काठमाडौं, २२ जेठ । राष्ट्रिय एकता अभियानले नेपालको राजनीतिमा चासो र हस्तक्षेप बढाउँदै लगेको उत्तरी छिमकी चीनले नेपालको मिडिया कब्जा गर्ने गरेको प्रयास गरिरहेको भन्दै निन्दा गरेको छ ।
अभियानले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेको छ, ‘चीनको हस्तक्षेप र कुटनीतिक मर्यादा विपरीतका क्रियाकलापमा मिडिया तगारो बनेपछि उसले त्यसैलाई कब्जा गर्न खोज्नु दुखद हो ।’
यही योजना अन्तर्गत चीनको चाइना अडियो मिडिया ग्रुप (सिएएमजी) ले काठमाण्डौं स्थित मालिकार्जुन एफएममा ३ करोड १० लाख ७ हजार ६४२ नेपाली रुपैयाँ लगानी गरेको प्रमाण फेला परेको अभियानको दाबी छ । मालिकार्जुन एफएम र क्यापिटल एफएम एकआपसमा जोडिएका कम्पनी हुन् ।
यी दुवै कम्पनीका मालिक प्रकाश बाबु पौडेल हुन् । उनी चाईना स्टडी सेन्टर (सिएससी) का महासचिव हुन् । सिएससी चीन केन्द्रित संस्था हो । यसले विशेष गरी चीन र नेपालबीचको अध्ययन गतिविधिका क्षेत्रमा काम गर्ने गरेको छ ।
चीनको सिएएमजीबाट प्राप्त उक्त रकम राज मिडिया ग्रुप प्रालि (राज टिभी) स्थापनामा खर्च गरिएको जनाईएको छ। यो विषय मालिकार्जुन एफएमको अडिट रिपोर्टमा पनि उल्लेख गरिएको छ।
नेपालको कानुनले भने सञ्चार क्षेत्रमा विदेशी लगानी बन्देज गरेको छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा (१) मा विदेशी लगानीकर्ताले कुनै पनि उद्योगमा विदेशी लगानी गर्न र त्यस्तो लगानीबाट लाभ प्राप्त गर्न सक्ने ब्यवस्था गरिएको छ।
तर, सोही दफाको उपदफा (२) मा उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उनुसूचिमा उल्लिखित उद्योगमा विदेशी लगानीबाट सञ्चालित उद्योगले आर्जित नाफा वा अन्य कुनै कुनै तरिकाबाट विदेशी लगानी गर्न सक्ने छैन।
अनुसूचीको विदेशी लगानी खुला नगरिएका उद्योग वा ब्यवसाय महलको ७ नम्वर वुँदामा आमसञ्चारका माध्यमहरु (पत्रपत्रिका, रेडियो, टेलिभिजन, र अनलाईन समाचार) को ब्यवसाय, राष्ट्र भाषाको चलचित्र ब्यवसायमा विदेशी लगानी खुला नगरिएको उल्लेख छ ।
तपाईको प्रतिक्रिया