राजनीतिक व्यवस्था त परिवर्तन भयो तर त्यो प्रकारको चरित्र भएन

दीपक गजुरेल, त्रिभुवन विश्वविद्यालयका राजनीतिक शास्त्री

अन्तर्वार्ता

० अहिलेको राजनीतिक तरलतालाई कसरी हेर्नुभएको छ ?

— यो सामान्य÷असामान्यभन्दा पनि स्वाभाविक हो । नेपालमा जुन तरिकाले राजनीतिक प्रणाली परिवर्तन गरियो, जुन प्रक्रिया अपनाइयो, जुन शैलीले काम गरिँदैछ, जसरी संविधान बनाइयो त्यसको स्वाभाविक परिणाम हो यो अस्तव्यस्तता । हामीले संविधान बनाउने बेलामा नै केही कुराहरु जबरजस्ती निर्णय गरेका छौं । संविधानमा यति धेरै एकअर्कासँग बाँझिने व्यवस्था गरिएको छ, जसले संविधान स्मुथली कार्यान्वयन हुने स्थिति हुँदैन ।

० तर यो संविधानलाई त विश्वकै उत्कृष्ट संविधान भनिएको छ नि ?

— उहाँहरुले भन्नुभो । संविधान बनाउने बेलामा ९५–९६ प्रतिशत जनताका प्रतिनिधिले अनुमोदन गरेको भनियो, उत्कृष्ट संविधान भनियो । तर संविधानमा यस्ता व्यवस्थाहरु राखियो जुन एकअर्कासँग बाझिने गरेको छ । कतिपय व्यवस्थाहरु प्रष्ट छैन । त्यसैको परिणामस्वरुप देशमा संविधान कार्यान्वयन गर्ने क्रममा सेपरेशन अफ पावरलाई असर ग¥यो । एउटा प्रजातान्त्रिक प्रणालीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले आआफ्नो किसिमले काम गर्नुपर्नेमा एकअर्कामा कुराहरु बाझियो ।

० यो राजनीतिक उथलपुथल संविधानकै कारणले भएको हो त ?

— संविधानमा लेखिएको छ एक थोक तर गरिँदैछ अर्को थोक । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुहुन्छ तर सर्वोच्चले गलत हो भन्छ । यसमा दोष सर्वोच्च अदालतको होइन । सर्वोच्चले संविधानको शब्द र आशयको आधारमा निर्णय गर्ने हो । त्यो अवस्थाहरु किन आयो भन्दा त हामीले संविधानमा केही अमूर्त कुराहरु लेख्यौं, जसको व्याख्या जसरी पनि गर्न पाइयो । त्यसले गर्दा संविधानको कारण एक प्रकारको राजनीतिक संकट आयो । अर्को कुरा यहाँ राजनीतिक इमान्दारी देखाइएको छैन । राजनीतिक व्यवस्था त परिवर्तन भयो तर त्यो प्रकारको चरित्र भएन । जसले गर्दा करिब दुई तिहाइ बहुमत संसदमा भएको दलले पूर्णकाल देश चलाउन सकेन ।

० यसमा व्यवस्था दोषी हो कि नेतृत्वकर्ता ?

— कुनै पनि व्यवस्था खराब हुँदैन । त्यसको सञ्चालन सही ढंगले गर्नुपर्दछ । व्यवस्था भनेको लक्ष्यमा पुग्ने एउटा औजार मात्रै हो । लक्ष्य भनेको बहुसंख्यक जनताको बृहत्तर हित गर्नु हो । त्यो भनेको सुख, समृद्धि र विकास मात्रै होइन प्रतिष्ठा पनि हो । भनेपछि व्यवस्था आफैमा गलत हुँदैन, त्यसको कार्यान्वयन कसले गर्छ, कुन नियतले गर्छ त्यसमा भर पर्छ । त्यसैले व्यवस्थाको कार्यान्वयन गर्ने पात्रहरुको यदि नियत गलत भयो भने व्यवस्था पनि असफल हुन्छ ।

० अहिलेको व्यवस्था सफल कि असफल ?

— यो व्यवस्था त सफल भइरहेको मैले देखिरहेको छैन । म राजनीति शास्त्रको विद्यार्थी र अध्ययनकर्ताको हिसावले प्रजातन्त्रलाई पर्फरमेन्सको आधारमा हेर्छु । कुनै पनि व्यवस्था वा व्यवस्थामा बसेको निकायले नागरिकको हित गर्छु भनेको थियो, त्यो गरे कि गरेन ? ग¥यो भने कुन स्तरमा ग¥यो ? यसको आधारमा मूल्यांकन गर्दा नेपालको अहिलेको व्यवस्था गलत नभए तापनि त्यसको कार्यान्वयन सही तरिकाले भइरहेको छैन ।

० यो व्यवस्था भविष्य कतिको देख्नुहुन्छ त ?

— यो व्यवस्था भविष्य देख्दिनँ । नेपालको राजनीतिक प्रणालीमा सुरुदेखि एउटा प्रवृत्ति देखिएको छ कि सत्तामा जो छ उसको विरुद्धमा पहिला अविश्वास सिर्जना गर्ने । त्यो अविश्वास बढ्दै गएर एउटा बिन्दूमा पुगेपछि घृणामा परिणत हुन्छ । घृणामा परिणत भएपछि कसैले त्यसलाई साथ दिँदैन । त्यो नदिएपछि एक्लो पर्छ र व्यवस्था जान्छ । २००७ सालदेखि त्यहीं हुँदै आएको छ । अहिले राज्य व्यवस्थाप्रति चिया पसलदेखि विभिन्न प्लेटफर्महरुमा अविश्वास देखिरहेका छन् । यो बढ्दै गएर एउटा बिन्दूमा समाप्त हुन्छ । विश्व शक्ति समीकरणमा नेपालको भूभाग अत्यन्त महत्वपूर्ण सम्वेदनशील बनेको छ । नेपालमा विदेशी शक्तिले खेलिरहेका छन् भन्ने सुनिन्छ । यसबाट देखिन्छ कि नेपाल त नेपालीले चलाइरहेकै छैन । बाह्य शक्तिहरुको भिडन्त नेपालमा भइरहेको छ, यो अदृष्य हुन्छ ।

० भनेपछि नेपाल जहिले पनि यस्तै अस्थिरतामा फँसिरहन्छ ?

— इतिहास हे¥यो भने नेपालमा स्थिरता आउनुपर्छ म भन्छु । डेढ सय दुई सय पहिलाको इतिहास हेनुृभयो भने नेपाललाई विश्वको एउटा प्रतिष्ठित देश बनाएका थियौं । नेपालको पासपोर्ट बोकेर विश्वको जुनसुकै इयरपोर्टमा ओर्लिँदा सम्मान गर्दथ्यो । तर आज नेपालको पासपोर्ट विश्वको कमजोर घृणा गर्ने स्तरमा आएको छ । नेपाली आयो कि चोर नै आयो भन्छ । हाम्रो प्रतिष्ठा तल झ¥यो । त्यो हाम्रो प्रतिष्ठा किन थियो भन्दा खेरि हामीले कुटनीतिक चातुर्यता अपनाएका थियौं । त्यति मात्रै होइन, १९८० को दशकमा हामी संयुक्त राष्ट्रसंघमा टेबुल ठट्याउने हैसियत थियो । त्यहाँ नेपालीले प्रभावकारी भूमिका निभाएको थियो । नेपालले बोलेको सुन्थ्यो उनीहरुले, किनकि त्यतिबेला हामीसँग हैसियत थियो । हामीले गरेको सन्तुलित व्यवहारको कारणले हामी विश्वमा प्रतिष्ठित थियौं । त्यो प्रतिष्ठा फेरि कमाउन सक्छौं । हामीसँग क्षमता उबेला मात्रै थिएन, अहिले पनि छ । भएको क्षमता सत्तामा बस्नेले प्रयोग गर्न सक्नुपर्छ । हामी त्यो अवस्थामा पुग्छौं । किनभने विश्व शक्ति समीकरणले हामीलाई असर गरेको छ । यो अवस्था चल्दै गर्दा हामी एउटा बिन्दूमा पुगेर स्थिरतामा पुग्छौं । त्यो बिन्दूको बीचमा जाने समय कति हो भन्न सकिँदैन । अबको केही वर्ष अस्थिरता होला, सम्भवतः हिंसा होला, अलिकति हामीले थप दुःख पाउँला तर एउटा बिन्दूमा गएर हामी स्थिर हुन्छौं ।

० तपाइँ मातृभूमिका लागि नेपालीको विदेश विभाग प्रमुख पनि हुनुहुन्छ र तपाइँहरुको मूल एजेण्डा नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने । यस विषयमा तपाइँहरु के गर्दै हुनुहुन्छ ?

— मातृभूमिका लागि नेपाल कुनै एनजीओ होइन, अर्को कुरा हामी राजनीतिक दल पनि होइन । सडकमा गएर जिन्दावाद, मुर्दावाद, कालोझण्डा देखाउने लगायतका काम पनि हामी गर्दैनौं । हामी आमनागरिकलाई राष्ट्रको हित यस कुरामा हुन्छ भनेर सन्देश दिन खोजिरहेका छौं । हाम्रा सन्देशहरु नेपाल धर्मनिरपेक्षता होइन, धर्म सापेक्ष हुनुपर्छ । आमनागरिकले बुझ्ने भाषामा हिन्दू राष्ट्र भनिन्छ तर सनातन धर्म पालना गर्नुप¥यो नेपालमा । नेपाल राष्ट्रको धर्म भनेको सनातन धर्म हुनुप¥यो । सनातन भनेको आदिकालदेखि चलिआएको नेपालमा बस्ने नेपाली नागरिकले मान्दै आएको धर्म सापेक्ष हुनुप¥यो । सनातन हिन्दू राष्ट्रलाई नेपालले स्वीकार गरेर जाँदा सबै धर्मको रक्षा भएको थियो । धर्मको आधारमा भेदभाव थिएन, अब हामी फेरि त्यहीं जानुपर्छ । धर्म निरपेक्षले गैरनेपाली धर्मले नेपाली धर्मलाई थिचोमिचो गरेको छ । क्रिष्चियन धर्म हाम्रो होइन । दिनप्रतिदिन त्यो बढाइँदैछ यहाँ । आमनागरिकले बुझ्नुप¥यो, हामी नारा जुलुस गर्दैनौं । हामीले विभिन्न माध्यमहरुबाट नागरिकलाई बुझाउने प्रयास गरिरहेका छौं । आजको भोली राजनीति गरेर पैसा कमाउने उद्देश्यले हामी हिंडेको होइन ।

० तपाइँहरु भित्रीरुपमा राजसंस्थाको पुनर्बहाली हुनुपर्ने भन्ने अभियानमा हुनुहुन्छ कि ?

— बाहिरबाट हेर्दा तपाइँले त्यस्तो भन्न सक्नुहुन्छ । हामी राजा चाहिन्छ भनेर पनि भनिरहेका छैनौं र राजा नहुँदा गणतन्त्र हुँदा पनि हुन्छ भनिरहेका छैनौं । हामी त्यसमा निरपेक्ष छौं । हाम्रो उद्देश्य राष्ट्र हो र आमनागरिक हो । मातृभूमिका लागि नेपालको उद्देश्य भनेको आमनागरिकको दीर्घकालीन हित र नेपाल राष्ट्रको प्रतिष्ठा हो । त्यसका लागि भोली हामीले भनेको जस्तो कुरा आमनागरिकले बुझदिनुभयो भने त्यतिखेर आमनागरिकले के गर्छ, त्यो उनीहरुको निर्णय हो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ