काठमाडौं, १६ भाद्र । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) शीखर सम्मेलनको समापनसँगै नेपाल र भारतबीच सम्पन्न द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै भारतका पूर्वप्रधानमन्त्री तथा विख्यात राजनेता अटलविहारी वाजपेयीको निधन प्रति दुःख व्यक्त गरेका छन् ।
उनले हालै भारतको केरल राज्यमा आएको बाढीका कारण भएको जनधनको क्षतिले आफूलाई दुखी तुल्याएको पनि बताए । केही महिनाअघि नेपाल र भारतका प्रधानमन्त्रीहरुबीच भएका वार्तामा भएका समझदारीहरु क्रमशः कार्यान्वयन भइरहेकोमा दुवै पक्षबाट सन्तुष्टि व्यक्त गरिएको थियो ।
समझदारी अनुुसार भारतले नेपाललाई केही हवाई रुट प्रदान गरिसकेको र केही प्रदान गर्ने विषयमा प्राविधिक रुपमा छलफल भइरहेको बताउँदै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले सीमावर्ती इलाकामा हुने गरेको डुवान समस्याका सम्बन्धमा संयुक्त कार्यदलहरुले अध्ययन गरिरहेकोमा सन्तुष्टि व्यक्त गरेका छन् ।
त्यसैगरी आन्तरिक जलमार्ग, रक्सौल–काठमाण्डौ रेलमार्ग, जोगवनी विराटनगर रेलमार्ग, जयनगर–वर्दिवास रेलमार्ग तथा टनकपुरको सडकका सम्बन्धमाभइरहेको कामप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरेका छन् ।
उक्त अवसरमा रक्सौल–काठमाण्डौ ब्रोडगेज रेलमार्गको प्रारम्भिक सर्भेका विषयमा दुई देशबीच हस्ताक्षर भएको समझदारी पत्रको आदान प्रदान भएको थियो । समझदारी पत्रमा नेपालका तर्फबाट सचिव भौतिक योजना मधुसुदन अधिकारी तथा भारतका तर्फबाट राजदूत मनजीवसिंह पुरीले हस्ताक्षर गरेका थिए ।
तपाईको प्रतिक्रिया