महिलामाथि अहिले पनि प्रत्यक्ष शोषण र उत्पीडन छ : रेखा यादव

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा लेखक

अन्तर्वार्ता

12/18/2020

० तपाइँद्वारा लिखित ‘आत्मजा’ उपन्यासको अर्थ के हो ?

— हाम्रो समाजमा छोरीमाथि जसरी हिंसा भइरहेको छ, त्यसका विभिन्न रुपहरु पनि छन् । आत्माभित्रको आत्मा जसले आफूलाई माया गर्ने र सँगसँगै कसरी समाजलाई माया गर्ने भन्ने कुरो मैले यो ‘आत्मजा’ उपन्यसामा राखेको छु ।

० यसबाट के सन्देश दिन खोज्नुभएको छ ?

— जतिबेला मान्छे जन्मिन्छ, त्यतिबेलादेखि नै उसको संघर्ष सुरु हुन्छ । यो संघर्षमा आफूले कसरी सफलता हासिल गर्न सकिन्छ, त्यसबाट लड्न सिकाउँछ । यसको मूल सन्देश यही नै हो ।

० हाम्रो समाजमा महिलामाथि हुने गरेका शोषण, उत्पीडन कम गर्न कतिको सहयोग पु¥याउँछ ?

— यो मेरो पुस्तकप्रति पाठकको कस्तो दृष्टिकोण बन्छ, त्यो मलाई थाहा भएन । तर म पाठकको मनलाई बुझेको छु । किनभने म धेरै नै किताबहरु पढ्ने गर्छु । म अध्ययन गर्छु, उपन्यास पनि धेरै पढ्छु र सत्य घटनाहरु पनि धेरै हेर्छु । तर त्यसमा सबै ठाउँको सबै कुरा समेटेको देख्दिँन । मैले आफ्नो उपन्यास ‘आत्मजा’मा सबै समेट्ने कोशिस गरेको छु । मैले यसमा महिलाको संघर्ष र महिलाको मायालाई समेटेको छु । संघर्ष गर्दै जाँदा कतिपय ठाउँमा मायाबाट टाढा भएको हुन्छ । त्यो मायालाई पनि संगाल्ने काम गरेकोले पाठकले रुचाउँछन् र अनुशरण गर्छन् भन्ने अपेक्षा गरेको छु ।

० महिलामाथि हुने गरेका के–कस्ता शोषण वा उत्पीडन तपाइँले प्रत्यक्ष हेर्नुभएको छ ?

— हाम्रो देशमा आजको परिप्रेक्ष्यमा हेर्ने हो भने धेरै नै महिलामाथि शोषण र उत्पीडनहरु छन् । हामीले प्रत्यक्ष हेर्ने भनेको केही प्रतिशत मात्रै हो । मैले महिलाको उत्पीडन र शोषणविरुद्ध बोल्नुपर्छ, आवाज उठाउनुपर्छ भन्ने प्रेरणा आफ्नो बुवाबाट नै पाएँ । मेरो बुबा निरन्तर २५ वर्षसम्म प्रधानपञ्च हुनुभयो र म मधेशी समुदायबाटै आएको छु । मधेशमै जन्मे हुर्केकी हुँ । मधेशको गाउँ–गाउँमा मेरो बुवा समाज सेवा गर्ने व्यक्ति भएकोले उहाँसँगै म निकै नै घुम्ने गर्थें । त्यहाँको अवस्था हेर्दा एकदमै विडम्बनापूर्ण हेर्थे । म सानो हुँदा हेर्थे कि कहीं बोक्सीको नाममा महिलामाथि अन्याय भइरहेको छ । कतिपय बलात्कृत भएकी महिलाले बाहिर भन्न हुन्न भन्ने कुरा धेरै पटक हेरेको छु । त्यो प्रचलन आज पनि विद्यमान छन् । जहाँ–जहाँ मिडिया पुगेको छ, त्यहाँको बाहिर आउँछ, तर जहाँ पुगेको छैन अहिले पनि लुकाइन्छ । अहिले पनि मधेशमा घुम्टो प्रथा छ । जुन बेला घुम्टो प्रथा सुरु भएको होला त्यो बेला एउटा सम्मानजनक हिसाबले भएको होला । समाजका शोषकहरुले शासन गर्नका निम्ति त्यसलाई आफू अनुकूल निरन्तरता दिए । समाजका शासक भनेको घरका पुरुष नै हुन् । हुन त घरमै महिलाले नै महिलामाथि दमन गर्छन् । त्यहीं कुराहरुलाई हेरेर मैले समाजका लागि केही गर्नैपर्छ भनेर पनि म राजनीति पनि लागें । राजनीतिमा लाग्दा पनि आफ्नो योग्यता र क्षमताअनुसार सफलता नपाएको अनुभव गरें । किनभने राजनीतिक गर्ने ठाउँ वा दलहरुमा पनि महिलामाथि हिंसा हुने गरेका छन् । योग्य व्यक्तिलाई पछाडि छाडिदिने, जो योग्य छैनन् त्यस्तालाई बोकी–बोकी हिंड्ने चलन पनि छ । यस्ता प्रवृत्तिको विपक्षमा म सधैं उभि रहें । मैले आफ्नो उपन्यास ‘आत्मजा’मा घरपरिवारमा हुने शोषण, समाजबाट हुने शोषण र धर्मको नाममा हुने शोषणका बारे पनि आवाज उठाएको छु । सबै कुरालाई समेटेर मैले यो ‘आत्मजा’लाई उपन्यासको रुपमा ल्याएको हुँ ।

० तपाइँ घुम्टो प्रथालाई कसरी हेर्नुहुन्छ ?

— यसलाई हामीले कसरी हेरिरहेका छौं वा कसरी हाम्रो समाजमा यसले प्रभाव पारिरहेको छ, त्यसमा भर पर्छ । मैले सुने अनुसार घुम्टो प्रथा यसकारण राखियो कि पुरुषहरुको जुन कुनजर हुन्छ, त्यसबाट बचाउनका लागि राखिएको थियो । तर, त्यसलाई कुरितीतर्फ ल्याइदियो । अब त्यसलाई लाजसँग जोडिदियो । यदि घुम्टो राखिएन भने उसलाई लाज लाग्दैन भन्ने जुन दृष्टिकोण छ, त्यो गलत छ । त्यसैले अहिले यसलाई कुप्रथा नै भन्नुपर्छ ।

० भनेपछि घुम्टो प्रथा हटाउनुपर्छ ?

— निश्चितरुपमा घुम्टो प्रथालाई हटाउनै पर्छ । घुम्टो लगाएर हामी फौजमा जान सक्दैनौ नि । यदि हामी सेना वा प्रहरीमा गयौं भने त्यहाँ घुम्टो त राख्न पाइँदैन । तर त्यो घुम्टो उघार्नुको अर्थ हाम्रो समाजले जुन बेलज्जा भन्ने शब्द प्रयोग गर्छ, त्यो होइन । घुम्टो उठाउनै पर्छ ।

० तपाइँले ‘आत्मजा’मा जुन किसिमको महिला उत्पीडनका कुराहरु उल्लेख गर्नुभएको छ, तपाइँले कतिको उत्पीडन भोग्नुपर्‍यो त ?

— म त छोरी नै हुँ, मैले उत्पीडन वा शोषण भोगिन भनेर ढाँट्न मिल्दैन । म पनि छोरी भएर समाजमा थिचिएको हुँ । म राजनीतिमा पनि लागेको छु, आफ्नो दलमै पनि थिचिएको हुँ । पढ्ने बेला, शिक्षा लिने बेलामा पनि छोरी भएकै कारण मैले भोगेका केही त्यस्ता घटनाहरु पनि छन् ।

० तपाइँको उपन्यास ‘आत्मजा’ खासगरी कुन वर्गका लागि लक्षित छ ?
— यो उपन्यास खासगरी १५ वर्षकी बालिकादेखि ८० वर्षकी वृद्धासम्मका लागि लक्षित गरेकी छु ।

० तपाइँले खासगरी ‘आत्मजा’मा तराई–मधेशका महिलाहरुका पीडाहरुबारे ब्याख्या गर्नुभएको छ । तर लक्षित वर्गसम्म कसरी पुर्‍याउने त ?

— पहिलो कुरा लक्षित वर्गसम्म पुर्‍याउनका लागि म घरदैलो पनि गर्छु । यसभन्दा पहिला पनि म घर–घर पुगेर घचघचाउने काम आफैले पनि गरेकोछु । त्यसैगरी म यो उपन्यास ‘आत्मजा’ पनि पुर्‍याउँछ र सँगसँगै म आफै घर दैदो जान्छु ।

० ‘आत्मजा’मा तपाइँले ‘लिभिङ्ग टुगेदर’को पनि कुरा उठाउनु भएको छ, किन ?

— हाम्रो समाजले हेर्ने दृष्टिकोणमा फरक छ । कुनै महिला वा पुरुषले कसैसँग सम्बन्ध राख्न हुँदैन भन्ने छ । हामीले अहिले पनि समाजमा हेरेका छौं कि बिहेको नाममा धेरै शोषण भएका छन् । विवाहको नाममा जन्जीर जकडिएको पनि देखिन्छ । दुइटैको मन मिलेको छैन तर बाध्यतावश एकै ठाउँमा बस्नुपरेको छ । त्यसो हुँदा दुइटै असहज वातावरणमा बाँचिरहेका हुन्छन् । दुइटैलाई कहीं न कहींबाट माया त चाहियो नि । किनभने माया भनेको चाहेको व्यक्तिबाट पाइने हो, नचाहेको व्यक्तिबाट पाइँदैन । भनेपछि उसको लागि किन न बाटो खोल्ने ? त्यसकारण ‘लिभिङ्ग टुगेदर’ को बाटो खोल्नुपर्छ ।

० हाम्रो जस्तो समाजमा ‘लिभिङ्ग टुगेदर’लाई कसरी सहजरुपमा लिन सकिन्छ त ?

— यो कुरा विस्तारै हुने कुरो हो । काठमाडौंमै पनि यस्ता रिलेसनहरु धेरै छन्, तर बाहिर देखिएको छैन । मधेशमा पनि यस्ता रिलेसनहरु थुप्रै छन्, तर उजागर मात्रै नभएको हो । किन उजागर भएन भने समाजले त्यसलाई मान्यता दिएको छैन । हाम्रै छिमेकीमा तीन वर्ष अगाडि नै यसलाई मान्यता दियो तर समाजले अझै पनि स्वीकार गर्न सकेको छैन । विस्तारै हुन्छ र यहाँ पनि हुन्छ ।

० तपाइँले हिन्दी भाषाको ‘तुम बिन’ नामक कविता संग्रह पनि ल्याउनुभएको छ, यसको मूल भाव के हो ?

— खासगरी यो कविता संग्रहमा मैले विवाहसम्बन्धी कुराहरु राखेको छु । सँगसँगै मैले यो कुरा पनि राखेको छु कि प्रेममा विफल भए तापनि मान्छे जीवनमा विफल हुँदैन । उसले नयाँ–नयाँ बाटोहरु खोलिरहनु पर्छ । केटीले केटालाई वा केटाले केटीलाई मात्रै धोका दिँदैनन् दुवै पक्षलाई भइरहेको हुन्छ । तर पनि एउटाले माया गर्छ भन्दैमा अर्को पक्षले माया गर्दैन भन्ने छैन । आँखा र मनलाई नियन्त्रण गर्न धेरै गाह्रो हुन्छ । पुरुषले महिलाई मन पराएको हुन्छ तर महिलाले पुरुषलाई मन नपाएको पनि हुनसक्छ । तर माया भन्ने कुरा हरेक चीजमा हुन्छ । हामीले माया गर्ने भनेको हरेक निर्जिवदेखि सजिव प्राणीसँग हुनसक्छ । हामीले संसारमा सबैलाई माया गर्नुपर्छ, कसैलाई उपेक्षा गर्नु हुँदैन भन्ने नै यसको मुख्य सन्देश हो ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ