० मुलुकमा गहिरिँदै गएको राजनीतिक संकटलाई कसरी हेर्नुभएको छ ?
— अहिले देखिएको राजनीतिक संकट कृत्रिम हो । प्रधानमन्त्री बन्न अथवा सत्तामा पुग्नका लागि कृत्रिम संकट उत्पन्न गरिएको वा भनौं देखाइएको छ । होइन भने, अहिलेसम्म बहुमतको सरकार छँदैछ, संसद छँदैछ, संविधान कार्यान्वयन भइ नै रहेको छ, राज्यका सबै निकाय आफ्ना ठाउँमा क्रियाशील छन् भने यो कुन प्रकारको संक्रमण हो, बुझ्न सकिएन ।
० यस्तो कृत्रिम संकटमा देशी–विदेशी शक्तिको हात छ त ?
— जे कुरामा पनि विदेशीमाथि प्रश्नचिन्ह खडा गर्ने यहाँ एउटा परिपाटीजस्तै छ । जबसम्म राष्ट्रभित्रकै शक्ति सक्रिय हुँदैन, तबसम्म कुनै पनि बाह्य शक्तिले खेल्न सक्ने अवस्था हुँदैन । आजको ग्लोबल भिलेज भइसकेको दुनियाँमा हरेक देशभित्र अर्को देशको कुनै न कुनै प्रकारको स्वार्थ रहेकै हुन्छ । तर पनि त्यसको मूल कारण आफ्नै राष्ट्रभित्रका केही तत्वहरु हुन्छन् ।
० कृत्रिम राजनीतिक संकटको सिर्जनाकार प्रधानमन्त्री ओली कि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ?
— वि.सं. २०६३ पछि सहकार्य र समझदारी भन्ने एउटा आदर्श शब्दहरु नेपालको राजनीतिमा प्रवेश गराइयो । यो बहुत सौहार्दपूर्ण शब्दहरु हो । तर नेपाली राजनीतिमा यी शब्दहरुको अन्तिम परिणति भागवण्डामा गएर टुंगिएको देखिन्छ । हामीले अहिले जति समस्याहरु हेरिरहेका छौं, जुनसुकै पार्टीमा समस्या छन्, ती भागवण्डा नमिलेरै हो । कुनै सैद्धान्तिक समस्या कसैमा कहीँ पनि छैन । आज नेकपा बनिसकेर फेरि पूरानै अवस्थामा फर्कदा पनि कुनै सैद्धान्तिक विवाद थिएन । मात्र व्यक्तिलाई लक्षित गरेर प्रश्नहरु खडा गरिएको छ । ओली र प्रचण्डको सार्वजनिक वक्तव्यलाई हेर्ने हो भने एक–अर्कामाथि व्यक्तिगत आक्षेपबाहेक सैद्धान्तिक विचार आउने गरेको देखिँदैन । त्यसैले यो कृत्रिम हो ।
० अहिलेको राजनीतिक संकटको निकास जनता समाजवादी पार्टी नेपालसँग छ भन्ने कुराहरु सुनिन्छ नि ?
— पहिलो कुरो त जसपासँग सत्ताको साँचो छ भन्ने कुरासँग म सहमत छैन । किनभने प्रधानमन्त्रीको कुर्सी नै खाली छैन । जुन पद रिक्त भएको छैन, त्यसको पूर्तिका लागि अहिलेदेखि नै बहस चलिरहेको छ । यो अधुरो र अपुरो हो, यसले परिणाम दिँदैन । बरु सत्ताको साँचो माओवादी केन्द्रसँग छ । माओवादीले समर्थन फिर्ता लियो भने तुरुन्त पद खाली हुन्छ र त्यसपछि संविधानका अन्य धाराहरु सक्रिय हुन्छ । अहिले त ७६ (२) को सरकार कायम छ, त्यसलाई समर्थन प्राप्त छ, त्यसले कार्यान्वयन गरिरहेको छ, संसद पनि चलिरहेकै छ । प्रचण्डले मञ्चमा उभिएर जेजति कुराहरु भनेपनि औपचारिकरुपमा उहाँले संसद सचिवालयलाई समर्थन फिर्ता लिएको कुनै जानकारी गराउनुभएकै छैन । त्यसैले यो सरकार गठन हुँदाको परिस्थिति यावतरुपमा कायम छ ।
० जसपालाई ‘किङ्गमेकर’ भनेर किन प्रचार गरिएको होला त ?
— सञ्चारमाध्यमहरुले जनतामा आफ्नो प्रचारका लागि यस्ता शब्दाबलीको प्रयोग गर्छन । जसपाका अध्यक्ष महन्थ ठाकुरले पनि भन्नुभएको थियो कि मिडियाले उहाँलाई प्रधानमन्त्री नै बनाइदियो । प्रधानमन्त्रीको पद रिक्त नभएसम्म पदपूर्तिको कुनै सम्भावना हुँदैन । संविधानको धारा ७६ को १, २, ३ र ५ ले प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाको रहेको छ । यी चारवटै धारामा जसपाको कुनै सम्भावना छैन ।
० प्रचण्डले वैकल्पिक सरकार बनाउनका लागि गठबन्धन बन्नेबित्तिकै ओली सरकारबाट समर्थन फिर्ता लिने भन्नुभएको छ, यसलाई कसरी हेर्ने ?
— यसलाई हामी राजनीतिक बेइमानी भन्छौं । किनभने नेपालको संविधानबमोजिम जेठ १५ गते नेपाल सरकारले बजेट प्रस्तुत गर्नैपर्छ । अर्थात् त्योभन्दा पहिले नीति तथा कार्यक्रम पारित भएको हुनुपर्छ । यो हिउँदे अधिवेशन अहिलेसम्म जारी छ, यो अधिवेशन अन्त्य हुनुपर्छ । त्यसपछि बजेट अधिवेशनका लागि आह्वान गर्नुपर्ने हुन्छ र बजेट आउनुभन्दा पहिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएर पारित भएको हुनुपर्छ । त्यतिबेलासम्म माओवादीले कि त समर्थन गर्नुपर्छ वा विरोधमा जानुपर्छ । यदि माओवादीले नीति तथा कार्यक्रमलाई समर्थन ग¥यो भने त्यसपछि पनि बोल्ने कुनै नैतिक आधार रहन्छ त ? त्यसैले यसलाई हामीले राजनीतिक बेइमानी भनिरहेका छौं । संसदीय राजनीतिमा संसदभित्रको गणितीय संख्याले सरकार निर्माणको प्रक्रियालाई सुनिश्चित गर्छ । यसलाई किन्तु परन्तु लगाएर रोक्ने प्रक्रिया राजनीतिक सम्मत वा राष्ट्रहितको कुरा भन्न मिल्दैन । हलो अड्काएर गोरु चुट्ने जुन उखान छ, यहाँ ठ्याक्कै मेल खान्छ । प्रचण्डले अहिले समर्थन फिर्ता नलिएर जसपालाई लक्षित गरेर टिप्पणीहरु आइरहेका छन्, आश्चर्यको कुरो हो । हिजोसम्म मधेशी नेताहरुलाई पदलोलुपको संज्ञा दिने मिडियाहरुले अहिले सत्तामा नगइदिएको कारणले हलो अड्काएको टिप्पणी गरिरहेका छन् । जसपाले आफ्नो मुद्दाका लागि राजनीति गर्ने कि ओलीलाई ढाल्ने वा अरुलाई प्रधानमन्त्री बनाइदिने ? स्वाभाविक छ, कुनै पनि राजनीतिक दल जुन भोटबैंकको प्रतिनिधित्व गर्छ, त्यसको स्वार्थका लागि उसले राजनीति गर्नुपर्ने हुन्छ । जसपा मधेशको भोटबैंकमा आधारित पार्टी हो, त्यसैले मधेशसँग जोडिएका मुद्दाहरु अहिले उसको प्राथमिकतामा छ र हुनुपर्छ । उसले त्यही आधारमा आफ्नो राजनीतिलाई अगाडि बढाउने हो, यही नै उसको कर्तव्य र दायित्व पनि हो । जसपा अध्यक्ष महन्थ ठाकुरजी अहिले सही ट्रयाकमा हुनुहुन्छ ।
० त्यसो भए जसपाभित्र दुई किसिमको विचारधारा किन देखिएका छन् ?
— विशेष परिस्थितिवश राजपा र समाजवादी पार्टी एकीकृत भएर जसपा निर्माण भएको हो । राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण बाध्यतावश पार्टी एकीकरण भएको थियो । हुन त मधेशी जनता अथवा मधेशी समाजको एउटा आमइच्छा थियो कि मधेशी नेताहरु एक ठाउँमा आएर एउटा शक्ति बन्नुप¥यो । त्यो कुरा त सम्बोधन भयो । तर मूलतः राजपा र समाजवादी विपरीत विचारधाराबाट अगाडि बढेको सैद्धान्तिकरुपमा फरक मत राख्ने पार्टीहरु थिए । समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई आफ्नो एजेन्डा मानेर अगाडि बढेको थियो भने वेस्ट मिनिस्ट्रियल सिस्टमको संसदीय प्रजातन्त्र अथवा जुन अहिले चलिरहेको छ संसदीय प्रणाली, त्यसको पक्षमा अथवा त्यसलाई आफ्नो आदर्श मानेर राजनीतिक विचारधारा मानेको पार्टी थियो राजपा । यी दुवै बिल्कूल फरक विचारधारा भयो । लक्ष्य एउटै भएपनि मार्गचित्र फरक–फरक छ । यी दुई फरक विचारधाराको वर्चस्व कायम गर्ने राजनीतिक ध्रुवीकरण हो । अर्को कुरा, डा.बाबुरामजी त माओवादीकै निस्केका नेता हुन् । कतै–कतै उहाँको चित्त नबुझेर बाहिर निस्किनुभएको छ । बारम्बार वैचारिक एकता कुरा हामी सुनिरहेकै छौं । उपेन्द्र यादवजी दुईबुँदे सहमतिसहित यही प्रधानमन्त्री ओलीको सरकारमा सामेल भएको कुरा ताजै छ । त्यतिबेला ओली पवित्र हुनुहुन्थ्यो, अहिले अपवित्र हुनुभो भन्न मिल्दैन । बरु त्यतिबेला उहाँ मधेशप्रति अहिलेको जति पनि सकारात्मक हुनुभएको थिएन, जति अहिले हुनुहुन्छ । एउटा तिक्ततापूर्ण वातावरणमा उपेन्द्रजीको बहिर्गमन भएको थियो । त्यसले पनि कुनै न कुनै प्रकारको भूमिका खेलेको हुनुपर्छ । पार्टीभित्र भविष्यमा वर्चस्व कायम गर्नका लागि ध्रुवीकरण गर्ने चलन हरेक पार्टीमा हुन्छ । जसपाभित्र भएको ध्रुवीकरण वैचारिक भिन्नता र ओलीसँगको विगतका अनुभवहरुले पनि काम गरेको छ ।
० वैचारिक र सैद्धान्तिक भिन्नता रहेकोले अहिलेको प्रकरणले जसपा फेरि विभाजित त हुने होइन ?
— त्यस्तो सम्भावना छैन । किनभने एक त कानूनीरुपमा ठूलो अड्चन छ । अर्को कुरा विगतमा पार्टी विभाजन गरेर जाँदाको परिणाम प्रायः सबै नेताले थाहा पाइसकेकोले पार्टी विभाजन गर्ने पक्षमा कोही छैन होला ।
० तर विचार र सिद्धान्त फरक–फरक रहेकोले कसरी एक ठाउँमा लामोसम्म बस्न सक्छन् ?
— हामी संसदीय राजनीतिमा छौं । संसदीय राजनीतिमा कसैले आफ्नो कुरा राख्ने छुट हुन्छ । अन्ततः संसदीय दलको बैठक गरी कसरी अगाडि बढ्ने निर्णय सबैका लागि मान्य हुन्छ । विचारधाराको रुपमा यो एउटा ध्रुवीकरण होला तर त्यतिबेला उपेन्द्र यादवको विचार स्वीकार्य भए वा नभए पनि उहाँ पार्टी फोड्नु हुने छैन । बरु मौन बस्नु होला र आफ्नै दृष्टिकोण लिएर अर्को पक्ष ओलीसँग जाँदा पनि मधेशको लागि हितकारी नभएको प्रमाणित गर्नेतिर आफ्ना कदमहरु चाल्नुहुनेछ । यसरी पनि उहाँले दलमा आफ्नो वर्चस्व बनाउने अवस्था सिर्जना गर्ने प्रयास गर्न सक्नु हुनेछ । जसपा मात्रै होइन, कुनै पनि पार्टी फुट्ने सम्भावना छैन ।
० प्रधानमन्त्री केपी शर्मा ओली जतिबेला दुई तिहाइ बहुमतको सरकार चलाइरहनुभएको थियो त्यतिबेला मधेशका मागहरु सम्बोधन गर्नेतिर इच्छा देखाउनुभएन । अहिले सत्ता संकटमा परेपछि उहाँमा सुझबुझ आएको हो ?
— त्यो पनि एउटा कारण हुन सक्छ । राजनीतिमा धेरै कुरा परिस्थितिले निर्माण गर्छ, राजनीति सम्भावनाको खेल हो । आफू बलियो भएसम्म कसैसँग सम्झौता गर्दैन । हामीसँग यसबारे विगतको लामो अनुभव छ । विश्वकै राजनीतिमा यो चरित्र सामान्य हो । आफ्नो शक्ति सम्झौता नपुगेपछि सबैले सम्झौता गर्छन् । ओलीजीले पनि कम्प्रोमाइज गरिरहेका छन् र सँगसँगै उहाँको यो एउटा रणनीतिक प्रयास पनि हो । उहाँले मधेशमा मात्रै राजनीतिकरुपमा आफ्ना बहिष्कार देख्नुभएको थियो । तर अहिले उहाँले त्यसलाई सदुपयोग गरेर कता–कता मधेशमा आफ्नो लागि बाटो खुला गर्ने, सहज बनाउने प्रयासलाई अगाडि बढाउनुभएको छ । उहाँले मधेशी युवाहरुलाई पनि अवसर दिइरहनुभएको छ । त्यसले गर्दा उहाँ मधेशमा प्रवेश गरेर मधेशको भोट बैंकलाई सहज तरिकाले आफ्नोतिर तान्ने प्रयास गरिरहनुभएको छ । किनभने ढिलो–चाँडो चुनावमै जाने हो र चुनावको पूर्वतयारीका लागि हरेक राजनीतिक नेताले आफ्नो भोट बैंक बनाउँछ । ओलीजी पनि त्यतातिरै प्रयासरत रहेको देखिन्छ ।
० एमाले मधेशमा कमजोर अवस्था छ त ?
— एमाले मधेशमा कमजोर छैन, ओलीजीलाई बहिष्कार गरेको मात्रै हो । विगतमा ओलीजीको कटुक्तिहरुका कारणले अथवा उहाँको उखान–टुक्काका कारणले मधेशी जनताको चित्त दुःखेको हो । जसले गर्दा मधेशमा उहाँप्रति नकारात्मकता थियो । त्यसलाई उहाँले कतै–कतै न्यून गर्ने कोशिस गरिरहनुभएको छ । एमालेलाई कमजोर देख्नु त त्यति परिपक्क कुरा नहोला ।
० भनेपछि मधेशमा पनि ओलीप्रति आकर्षण बढ्दैछ ?
— यसका विभिन्न कारणहरु छन् । जतिबेला अन्तरिम संविधान जलाउँदा मधेशी जनअधिकार फोरमका नेताहरुलाई काठमाडौंमा हिरासतमा लिइएको थियो, त्यतिबेला फोरमको जनकपुर कमिटीले निर्णय गरेर आन्दोलनको सुरुवात गरेको थियो । माघ २ गते जुन आन्दोलन भएको थियो त्यो जनकपुर कमिटीले सुरु गरेको थियो र त्यहीँंबाट आन्दोलन सुरु भएको थियो । जसमा माघ ५ रमेश महतोको हत्या भएपछि त्यो आन्दोलन भयावह रुप लियो । ती युवाहरु जसले निःस्वार्थ भावले मधेशको हकहितका लागि काम गरेका थिए । त्यसलाई मधेशी नेताहरुले उचित अवसर दिएन, यो एउटा दुःखद पक्ष हो । त्यहीकारणले मधेशी नेताहरु नातावाद, कृपावाद, आसेपासेलाई देखेको, आफ्ना परिवारका सदस्यहरुलाई अवसर दिएको आरोपहरु लाग्दै आएको छ र यो सत्य पनि हो । यो दुर्भाग्यपूर्ण कुरा हो । एमाले र केपी ओली खास गरेर राष्ट्रका हरेक क्षेत्रलाई समेट्ने प्रयास गरेको देखाउन खोज्नुले मधेशका युवाहरु आकर्षित भइरहेका छन् ।
० प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन गर्ने भन्दै आउनुभएको थियो । तर उहाँले गर्ने इच्छा पनि जाहेर गर्नुभएको छ । भनेपछि अहिले संविधान संशोधनको आवश्यकता र औचित्य उहाँले महसुस गर्नुभएको हो ?
— राजनीति सम्भावनाको खेल हो, धेरै कुरा परिस्थितिले तय गर्छ । अहिलेको परिस्थिति पनि यस्तो विकसित भएको छ कि अब आउने दिनमा मधेशी मात्र होइन, सीमान्तकृत, उपेक्षित जति समुदाय वर्गहरु छन् सबैलाई समेट्नैपर्ने हुन्छ । यो एउटा निरन्तर राजनीतिक प्रवाहको सकारात्मक पक्ष हो । ओलीजी अनुभवी नेता हुनुहुन्छ, उहाँले परिस्थितिलाई बुझिरहनुभएको छ । विगतमा संविधान संशोधनको पक्षमा आवश्यकता र औचित्यको प्रश्न उठाउनुभएको थियो । त्यसैले समयले उहाँलाई एउटा अनुभव पनि दिएको छ, उहाँको बुझाइमा पनि कतै न कतै परिपक्कता आएको हुनुपर्छ । त्यसकै परिणाम हामीले देखिरहेका छौं ।
० भनेपछि उहाँलाई आवश्यकता र औचित्य महसुस भएको हो ?
— निश्चितरुपमा । संविधान संशोधन मधेशको मात्रै मुद्दा होइन, मधेशले उठान गरिदिएको विषय पनि हो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको माग गरिएको छ, यो मधेशमा मात्रै वृद्धि हुन्छ भन्ने कुरा छैन । यो राष्ट्रिय आवश्यकताको मुद्दा हो । यो कुरा ओलीजीले पनि अब बुझ्दै हुनुहुन्छ ।
० मधेशको स्कूलिङ्गबाट राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव जमाएका नेता हृदयेश त्रिपाठी अहिले ओली सरकारमा मन्त्री हुनुहुन्छ । अहिले मधेशको सवालमा प्रधानमन्त्री ओली सकारात्मक हुँदा त्रिपाठीको भूमिका कस्तो देख्नुहुन्छ ?
— हृदयेश त्रिपाठीजीको मधेश राजनीतिसँगको संलग्नता अथवा भूमिकालाई सन्देह गर्न मिल्दैन । उहाँ सुरुदेखि नै स्व.गजेन्द्र नारायण सिंहसँग रहेर आफ्नो भूमिका खेल्दै आउनुभएको छ । उहाँले आफ्नो समग्र जीवन यसैमा लगाउनुभएको छ । चुनावी राजनीतिमा खासगरी ग्राउण्ड रियालिटीलाई पनि आत्मसात गर्नुपर्ने हुन्छ । मधेश राजनीतिमा वर्तमान प्रदेश २ का नेताहरुले आफ्नो वर्चस्व बनाए । प्रदेश १, ५ अथवा ७ का नेताहरुले त्यति फेस भ्याल्यु पाउन सकेनन् । त्यसका लागि पनि उहाँलाई कता न कता चित्त दुखेको हुनसक्छ । समग्र मधेश एक प्रदेशको नारा लाग्ने बेलामा उहाँ अग्रपंक्तिमा हुनुहुन्थ्यो । मधेश आन्दोलनका बेला जुनसुकै कार्यालयमा नेपाल सरकारको ठाउँमा मधेश सरकार लेखिएको थियो । त्यस हिसावले उहाँ पनि मधेशकै नेता हुनुहुन्छ र मधेशकै राजनीति गर्नुभएको छ । तर स्थानीय परिबन्द र मधेशी नेतृत्वबाट पाउनुपर्ने उचित सम्मानको अभावको कारणले उहाँले परिस्थितिवश सम्झौता गर्न परेको हुनसक्छ ।
० अहिले मधेशको माग पूरा हुने अवस्था सिर्जना हुँदैछ, त्रिपाठी पनि यही सरकारमा मन्त्री हुनुहुन्छ । उहाँको भूमिका किन देखिँदैन ?
— उहाँ स्वयम् सरकारमा हुनुहुन्छ, त्यसैले बढी मुखर हुने अवस्था हुँदैन । मन्त्री भएको कारणले कतिपय यस्ता दायित्व हुन्छन्, जसमा नेताले खुलेर बोल्न सक्ने अवस्था बन्दैन । फेरि मन्त्रीले बोलेको कुरा लगभग भएको हुनुपर्दछ । अहिले अत्यन्त जटिल मोडमा नेपालको राजनीति छ, एउटा अन्योलताको परिस्थिति सिर्जना गरिदिएको छ । त्यसैले हुस्सु लागेको अवस्था भएकोले हामीले धेरै कुरा देख्न सकिरहेका छैनौं ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया