० हिन्दी मञ्च नेपालको उद्देश्य के हो ?
— नेपाल निर्माण हुनुभन्दा पहिलेदेखि नै हिन्दी भाषा सम्पर्क भाषाको रूपमा रहँदै आएको थियो । १६ औं शताब्दीमा नेपाल र भारत बीच कुराकानी हुँदा अंग्रेजी भाषा प्रयोग गर्ने प्रचलन थिएन । त्यतिबेलादेखि नै सम्पर्क भाषाको रूपमा हिन्दी भाषा नै चल्दै आएको छ । हिन्दी भाषालाई नेपाल र भारतको सम्पर्क भाषाको रूपमा स्थापित गर्नु यो संस्थाको उद्देश्य हो । अहिले पनि संसारभर जहाँ नेपालीहरू पुगेका छन्, त्यहाँ वैकल्पिक भाषाको रूपमा हिन्दी भाषाकै प्रयोग हुन्छ ।
० नेपालमा हिन्दी भाषाको विरोध पनि हुने गरेको छ, यसलाई कसरी हेर्नुहुन्छ ?
— सबैको आ–आफ्नो विचार हुन्छ तर जसले विरोध गरिरहेका छन्। उसले पनि हिन्दी भाषा बोलिरहेका हुन्छन् । चुनावको समयमा पहाडबाट प्रचारप्रसारका लागि नेताहरू तराई जाँदा मलाई मैथिली, भोजपुरी आउँदैन त्यसकारण म हिन्दी भाषा बोल्छु भन्छन् । सम्मेलन, महोत्सव, भाषणहरू लगायत अन्य विभिन्न कार्यक्रमहरूमा पनि हिन्दी भाषाकै प्रयोग हुने गरेको छ । विरोध गर्ने व्यक्तिहरूसँग पनि हिन्दी भाषाको विरोध गर्नुको कुनै तार्किक आधार छैन । हिन्दी बोल्दै गर्दा यसको विरोध गर्नु उचित होइन ।
० हिन्दी मञ्च नेपालको आगामी कार्यदिशा के हो ?
— सुरूदेखि नै म हिन्दी भाषाप्रति धेरै आकर्षित छु । मैले हिन्दी भाषा विषयमा धेरै कामहरू पनि गरेको छु । आजभन्दा केही वर्ष पहिले नेपाली विद्यार्थीहरू भारतमा पढ्नका लागि जान्थे । उनीहरूको पढाइको भाषा पनि हिन्दी नै हुन्थ्यो । अहिले केही वर्षयता भारतमा अंग्रेजी माध्यममा पढाई हुन थालेको छ । यही सन्दर्भमा म संयुक्त राष्ट्र संघमा पनि गएको थिएँ । त्यहाँ धेरै देशबाट उच्च तहका व्यक्तिहरू उपस्थित हुनुहुन्थयो । त्यहाँ हिन्दी भाषालाई पनि राष्ट्रसंघको भाषाको रूपमा मान्यता दिन अनुरोध गरें । त्यो सम्मेलनमा संयुक्त राष्ट्र संघका पूर्व महासचिव वान कि मुन पनि उपस्थित हुनुहुनथ्यो । उहाँले पनि संसारमा हिन्दी भाषा बोल्ने मान्छेहरू धेरै छन् यो भाषालाई राष्ट्रसंघको भाषाको रूपमा मान्यता दिन म प्रयास गर्छु भन्नुभएको थियो । धेरै देशहरूले यसको समर्थन पनि गरिसकेका छन् । नेपालमा पनि हिन्दी भाषा आम भाषाको रूपमा, सम्पर्क भाषाको रूपमा प्रचलित भइसकेको छ । यसकारणले हिन्दी भाषालाई अझ व्यापकता दिन र नेपालको महत्वको बारेमा र यहाँ रहेका अन्य गौरवका विषयहरूलाई हिन्दी भाषामा अनुवाद गरेर विश्वमा नेपाल बारेमा जानकारी गराउन सजिलो हुने भएकाले हिन्दी भाषाको विकास गर्न म लागि परेको छु ।
० तपाईहरूले नेपालमा के–कस्ता कार्यक्रमहरू संचालन गर्दै आउनुभएको छ ?
— नेपालमा हाम्रो संस्था हिन्दी मञ्च नेपाल दर्ता भएको छ । यस अन्तर्गत हामीले अन्तर्राष्ट्रिय हिन्दी सम्मेलन आयोजना गर्ने विचार गरेका छौं जसमा अमेरिका, इङ्गल्याण्ड, मौरिसस लगायतका २५ देशका हिन्दी प्रेमीहरूलाई आमन्त्रित गर्ने योजना बनाएका छौं र यो सम्मेलन सन् २०२० को जनवरी १०, ११, १२ मा गर्ने हाम्रो योजना रहेको छ । यसमा विभिन्न देशहरूबाट कार्यपत्र पनि प्रस्तुत हुन्छ । त्यो कार्यपत्रहरूमाथि छलफल, टीकाटिप्पणी हुन्छ । त्यसपछि १२ जनवरीमा काठमाडौं घोषणा पत्र जारी गरिनेछ । अन्य देशहरूले पनि हिन्दी भाषाको विकासमा कत्तिको सहयोग गर्न सक्छन् । मापदण्ड निर्धारण गरिन्छ र विश्वव्यापी रूपमा हिन्दी भाषाको विकासका लागि हामी प्रयासरत रहन्छौं ।
० काठमाडौंमा हिन्दी सम्मेलनको आयोजनाबाट हामीले के अपेक्षा गर्न सक्छौं ?
— त्यसबाट हिन्दीको विकासका लागि अवसर प्रदान हुन्छ भन्ने लागेको छ ।
० हिन्दी भाषालाई नेपालमा विस्तार गर्न खोज्दा तपाईहरूमाथि भारतको अभियानी भन्ने आरोप लाग्न सक्छ नि ?
— भाषा भनेको मानवीय जीवनको भावना व्यक्त गर्ने एउटा साधन हो । कुनै पनि भाषामा आफ्नो विचार व्यक्त गर्न सकिन्छ । हिन्दी भाषा बोल्ने बित्तिकै भारतको प्रभाव हो वा भारतकै अभियानीहरू हुन् भन्नु गलत हो । किनकी हिन्दी कसैलाई मन पर्ने भाषा पनि हुनसक्छ । हिन्दी परापूर्वक कालदेखि नै बहुसंख्यकले बोलिने भाषा हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय जगत्मा हिन्दी भाषाको माध्यमले नेपालको विशेषतालाई अझ व्यापक बनाउनका लागि हामीले यो सम्मेलन गर्दैछौं । यसमा कुनै देशको प्रभाव वा प्रोत्साहनको कुनै पनि स्थान छैन ।
० नेपालमा केपी ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकार छ, यो सरकारले भारतसँग कस्तो सम्बन्ध बनाउन सकेको छ ?
— नेपालको भारतसँग सम्बन्ध पहिलेदेखि नै राम्रो चल्दै आएको छ र वर्तमानमा पनि राम्रो सम्बन्ध छ र भविष्यमा पनि यसको विकल्प छैन । नेपाल र भारतको जहिले पनि राम्रो सम्बन्ध रहनेछ । बीचबीचमा फरक–फरक राजनीतिक दलहरू सत्तामा आउँदाखेरी उनीहरूको आफ्नो विचार हुन्छ । विषयगत कारणले विचारमा भिन्नता हुनसक्छ तर सम्बन्ध खराब हुन सक्दैन । नेपाल र भारतको सम्बन्ध सरकार–सरकारको बीचमा मात्र सीमित छैन । दुई देशका जनताका आपसी सम्बन्धले गर्दाखेरी सरकारका कारणले मात्र सम्बन्ध खराब हुन्छ भन्ने छैन त्यसकारण जुनसुकै पार्टीको सरकार आएपनि नेपाल र भारतको सम्बन्धमा कुनै असर पर्दैन ।
० नेपालको राजनीतिमा भारतको प्रभाव कति परेको देख्नुहुन्छ ?
— प्रत्येक देश छिमेकी राष्ट्रसँग कुनै न कुनै कारणले सम्बन्धित रहेको हुन्छ । त्यसलाई नकारात्मक रूपमा लिनुहुँदैन । नेपाल र भारतबीच, जनता–जनताबीच राम्रो सम्बन्ध रहेको छ । तराई–मधेश र भारतसँग त रोजीबेटीको, भाषाको पनि सम्बन्ध छ । पहाडका धेरै मान्छेहरू भारतमा रोजगारीका लागि जान्छन्, नेपाली गोर्खाहरूलाई भारतको सेनामा बहादुरीको रूपमा हेरिन्छन् । सम्बन्धको विकास हुँदै गएको छ । राजनीतिक उतारचढावका कारण दुई देशबीच विभिन्न समस्याहरू आउँछन् त्यो विषयलाई गम्भीर रूपमा लिएर दुई देशबीचको सम्बन्ध नै समाप्त हुने हो कि भनेर सोच्न जरूरी छैन ।
० तराई–मधेशको भारतसँग सिमाना जोडिएको छ तर भारतीय सेनामा मधेशका नागरिकको किन उपस्थिति हुन सकेन होला ?
— सेनामा कुनैपनि देशबाट दक्ष व्यक्ति लगिन्छ । उनीहरूको आफ्नै क्राइटेरिया हुन्छ । गोर्खालीहरू अप्ठ्यारो ठाउँमा पनि युद्ध गर्न सक्छन् भन्ने विश्वास भइसकेको छ । त्यसकारण भारतीय सेनामा गोर्खा सैनिकलाई लिइन्छ । भारतमा नै बेरोजगारीको समस्या छ । बिस्तारै यो समस्या बढ्दै गएको छ त्यसकारण पहिले आफ्नै देशका युवाहरूलाई रोजगारी दिने उनीहरूको प्रयास भइरहेको छ । पछि उनीहरूलाई कामदारको कमी भयो भने तराई÷मधेशबाट पनि कामदार त अवश्य लैजान्छन् ।
० नेपाल र भारतको सीमामा देखिएका समस्या समाधानका लागि दुई देशस्तरीय प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी)ले प्रतिवेदन तयार गरेको छ । त्यो प्रतिवेदन भारतका प्रधानमन्त्रीले अहिलेसम्म नबुझ्नुको पछाडि कारण के देख्नुहुन्छ ?
— भारतका प्रधानमन्त्री वा उहाँका केन्द्रीय स्तरका नेताहरूले केही कुरा बुझ्ने वा केही विचारहरू राख्ने विषयहरू बाँकी नै होला । त्यसैले उहाँले नबुझ्नु भएको हुनसक्छ । जुन रिपोर्ट तयार भएको छ त्यो आधारमा काम गर्न अहिले तयार हुनुहुन्न कि यस्तै कारणहरू हुनसक्छ । नत्र समिति गठन भएपछि र निर्णय भइसकेपछि सबैले त्यसको अपनत्व त लिनैपर्छ ।
० अहिले भारत जुन गतिले विकास गर्र्दैछ र विश्वमा उदयीमान शक्तिको रूपमा आफ्नो स्थान बनाउँदैछ । यसबाट नेपालले कत्तिको लाभ लिन सकेको छ ?
— भारतमा जस्तो किसिमको परिवर्तन वा विकास भएपनि त्यसको छँया नेपालमा परिहाल्छ । विगतमा भारतमा कृषिमा भएको विकासले मधेशमा धेरै प्रभाव पारेको थियो । भारतले विकास गर्दा त्यसको फाइदा स्वतः नेपालमा परिरहेको हुन्छ । यसबाट नेपाल सरकारले पनि धेरै फाइदा लिइरहेको छ ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया