अमेरिकी योजना आयो भने नेपाल आतंकवादीहरुको क्रिडास्थल बन्न सक्छ : पूर्वराजदूत डा.ठाकुर

डा.रामभक्त पी.भी. ठाकुर, पूर्वराजदूत तथा परराष्ट्र मामिला विज्ञ एवम् अध्यक्ष, क्यारियर एम्बेस्डर एसोसिएसन

अन्तर्वार्ता

० एमसीसी प्रकरणले छिमेकी मित्रराष्ट्रहरुसँग नेपालको सम्बन्ध बिग्रेको हो ?

— एमसीसीको बारेमा सबैका फरक–फरक धारणाहरु आइरहेको छ । एमसीसीमा धेरै यस्ता कुराहरु छन् जहाँ हामी सहमत हुन सक्दैनौं । वास्तवमा धेरैले एमसीसीको गुह्य कुरा बुझेकै छैन । धेरैले एमसीसीका केही प्रावधानहरु संशोधन गर्नुपर्छ भनिरहेका छन् । तर नेपालको परिपेक्ष्यमा, नेपालको भू–राजनीतिक बनावटको हिसाबले एमसीसी नेपालको लागि योग्य छैन । त्यसैले यसको नाममा जतिसुकै पैसा आएपनि, रोजगार सिर्जना गरेपनि यसले नेपालकै अस्तित्वलाई खतरामा राख्ने देखिएकोले हामीले स्वीकार गर्नु हुँदैन । त्यस अर्थमा मैले यसलाई अस्वीकारयोग्य मान्दछु । संशोधन गर्नुपर्ने धेरै कुराहरु छन्, धेरै यस्ता कुराहरु छन्, जसले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई चुनौती दिएको छ । कतिपय कुराहरुले हाम्रा छिमेकी चीनलाई असर पार्न सक्छ । त्यसोे भएपछि त नेपाललाई स्थिर रह्न गाह्रो हुन्छ । अमेरिकन प्रोजेक्ट जुन देशमा गएको छ, त्यहाँ आतंकवादी गतिविधिहरु बढी भएका छन् । त्यसैले जब यहाँ अमेरिकन योजना सुरु हुन्छ, तब नेपालमा आतंकवादीहरु छिर्न थाल्छन् । त्यसो भयो भने नेपालको हालत के हुन्छ ? 

म त अर्थशास्त्री हो, अर्थशास्त्रीय दृष्टिकोणले यो योजनालाई एक नम्बरको मान्दछु । किनभने यसले आम्दानी र रोजगारी बढाउँछ । तर त्यो गर्दागर्दै देश नै बाँच्दैन भने त्यो सबै लिएर के गर्ने ? आउनुस् तपाइँलाई गहना दिन्छु, हिराको हार दिन्छु तर घाँटी काटिदिन्छु भने तपाइँ लिनुहुन्छ ? कसैले लिँदैन । त्यसैले एमसीसीका धेरै पक्ष राम्रा छन्, तर देशै बाँच्दैन भन्ने त्यस्तो योजनाको के काम । त्यसैले भू–राजनीतिक बनावटले गर्दा नेपालको लागि एमसीसी उपयुक्त छैन । यसले नेपालको अस्तित्वलाई नै खतरामा राखिदिन्छ । म एमसीसीको विरुद्ध होइन । यसको बदला अर्को प्रोजेक्ट ल्यानुस्, कुनै अरु ठाउँमा गरौं । जसमा पूर्णरुपमा नेपालको नियन्त्रण होस्, नेपाली सुरक्षित रहोस् । अमेरिका हाम्रो शत्रु होइन, मित्रराष्ट्र हो । त्यस कारण एमसीसीलाई अस्वीकार गर्नु हाम्रो विवशता हो । 

० यदि एमसीसी नेपालका लागि उपयुक्त छैन भने सरकार किन अलमलमा छ ? लिने कि अस्वीकार गर्ने भन्ने ठोस निर्णयमा किन पुग्न सकिरहेको छैन ?

— यसका धेरै कारणहरु छन् । एउटा त राजनीतिक दलका नेताहरु बिकिसकेका छन्, पैसा खाइसकेका छन् । त्यसैले उनीहरुलाई अस्वीकार गर्न गाह्रो छ । अर्को कुरा, ती नेताहरुले एमसीसी बुझेकै छैन । हामी एमसीसीको संशोधनको कुरामा नजाऔं, यसको जति संशोधन गरेपनि नेपालको हितमा नै छैन । मैले आजभन्दा दूई वर्ष पहिला एउटा टेलिभिजन अन्तर्वार्तामा एमसीसी नेपालको लागि उपयुक्त छैन, अस्वीकार गर्नुपर्छ भनेको थिएँ । एमसीसी अस्विकार गर्नुपर्छ भन्ने व्यक्ति शायद नेपालमा म पहिलो व्यक्ति हुनुपर्छ । त्यतिबेला पनि धेरै नेताहरु यसमा संशोधन गर्नुपर्छ भन्थे । क्रमशः अहिले आएर धेरैले यसलाई स्वीकार नै गर्नुहुँदैन भन्न थालेका छन् । कसैको विरुद्धमा हाम्रो भूमि प्रयोग हुनुहुँदैन भन्ने नीति पनि हो । 

० तपाइँले जुन आशंकाहरु व्यक्त गर्नुभएको छ, त्यसको जवाफ त एमसीसीले पठाइसकेको छ, त्यसलाई कसरी हेर्नुभयो ?

— नेपालले सोधेको प्रश्नहरु एकदमै साधारण प्रकारका छन् । एमसीसीबाट उब्जिएको आशंकाहरुबारे एउटा पनि प्रश्न सोधिएकै छैन । एमसीसीका कारण नेपालको अस्तित्व नै खतरामा छन् भन्ने प्रश्नै सोधिएको छैन । जहाँ तपाइँलाई म मारिदिन्छु भनेर भनिरहेको छु भने तपाइँलाई मैले यति रुपैयाँ दिएँ, हिरा दिएँ त्यसले मतलब राख्छ ? त्यसैले नेपालको तर्फबाट सोधिएका प्रश्नहरु स्तरभन्दा तलको छ । 

० हालै एमसीसीका उपाध्यक्ष फातिमा सुमार चारदिने भ्रमण गरेर फर्किनुभयो । उहाँ के सन्देश लिएर÷दिएर फर्किनुभयो त ?

— हाम्रो सरकार र नेताहरुले भित्रिरुपमा के–के कुराहरु गरे त्यो त थाहा छैन । तर मिडियामा आएका कुराहरुलाई अध्ययन र विष्लेषण गर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने एमसीसीका उपाध्यक्षको भ्रमण एउटा कर्मचारी स्तरको हो । राजनीतिक नेता जस्तो नेपाल आएर राजनीतिक दलका नेताहरुलाई भेट्न मिल्दैन । नेपाललाई महत्व नै दिएको देखिँदैन । एउटा कर्मचारीले प्रधानमन्त्री, राजनीतिक दलका नेताहरुसँग भेटिरहेका छन् । कुनै ठूलो नेता आएको जस्तो देखियो । एउटा योजनाको कर्मचारीको नाताले एमसीसी उपाध्यक्ष आएर सिधा सरकारसँग कुरा गर्नुपर्ने थियो, नेपालको धारणा के छ भनेर सोध्नुपर्दथ्यो । हुन्छ कि हुँदैन भन्नुपर्दथ्यो । तर उपाध्यक्ष फातिमाको भूमिका नै आपत्तिजनक देखियो । उनले नेताजस्तो भूमिका खेल्ने होइन । नेपालमा त्यत्रो विरोध भइरहेको छ भने लिन्न भन्नुपर्ने हो, यसमा जबरजस्ती गर्ने कुरा होइन नि । अमेरिकाले जबरजस्ती लेउ कि लेउ गरेको ग¥यै छ । श्रीलंकाले त स्वीकार गरिदियो । मित्रतालाई हामीले कम आँकलन गरेको होइन । 

अमेरिकाको मित्रता हाम्रो लागि महत्वपूर्ण छ । हाम्रो देशैको अस्तित्व खतरामा भएकोले मात्रै हाम्रो विवशता हो, बुझिदिनुस् भनेको हो । कतिपय नेताहरुले भन्छन् कि एमसीसी नबुझेकाहरुले विरोध गरिरहेका छन् । तर मैले सामाजिक सञ्जालमार्फत् चुनौती दिएको थिएँ कि एमसीसी नेपालीले चाँहदैन भने पछि सिध्यो । किन जबर्जस्ती ? यस्तो सहयोग दिएको संसारमा कतै छैन । अमेरिका आफ्नो स्वार्थको लागि नेपाल बर्बाद भए होस् भनेको हो भन्ने कुरा सबै नेपालीले बुझी सके । शरणार्थी भएर बस्नु छैन, धन्यवाद जानुस्, हामी आफ्नो देश आफै बनाउँछौं भन्नु पर्छ । श्रीलंकाले किन नलिएको होला ? श्रीलंकामा फेरि गएर दिनुहोस् । आदरसहित नै हामी यो सहयोग अस्वीकार गर्छौं । हामी अर्को विषयमा एक अर्कासँग मिलेर काम गर्छौं । हाम्रो मित्रता रहिरहन्छ । देशको अस्तित्वको खतराले हामीलाई यसो भन्न विवस बनाएको हो । असल मित्रले हाम्रो विवशता अवश्य नै बुझ्ने छ ।

० भनेपछि अमेरिकाले एमसीसी लिनका लागि नेपाललाई दबाब दिइरहेको छ ?

— अमेरिकाले त भनिरहेको छ नि । उसले त कयौंपटक एमसीसीको समयावधि बढाइसक्यो । नेपालले मानिरहेको छैन, तैपनि अमेरिकाले लेउ कि लेउ भनिरहेको छ । 

० तर नेपाल पनि एउटा निर्णयमा पुग्न सकेको छैन नि ?

— नेतृत्व कमजोर भएपछि यस्तै हुने हो नि । नेतृत्व बिकिसकेको छ । अनि कसरी उसले अस्वीकार गर्न सक्छ । नेतृत्व त बोल्नै सकिरहेको छैन । एमसीसी पास गरियो भने यहाँ यत्रो ठूलो विद्रोह हुन्छ कि सम्हाल्न आपत् हुन्छ । किनभने यो देशको अस्तित्वको कुरा हो । 

० एमसीसीले चीनलाई खतरा छ भन्ने कुरा बढी उठिरहेको छ, यसले भारतलाई केही असर गर्दैन ?

— हामी हरेक दृष्टिकोणले हेरिरहेका हुन्छौं । एमसीसीमा कुनै पनि प्रावधान छैन जहाँ यस्ता कुराहरु लेखिएको छ । तर यसले पार्ने प्रभावबारे मन्थन गर्नुपर्छ । 

० यसले चीनलाई नै बढी खतरा किन देखिएको छ ?

— किनभने भारतका लागि काश्मीर मात्रै समस्या हो । पछि भारतलाई पनि खतरा हुनसक्छ । तर हामीले त दूरदर्शी सोच्नुपर्छ । आशंका त सबै चीजको छ । यहाँबाट भारतलाई काश्मीरको समस्या हुनसक्छ । त्यसका लागि नेपालको भूमि प्रयोग हुनसक्छ । जब तिब्बतका लागि नेपालको भूमि प्रयोग हुनसक्छ भने काश्मीरको लागि पनि हुन सक्छ । यो सब एउटा सोचाइको कुरा हो, सोच्दा सबै कुरा सम्भव देखिन्छ । 

० एमसीसीमा भारत पनि संलग्न छ, तर भारतको तर्फबाट कुनै प्रतिक्रिया देखिँदैन नि ?

— भारतले यसमा कुनै विरोध देखाएको छैन । यदि कसैले केही बोलेको छैन भने हामी नकारात्मक रुपमा लिनुहुँदेन । सबभन्दा पहिला त हामी नै द्विविधामा छौं । हामीलाई शंका छ कि यसले देशलाई बर्बाद गर्छ । यसबारे नेपालले कुनै निर्णय लियो भने भारतले पनि केही धारणा राख्छ होला । हुनसक्छ, भारतले सोचिरहेको होला कि एमसीसी नेपालमा पासै हुँदैन । मेरो दृष्टिकोणमा यसले तुरन्त भारतलाई कुनै असर गर्दैन तर पछि यसले असर गर्न सक्छ । तर छिमेकीको हिसाबले सबभन्दा बढी प्रभाव चीनलाई पर्न सक्छ । यो त आशंकाको कुरा हो । तर सबभन्दा पहिला त नेपाललाई नै असर पर्छ, अस्तित्व नै खतरामा पर्न सक्छ । जब नेपालमा यस्ता क्रियाकलाप हुन थाल्यो भने चीन पनि हाम्रो विरुद्धमा गइहाल्छ । 

० भनेपछि अहिले छिमेकी राष्ट्रहरुसँग नेपालको सम्बन्ध चिसिएको हो ?

— छिमेकी राष्ट्रहरुसँग नेपालको सम्बन्ध बिग्रेको छैन, हामी चलाउन नजानेको हो । हामीले परराष्ट्र नीति राम्ररी चलाउन जानेकै छैनौं । भारत र चीनसँग हाम्रो धेरै मधुर सम्बन्ध छ । चलाउन नजानेकोले बिग्रिरहेको छ । छिमेकी भारत र चीनसँग सम्झौताहरु हुन्छ तर त्यसलाई कार्यान्वयनमा ल्याइँदैन । अहिले भारतबाट रेल ल्याएर जनकपुरमा सडिरहेको छ । योभन्दा लज्जास्पद कुरा के हुनसक्छ । 

० नेपालका नेतृत्वकर्ताहरु असक्षम छन् ?

— अवश्य । नेपालका नेतृत्वकर्ताहरु एकदमै कमजोर र असक्षम छन् । 

० नेपाललाई राम्ररी सञ्चालन गर्न सक्ने नेतृत्व कहिले आउँछ ?

— अहिलेका नेतृत्वहरुमा त्यो क्षमता छैन । यसका नयाँ पुस्ता नै आउनुपर्छ । नयाँ पुस्ता बहुत उत्साहित छन् तर उसलाई हामीले गाइड गर्न सकिरहेको छैनौं । हामीले दोस्रो पुस्तालाई ल्याउन सकिरहेका छैनौं । तराईबाट म आज जसरी उठें, जे–जे पदमा पुगें, आफ्नो मिहेनतले पुगें । हाम्रा अन्य पुस्ताहरु किन आएनन् । त्यसका लागि हाम्रा नेताहरुलाई कुनै चिन्ता नै छैन । जब तराईमा पार्टीहरु खुले त्यसपछि लागेको थियो कि अब त्यहाँका युवाहरु आउँछन् । तर छैन । ७२ वटा सचिवमा एउटा मात्र तराईबाट छन् । त्यसैले हामीले दोस्रो पुस्तालाई ल्याउनुपर्छ । हाम्रा पुस्ताका मान्छेहरु चाहे त्यो तराईका होस् वा पहाडका, उनीहरुले दोस्रो पुस्तालाई प्रशिक्षण र गाइड गर्नुपर्ने आवश्यकता छ । हामीजस्तो मान्छेहरुलाई अनुशासित भएर यो देशलाई चलाउन दिनुभयो भने ३५ वर्षमा नेपाल युरोपको हाराहारीमा पुग्छ । किनभने हामीसँग नहुने कुरा केही पनि छैन । तर हामीसँग नहुने कुरा के छैन भने इमान्दारी । जो आयो, चोर । सबैको आफ्नो घर भरिसक्यो, पार्टी खोल्यो भने आफ्नो परिवारका लागि । हाम्रा तराईका विचरा जनताहरु अहिले पनि त्यहीं अवस्थामा छन् । 

कहिलेकाहीँ मलाई लाग्छ यो उमेरमा राजनीतिमा जाउँ कि । मैले पाउनुपर्ने केही छैन तर दोस्रो पुस्ता पनि बिग्रेला कि भन्ने डर छ । दोस्रो पुस्ता आओस्, कमसेकम त्यसको भविष्य नबिग्रियोस् । त्यसका लागि त राजनीतिमा जानुप¥यो । राजनीतिमा फेरि यति सजिलो छैन । किनभने कब्जा गरेर बसेका महारथीहरुले राम्रो मान्छेलाई आउन दिँदैन । तर त्यसका लागि लड्नैपर्छ । तराई र पहाडमा धेरै योग्य र इमान्दार मान्छेहरु छन् । नेपालमा सबै प्रकारको प्रक्रिया लागू भइसक्यो तर असफल भइसक्यो । अब हुनसक्छ भने एक वर्ष आर्मीले शासन गरेर, योग्य मान्छेको हातमा प्रशासन दिएर जनतालाई देखाइदिनुप¥यो कि देश कसरी हाँकिन्छ । जनताले विश्वास ग¥यो भने त्यसलाई निरन्तरता दिने, होइन भने आर्मी फिर्ता भएर जान्छ । 

० भनेपछि अब सैन्य शासनको आवश्यकता छ ?

— हो, किनभने देश त असफल भइसकेको छ नि । एक तिहाइ बजेट त रेमिट्यान्सबाट आउँछ । यहाँ कृषिको ठूलो सम्भावना छ, तर खेतहरु बाँझो छन् । उद्योग, कलकारखानाहरु बन्द भइसक्यो । भनेपछि देश कसरी चल्छ ? ऋण, अनुदान र भिख मागेर हामी देश चलाइरहेका छौं । यो पाराले देश कति दिन चल्छ ? त्यसैले यो देश आर्मीले चलाओस्, त्यसपछि योग्य मानिसलाई हस्तान्तरण गरोस्, ३५ वर्ष युरोपको छेउमा पुगिन्छ । 

० अब अन्त्यमा अझ केही भन्नुहुन्छ ?

— आर्मी शासन होस् भन्ने चाहने मान्छे म होइन । तर जब अन्तिममा ‘मरता क्या नही करता’ भन्ने हुन्छ । आज राष्ट्र बचाउनु नै हाम्रो पहिलो धर्म हो । आर्मीले शासन गर्ने भनेको सबभन्दा तल्लो तहमा जाने कुरा हो । तर सबै विकल्प हामीले प्रयोग गरिसक्यौं । कसैले राम्रो गरेर देखाउन सकेनन् । अहिलेका नेतृत्वहरुलाई फाल्नैपर्छ र दोस्रो पुस्तालाई ल्याउनुपर्छ । अर्को कुरा हाम्रो हिन्दूत्वमा धेरै खतरा छ । संसारको एउटा मात्रै हिन्दू राष्ट्र थियो, त्यो पनि खत्तम भइरहेको छ । यो हिन्दू देशलाई बचाउनुपर्छ । पहिले पनि हिन्दू राष्ट्र हुँदा अन्य धर्मावलम्बीहरुलाई कुनै समस्या थिएन । कसैमाथि भेदभाव गरिएको थिएन । हिन्दू राष्ट्र हाम्रो पहिचान हो । लाखौं वर्षदेखि सनातन हिन्दू राष्ट्र हो । संसारको यो एउटा धरोहर हो, यसलाई नाश नगर्नुस् । हिन्दू राष्ट्र कायम गरौं, राजसंस्थालाई पनि बचाऔं तर राजालाई पावर नदिऔं । राजालाई आलंकारिक मात्र बनाऔं, देश चलाउने त प्रधानमन्त्रीले हो । प्रधानमन्त्री पनि यस्तो किसिमले होइन, जनताले सिधै मतदान गरेर पठाएको होस् । जब जनताले विश्वास गरेको मान्छे प्रधानमन्त्री हुन्छ भने उसले तलमाथि गर्दै गर्दैन । हाउसलाई पनि पावर दिनुप¥यो । किनभने उसले यदि तलमाथि गर्न खोज्यो भने हाउसले खबरदारी गर्छ । न्यायालय हाम्रो एकदम बलियो र निष्पक्ष हुनुप¥यो । दलहरुको भागवण्डामा न्यायाधीश नियुक्त गर्ने होइन । त्यसैले म अन्त्यमा यति भन्न चाहन्छु कि यो देश हिन्दूराष्ट्र कायम होस् । तर सबै धर्मलाई माया र प्रेम गरौं । आलंकारिक राजा आओस् । राजाले देशको सांस्कृतिक एकता र प्रेम राखिदिओस् । देशलाई हाँक्ने प्रधानमन्त्रीले हो । हामीले पायौं भने ३५ वर्षमा नेपाललाई युरोपको छेउमा पु¥याइदिन्छौं । किनभने हामीसँग योजना छ र सबभन्दा बढी तागत इमान्दारी र मिहेनत छ । त्यो चीज अहिलेका नेतृत्वहरुमा छैन । त्यसैले नयाँ पुस्तालाई हेला नगरौं । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ