निधिलाई शुभकामना छ, तर सहयोग रहँदैन : डा.अमरेश कुमार सिंह

अन्तर्वार्ता

7/23/2021

० प्रतिनिधिसभा सदस्यबाट किन राजीनामा गर्नुभएको छ । तपाइँको राजीनामा कति औचित्यपूर्ण छ त ?

— मेरो राजीनामा यो बेला एकदमै औचित्यपूर्ण हो । किनकि यो पार्टीभित्रको आन्तरिक संघर्ष पनि हो, पार्टी जीवनमा संघर्ष हुन्छ । बीपीको ३९औं स्मृति दिवसको अवसरमा उहाँलाई सम्झिँदै मैले राजीनामा गरेको हुँ । उहाँले भन्नुभएको थियो कि एउटा समय आउँछ, पार्टीभित्रका जुझारु नेता कार्यकर्ताहरु पार्टीभित्रै संघर्ष गर्नुपर्ने दिन आउँछ । अहिले पार्टीभित्रका इमान्दार, निष्ठावान, जुझारु नेता कार्यकर्ताहरु किनारा लाग्दै गएका छन् । उनीहरुलाई क्रियाशील सदस्यता नदिने, दुःख दिने काम भइरहेको छ । समायोजनको नाउँमा जुन तरिकाले गैरकांग्रेसीहरुलाई नेतृत्वको जिम्मा लगाउने र निष्ठावान तथा इमान्दार कार्यकर्ताहरु होच्याउने काम भइरहेको छ, त्यसको विरुद्ध मैले राजीनामा दिएको हुँ । पार्टीभित्र मैले संघर्षका लागि पार्टीका नेतृत्वलाई नै राजीनामा बुझाएको छु । किनकि कांग्रेसको आसन्न १४ औं महाधिवेशन स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । कुनै पनि हिसावले कसैले कब्जा गर्ने नियत राख्नु हुँदैन । कांग्रेसप्रति समर्पित कार्यकर्ताले नेतृत्व चयन गर्न पाउनुपर्छ । कांग्रेसको नाउँमा चैतेहरु सक्रिय सदस्यता लिने, प्रभावित गर्ने र कब्जा गर्ने प्रवृत्तिहरु हावी हुँदै गएको देखिन्छ । आउँदो स्थानीय निर्वाचनमा टिकट पाउनका लागि पार्टी कब्जा गर्ने उद्देश्यले खासगरी प्रदेश नं. २ मा त्यहींका नेतृत्ववर्गले विभिन्न गतिविधिहरु गरिरहेका छन् । कांग्रेसमा बसेर कुनै पनि नेताको दासत्व स्वीकार गरिँदैन ।

० तर तपाइँले सांसद पदबाट राजीनामा दिनु के अर्थ ?

— मैले राजीनामा संघीय संसदको सचिवालय वा सभामुखलाई दिएको छैन । पार्टीको गलत नीतिका विरुद्ध पार्टीभित्रै संघर्ष गर्छु । महन्थ ठाकुरजी कांग्रेसभित्र मधेशका स्थापित नेता हुनुहुन्थ्यो, डा.रामवरण यादव तत्कालीन महामन्त्री पनि हुनुहुन्थ्यो, उहाँहरु पाखा लागिसकेपछि मधेशको एकल नेतृत्व उपसभापति विमलेन्द्र निधिजीको हातमा गयो । उहाँ नेतृत्वमा माथि जानुभयो तर मधेशमा कांग्रेस सखाप हुँदै गयो । यसको एउटै कारण हो कि इमान्दार कार्यकर्ताहरुलाई उहाँले पाखा लगाउन खोज्नुभयो । यसका उदाहरणहरु स्थानीय, प्रदेश र संघको गत निर्वाचनलाई हेरे हुन्छ । उहाँले पार्टीमा मधेशबाट उपसभापति, उपप्रधानमन्त्री, गृहमन्त्रीलगायत विभिन्न महत्वपूर्ण पदहरु पाउनुभयो । तर कांग्रेसका धेरै इमान्दार, निष्ठावान र जुझारु नेताहरु किनारा लाग्दै गए । कांग्रेसको इतिहासमा महत्वपूर्ण योगदान दिनुभएका मधेशका कुनै पनि व्यक्तित्वलाई उहाँले सम्मान गर्न सक्नुभएन । मधेशको राजनीतिबाट ऐतिहासिक काम गर्नुभएका स्व.रामनारायण मिश्रका छोरालाई समेत निधिले पाखा लगाउनुभयो । त्यस्तै, शेष इद्रिस, दुर्गानन्द झा लगायतका व्यक्तित्वहरुको योगदानलाई सम्मान गर्न सकिएन । त्यसैले अब व्यक्तिकेन्द्रित नीति चल्दैन । यो मेरो राजीनामा व्यक्ति केन्द्रित र गलत नीतिको विरुद्ध संघर्ष हो । निष्ठावान कार्यकर्ताले कांग्रेस हाँक्नुपर्छ ।

० तपाइँले उठाउनुभएको मागलाई राजीनामाले सम्बोधन हुन्छ त ?

— मलाई सभापतिज्यूले आश्वासन दिनुभएको छ । मैले सभापतिको हातमा राजीनामा दिएँ, उहाँले समस्याको समाधान हुन्छ भन्नुभएको छ । मलाई विश्वास छ कि पार्टीले सही निर्णय गर्छ र समस्या समाधान हुन्छ ।

० तपाइँको राजीनामा फिर्ता पनि हुनसक्छ ?

— समस्या समाधान भएपछि राजीनामा त फिर्ता हुन्छ नै । यो पार्टीको आन्तरिक कारणले मैले राजीनामा दिएको हुँ ।

० आफ्नो राजनीतिक फाइदाका लागि राजीनामा दिनुभयो तर तपाइँकै क्षेत्रका जनताहरु पीडित छन्, त्यसबारे केही बोल्नु हुन्न भन्ने आरोप तपाइँमाथि छ नि ?

— यो गुनासो सर्लाहीका जनताको छैन, केही मान्छेहरुका मात्र हो । सर्लाहीका जनताले मलाई संसदमा जिताएका छन्, माइतीघरमा धर्ना दिनका लागि होइन । मैले हरेक समस्याका बारेमा संसदमा आवाज उठाएकै छु । सर्लाहीका उखु किसानका समस्याहरु पनि मैले उठाएको छु । उखु किसानका समस्याहरु तत्कालीन उद्योगमन्त्री लेखराज भट्टलाई अवगत गराएको थिएँ । उखु किसानका नाममा केही दलालहरुले बढी प्रचारबाजी गरेका छन् । सर्लाही निर्वाचन क्षेत्र नं. ४ को अनुहार मेरो नेतृत्वकै कारण फेरिएको छ । जनताको समस्या समाधान गर्नका लागि राज्यलाई दबाब दिने मेरो आफ्नो तरिका छ । अरुले जे गर्छ मैले पनि त्यही गर्नुपर्छ भन्ने जरुरी छैन । जनताले मलाई निर्वाचित गरेर जहाँ पठाएका छन्, त्यहाँ मैले आफ्नो कुरा राख्ने हो । जो संसदमा पुग्न सकेन उसले सडकमा धर्ना दिने हो नि ।

० अहिले त तपाइँकै पार्टीको सरकार बनेको छ, ती पीडित उखु किसानका समस्याहरु समाधान हुन्छ त ?

— सरकारलाई यो विषयमा ध्यानाकर्षण गराउँछु । अहिलेसम्म उद्योगमन्त्री पनि नियुक्त भएको छैन । अहिले त सरकार बनेको मात्रै छ, भोलीपल्टै समस्याको समाधान हुँदैन । उद्योगमन्त्री बनिसकेपछि उखु किसानका माग पूरा गराउन म प्रयास गर्छु ।

० तपाइँले यो बेलामा दिएको राजीनामा एउटा पब्लिसिटी स्टन्ट वा सरकारमा कुनै लाभका पदका लागि गर्नुभएको छ भन्ने कुराहरु पनि आएका छन् नि ?

— म अहिलेसम्म तीन पटक सांसद बनेको छु । म त वि.सं. २०६३ सालमै मन्त्री पद पाइरहेको थिएँ, तर म लिइनँ । त्यतिबेला मैले गिरिजाबाबुलाई भनेको थिएँ कि म मन्त्री बन्दिँन तर काम गर्छु । म मन्त्रीका लागि सांसद बनेको होइन, जनताको जनआवाज उठाउनका लागि सांसद बनेको हुँ । निर्वाचित सांसदको भूमिका मैले निर्वाह गरेको छु । अर्को कुरा कांग्रेस आसन्न महाधिवेशनमा कुनै पदका लागि हो भन्ने भ्रम नहोस् ।

० कांग्रेसको १४औं महाधिवेशन यही भदौ मसान्तभित्र गर्नुपर्ने बाध्यता छ नि ?

— भदौभित्रै महाधिवेशन भएन भने वैधानिकता नै संकटमा पर्छ भन्ने होइन, नैतिक दायित्वभित्र पर्छ । एमाले र माओवादीको महाधिवेशन भएको यत्रो भइसक्यो । उनीहरुको वैधानिकता समाप्त भएन त । एमाले र माओवादीले महाधिवेशन नगर्दा कसैले पनि वैधानिकताको प्रश्न नउठाउने तर कांग्रेसको मात्रै वैधानिकता जाने ? किनकि काँग्रेस एउटा अनुशासित पार्टी हो, नीति नियम मान्ने पार्टी हो । दुई वर्षदेखि सारा विश्व नै कोरोना महामारीको चपेटामा छ, पार्टीका गतिविधिहरु सञ्चालन हुन सकेको छैन । यसका लागि हाम्रो नेतृत्वमा छलफल भइरहेको छ । यसका बारे कुनै न कुनै निकास खोजिन्छ ।

० त्यसो भए, तोकिएको मितिमा महाधिवेशन हुँदैन ?

— तोकिएकै मितिमा महाधिवेशन हुनेमा शंका छ । यसका धेरै कारणहरु छन् । अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो लागेको छैन । अहिलेको परिस्थितिमा तोकिएको मितिमा महाधिवेशन सम्पन्न हुने सम्भावना कम छ । नेतृत्वले केही दिनमा नै केही निर्णय गर्छ ।

० समयमा महाधिवेशन सम्पन्न हुन नसक्ने मुख्य कारण के हो ?

— मुख्यतः कोरोना महामारी र पार्टीभित्रको विवाद दुवै कारण नै अहिले मुख्यतः हो । पार्टी भित्रका विवादहरु पनि अहिलेसम्म समाधान हुन सकेको छैन । ती विषयहरुमा अहिले छलफल भइरहेको छ ।

० भनेपछि, महाधिवेशनको मिति फेरि कति दिन बढाउन सकिन्छ ?

— जुन पार्टीले महाधिवेशन गर्नेतिर लागेको छैन, त्यस्ताहरुलाई कुनै प्रश्न नगर्ने तर जुन पार्टी कम्तीमा महाधिवेशनका लागि क्रियाशील भएर लागेको छ त्यसलाई मात्रै किन प्रश्न गर्ने ? एमाले र माओवादीले पनि महाधिवेशन गरेको छैन । कांग्रेसभन्दा पहिले उनीहरुको महाधिवेशन भएको थियो । तर अहिलेसम्म पनि महाधिवेशनको कुनै सुरसार देखिएको छैन ।

० तर कांग्रेस त आफूलाई लोकतान्त्रिक पार्टी भनेर भन्छ नि ?

— कांग्रेसले आफ्नो महाधिवेशन निश्चितरुपमा गर्छ । महाधिवेशनको बारेमा कांग्रेसले चाँडै नै उपयुक्त निर्णय गर्छ । महाधिवेशनको विषयमा कांग्रेस गम्भीर छ । देश र जनताको आकांक्षामाथि कांग्रेस खरोरुपमा उत्रन्छ ।

० भदौमै कांग्रेसको महाधिवेशन सम्पन्न नहुने नै भयो त ?

— यही अवस्थामा त सम्भव छैन ।

० तपाइँ उपसभापति विमलेन्द्र निधिप्रति आक्रोश पोख्नुभएको छ । उहाँ सभापतिका उम्मेदवार पनि हुनुहुन्छ र मधेशी मूलका पहिलो व्यक्ति जो सभापतिका आकांक्षी हुनुहुन्छ । तपाइँले उहाँले सघाउने कि नसघाउने ?

— उहाँलाई सभापतिमा मेरो शुभकामना छ तर सहयोग रहँदैन । म आफूलाई मधेशी कलस्टरबाट सहमहामन्त्रीका लागि उम्मेद्वारी दिन्छु ।

० निधिलाई सभापतिमा किन सहयोग नगर्ने ?

— पार्टीभित्र उहाँको विचार, सोच र काम गराई फरक–फरक छ । हामी एउटै पार्टीमा भएपनि काम गर्ने तरिका फरक छ । म युवालाई राजनीतिमा अगाडि बढाउन चाहन्छु, सुशासनमा बढी जोड दिन चाहन्छु, विकासको कुरालाई बढी उठाउँछु । म अहिलेसम्म एकचोटि पनि मन्त्री बनेको छैन तर सर्लाही–४ अन्य क्षेत्रभन्दा विकास, सुशासनको मामिलामा राम्रो छ । साथसाथै राजनीतिमा निष्ठा, इमान्दारिता र समर्पणको आवश्यकता हुन्छ । ती विषयमा उहाँ र मेरो कुरा मिल्दैन ।

० उहाँको पनि लामो राजनीतिक इतिहास छ नि ?

— राजनीतिक इतिहास लामो वा छोटोसँग हुँदैन । कोही १० पटक प्रधानमन्त्री बनेपछि उसको नाम इतिहासमा रहँदैन । जस्तै महात्मा गान्धी त एकचोटि पनि प्रधानमन्त्री वा मन्त्री बन्नुभएन, के उहाँको इतिहास छैन ? सबभन्दा कम उमेरमा नै चन्द्रशेखर आजाद, भगत सिंह बित्यो, उहाँहरुको नाम अहिले पनि भारतमा चिनिन्छ नि ।

० उहाँको योगदान त्यो किसिमको छैन भन्न खोज्नुभएको हो ?

— उहाँको योगदान छ । २०३६ र ०४६ सालको आन्दोलनमा उहाँको योगदान छ, त्यसका लागि म उहाँलाई आदर, सम्मान र सराहना पनि गर्छु । तर यता आएर जब उहाँ नेतृत्वपंक्तिमा गइसक्नुभयो, जुन हिसावले मधेशमा कांग्रेसको प्रभाव बढ्नुपर्ने त्यो हुन सकेन बरु उल्टै घट्दै गयो । अर्को कुरा, जुन हिसावले उहाँले सबैलाई समेटेर लग्नुपर्ने थियो, उल्टै उहाँले विभेद गर्नुभयो । नेता भनेको विशाल हृदयको हुनुपर्छ, सबैलाई समेटेर लग्नुपर्छ । तर उहाँले गुट चलाउन थाल्नुभयो । आफूसँग फरक मत राख्नेलाई सिध्याउन खोज्नभयो ।

० गत निर्वाचनमा खासगरी प्रदेश २ मा कांग्रेसको जुन अवस्था भयो, त्यसको मुख्य दोषी निधिजी नै हुनुहुन्छ त ?

— नेतृत्वमा उहाँ हुनुहुन्छ भने त्यसको नैतिक जिम्मेवारी पनि उहाँले लिनुपर्छ नि । किनकि स्थानीय र प्रदेशसभा निर्वाचनमा टिकट बाँड्नेमा उहाँकै भूमिका हो । गठबन्धन बन्न नदिनेमा पनि उहाँकै भूमिका हो । चुनावका बेला माओवादी र मधेशी दलसँग गठबन्धनको कुरा भइरहेको थियो तर उहाँले न मधेशी दलसँग गठबन्धन बनाउनुभयो न त माओवादीसँग नै । अर्को कुरा उहाँ बारम्बार उपप्रधान, गृह, भौतिक पूर्वाधार लगायतका मन्त्रीहरुमै बस्नुभयो । यति हुँदाहुँदै पनि कांग्रेस मधेशबाट विस्थापित हुने अवस्था आयो । त्यसैले कहीं न कहीं नेतृत्वले सोच्ने बेला आइसकेको छ ।

० कांग्रेसको आधारभूमि मधेश हो, पहिलोपटक कोही मधेशीले कांग्रेसको नेतृत्व गर्ने चाहना राखेका छन् नि ?

— त्यो आधारभूमिलाई विस्तार गरेको भए पो उहाँले त्यसको पुरस्कार पाउने हो नि । तर उहाँको कारण त आधारभूमिमा ह्रास आउँदै गयो । कांग्रेस कुनै क्षेत्रीय वा जातीय पार्टी होइन कि मधेशीले नेतृत्व पाउनुपर्छ । यो त एउटा भावनात्मक कुरा हो कि जात र समुदायको नाममा स्थान दिइनुपर्छ । राजनीतिमा जात वा समुदायको कुराले महत्व राख्दैन । राजनीतिमा निष्ठा, सिद्धान्त, कामकारबाही महत्वपूर्ण हुन्छ । कांग्रेस एउटा राष्ट्रिय पार्टी हो, एउटा लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टीमा साम्पद्रायिकताको कुनै गुन्जाइस हुँदैन ।

० कांग्रेस यदि लोकतान्त्रिक पार्टी हो भने आजसम्म एउटा पनि मधेशी कांग्रेसको नेतृत्व गर्ने ठाउँमा किन पुगेन त ?

— नेतृत्वका लागि आउनुप¥यो नि । तपाइँ पत्रकारिता छोडेर आउनुस् न राजनीति गर्न, तपाइँले पाउनुहुन्छ । मधेशीले नेतृत्व किन पाएन भने त्यसको जवाफ नेतृत्व क्षमतामा पनि भर पर्छ नि ।

० भनेपछि कांग्रेसका मधेशी मूलका क्षमतावान नेताहरु आएनन् ?

— आए तर बीचैमा हराए । महन्थ ठाकुरजी हुनुहुन्थ्यो तर उहाँ बीचैमा छोडेर जानुभयो नि । पार्टीमा उहाँ त कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँलाई कसैले पार्टी छोडेर जानुस् भनेका थिएनन्, आफै छोडेर जानुभयो ।

० पार्टी छोड्न ठाकुरजीलाई विवश बनाइयो नि ?

— हैन, त्यस्तो कुरा छैन । कांग्रेस तराई, पहाड र हिमालसँग जोडिएको राष्ट्रिय पार्टी हो । नेतृत्वले समग्र देशलाई लिएर जान सक्नुपर्छ । नेतृत्वका जुन कमी कमजोरीहरु छन्, त्यसलाई सच्याउनुपर्छ । तर मधेशी, जनजाति आदिले नै नेतृत्व पाउनुपर्छ भन्ने कुरा छैन । राजनीतिमा नेतृत्व कहाँको हो त्यो ठूलो कुरा होइन, त्यसको नीति के हो त्यसले महत्व राख्छ । नीति र नियतले देश बन्ने हो । तर कुनै जात वा समुदायको नेतृत्व आयो भने सबै समस्या समाधान हुन्छ भन्ने कुरा छैन । अहिलेसम्म मधेशका नेताहरु धेरै पटक मन्त्री बने तर मधेशीको समस्या किन समाधान भएन ? ती मन्त्रीहरुको नातागोताले मात्रै फाइदा उठाए । सबभन्दा बढी मन्त्रीहरु मधेशी दलका नेताहरु भए, तर समस्याहरु झन् विकराल हुँदै गयो । त्यसकारणले मधेशका नेतृत्वले मात्रै मधेशीको समस्या समाधान गर्न सक्छ भन्ने कुरा मलाई लाग्दैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ