीय क्षेत्रको स्थायित्वमा ठूलो योगदान पु¥याउन सक्छ,” उनले भने ।

उनले नेपाल सरकार निजी क्षेत्रलाई साथमा लिएर, निजी क्षेत्रको मनोबल बढाएर अगाडि बढ्ने बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले बैंक तथा वित्तीय संस्थाहरु ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत कम हुँदै जाने बताए । उनले मर्जरले बैंकहरु ठूला बन्दै जाँदा बैंकहरुले स्वनियमनमा बस्नुपर्ने बताए ।

उनले ठूला बैंकले एकल ग्राहक सिमामा आन्तरिक सिमा समेत कायम गरी साना तथा मझ्यौला ऋणिहरुलाई ऋण प्रवाह गर्नुपर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ