‘विमलेन्द्र निधि देउवाका प्रायोजित उम्मेदवार थिए’

देवेश झा, राजनीतिक विश्लेषक

अन्तर्वार्ता

राष्ट्रिय दलहरूको महाधिवेशन

० गत मंसिरमा सम्पन्न राष्ट्रिय दलहरूको महाधिवेशनले के सन्देश दिएको छ ?

— मंसिर महिना नेपालको प्रमुख दलहरूको महाधिवेशन सम्पन्न गर्ने महिनाको रूपमा रह्यो । जसमा सबभन्दा पहिले नेकपा एमाले, त्यसपछि राप्रपा र त्यसपछि कांग्रेसको महाधिवेशन सम्पन्न भएको छ । एमालेको महाधिवेशनलाई हेर्ने हो भने झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमजस्ता वरिष्ठ नेताहरू थिएन । अर्थात् केपी शर्मा ओलीको लगभग एकल वर्चश्वमा एमालेको महाधिवेशन भएको थियो । जसबाट आफूलाई सर्वसम्मतबाट ऐतिहासिक नेतृत्वको रूपमा ल्याउनु खोज्नुभएको थियो । तर भीम रावलको कारणले यसपालि त्यो सम्भव भएन । एमालेको महाधिवेशनले आफ्नो निरन्तरतालाई पुनप्र्रमाणीकरण मात्र गरेको छ । केपी ओलीजी एमालेमा अहिले पूर्णरूपेण वर्चश्वशाली नेता हुनुहुन्छ । त्यस हिसाबले एमाले अहिले एउटा शक्तिशाली नेतृत्व भएको पार्टीको रूपमा अगाडि आएको छ र यसले महत्वपूर्ण भूमिका खेल्ने अवसर प्राप्त गरेको छ । 

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन पनि चर्चित रहेको छ । त्यहाँ पहिलोपटक जनजाति समुदायका एउटा युवा नेताले नेतृत्वको अवसर प्राप्त गरेको छ । यस दृष्टिकोणमा त्यो महाधिवेशन चर्चित पनि भयो । 

यस्तै, नेपाली कांग्रेसको महाधिवेशनलाई हेर्ने हो भने परिवर्तन र पुस्तान्तरणको नाराहरू जोडदार उठान गरेर प्रारम्भ भएको थियो । तर त्यो महाधिवेशनको विसर्जन हुँदासम्म मिश्रित परिणाम आएको छ । त्यसले देउवा पक्षलाई प्रायः बहुमतजस्तै परिणाम दिएको छ । हुन त देउवाजी पहिलो चरणको महाधिवेशनमा आधाभन्दा कम मत ल्याउनुभएको थियो । अर्थात् उहाँका विरूद्ध आधाभन्दा बढी जनमत कांग्रेसभित्र थियो । तर दोस्रो चरणमा उहाँ प्राविधिकरूपमा निर्वाचित हुनुभयो । उहाँले एउटा रणनीतिक योजनाअनुरूप नै आफ्ना विरोधी पक्षका मत विभाजन गर्नका लागि आफ्नै भित्रका दुई जना समर्थकलाई उम्मेद्वार बनाउनुभएको थियो । त्यसमा पनि क्याटेगोरकली एउटा मधेशी (विमलेन्द्र निधि) र अर्को नेवार (प्रकाशमान सिंह) समुदायबाट उम्मेदवारी दर्ता गराउनुभयो । किनभने यी दुवै जनाले पहिलो चरणको निर्वाचनको अन्तिम समयसम्म देउवालाई जसरी पनि हराउँछौं भनिरहेका थिए । तर दुवैले देउवालाई समर्थन गर्न पुगे । यसले प्रष्ट देखिन्छ कि ती दुवै जना देउवाद्वारा प्रायोजित हुनुहुन्थ्यो । केन्द्रीय सदस्यको बनावट हेर्दा त्यहाँ पनि देउवाकै बहुमत छ । कांग्रेसको महाधिवेशनमा सत्ताको प्रभाव देखियो ।

० यी महाधिवेशनहरूले नेपाली राजनीतिमा पुस्तान्तरणको एजेण्डाबारे के भन्नुहुन्छ ?

— कांग्रेस महाधिवेशनको पदाधिकारी निर्वाचनमा ६० वर्षमुनिका धेरै जना निर्वाचित भएर आएका छन् । यो एउटा सकारात्मक कुरा हो र यो पुस्तान्तरणको संकेत पनि हो । राप्रपाको महाधिवेशन परिणामबाट पनि हौसिएका युवाहरूले यो परिणाम दिन आँट गरे र देखाए । यो परिणामको निरन्तरता अब अन्य दलहरूमा पनि क्रमिकरूपमा हामी देखिरहने छौं । यसले आउने दिनमा युवा पुस्तालाई राजनीतिमा आकर्षण बढाउनेछ । विगत केही दिनदेखि हामी नैराश्यता देखिरहेका थियौं । 

० कांग्रेसको महाधिवेशनमा मधेशीको प्रतिनिधित्वलाई कसरी हेर्नुभयो ?

— कांग्रेसले मधेशलाई जसरी पनि संरक्षण गर्न सक्नुपर्दथ्या्, त्यसो गर्न सकेको छैन । कांग्रेसमा रहेका मधेशी नेताहरूलाई जसरी पनि प्रतिनिधित्व गराउन सक्नुपर्दथ्यो, त्यो भएन । विगतमा पनि महन्थ ठाकुर अथवा जयप्रकाश गुप्ता जस्ता वरिष्ठ नेताहरू कांग्रेसमा उचित व्यवहार नपाएकै कारण त्यहाँबाट निस्केर मधेश राजनीतिमा लागिसकेका हुन् । यसबाट सचेत हुनुपर्ने थियो । मधेशी नेताहरूमा फेरि शंकाको वातावरण बढ्यो भने पलायन हुनसक्ने सम्भावना बढेको छ । 

० भनेपछि कांग्रेसले मधेशलाई आफ्नो भोट बैंकको रूपमा लिँदै आएको छ ?

— कांग्रेसले मधेशबाट जति प्राप्त गरेको छ, त्यो हिसावले अझै पनि दिन सकेको छैन । मधेशको पहिचानको सवालमा कांग्रेसमा जहिले पनि कमजोर जवाफहरू आउने गरेको हामीसँग तथ्यांक छ । गजेन्द्र नारायण सिंह पनि कांग्रेसकै नेता थिए, त्योभन्दा पहिले वेदानन्द झा अथवा उनका दाई पनि कांग्रेसकै नेता थिए । मधेश राजनीतिमा स्थापित भएका प्रजातान्त्रिक पक्षका नेताहरू कुनै न कुनै कालखण्डमा कांग्रेसी राजनीतिबाटै आएका हुन् । कांग्रेसभित्र यसलाई एउटा कमजोर पक्षका रूपमा लिनुपर्छ । आज पनि कांग्रेसको मतदाता पहाडभन्दा मधेशमा बढी छन् । जेसुकै अवस्था भएपनि, मधेशी दलहरू जतिसुकै बलियो भएपनि कांग्रेसको स्पेस मधेशमा कायम छ । यति हुँदाहुँदै पनि कांग्रेसले मधेशलाई चिन्न सकेन, पहिचान र सम्मान दिन सकेन । 

० कांग्रेसकै विभेदका कारण मधेशी दलहरूको उत्पति भएको हो त ?

— कांग्रेसकै कारण मधेशी दलहरूको उत्पति भयो भन्ने मात्रै होइन, यसका अन्य पक्षहरू पनि छन् । तर लगातार मूल नेतृत्व कांग्रेसकै हातमा छ । अहिलेसम्म हेर्ने हो भने कम्युनिष्टहरूले पनि नेतृत्व गरेका छन् तर मूल नेतृत्व सधैं कांग्रेसको हातमा रहेको छ । कम्युनिष्ट पार्टीहरू त धेरै पछि अस्तित्वमा आएका हुन् । २००७ सालदेखि २०१५ सालको निर्वाचनसम्म एक पक्षीयरूपमा कांग्रेस थियो । त्यसबाहेक अरू कुनै दल नै थिएन । मधेशको सवाल उठ्ना साथ जति दिनुपर्ने हो तुलनात्मकरूपमा कांग्रेसले त्यो स्पेस मधेशलाई दिन सकेको देखिँदैन । यसपटककै महाधिवेशनमा खुल्लातर्फ मधेशीको प्रतिनिधित्व शून्यकै हाराहारीमा छ । मधेशी नेताको अभाव छ भन्ने पनि छैन, एकसेएक स्थापित नेताहरू कांग्रेसमा छन् । २००७ सालको क्रान्तिदेखि अहिलेसम्म सँगै हिंडेका र संघर्ष गरेका नेताहरू छन् । यस मामिलामा कांग्रेस अझ बढी उदार भएको भए, कांग्रेसकै लागि फाइदाजनक हुनेछ । कांग्रेस यदि यसरी नै संकुचित ढंगले गइरहने हो भने मधेशी नेताहरूको पलायन रोक्न सकिदैन ।

एमसीसी विवाद 

० अहिले एमसीसीबारे पनि चर्चा र बहस भइरहेको छ, यसलाई कसरी हेर्नुभएको छ ?

— एमसीसीको बारेमा नेपाली समाजमा अहिले दुई किसिमको धार कायम छ । कि त एमसीसीको विरोधी हुनुप¥यो, जसले विरोध गरिरहेको छैन उसले डलर प्राप्त गरिरहेको छ भन्ने बुझाइ छ । 

० यो बुझाइ मात्रै हो कि वास्तविकता पनि हो ?

— वास्तविकता मलाई लाग्दैन । किनभने अमेरिकाले २०४६ को परिवर्तनपछि केयर नेपाल भन्ने संस्थामार्फत् यहाँ काम गरेको थियो, जसमा सबभन्दा ठूलो लगानी अमेरिकीहरूको थियो । पहाडका जिल्लाहरूमा अधिकांश झोलुङ्गे पुल केयर नेपालले बनाएको हो । अहिले जे जति कुराहरू आइरहेका छन् कि अमेरिकी सेना आउँछन्, त्यो बकबास मात्र हो । किनभने त्यसो भएको भए केयर नेपालले काम गरिरहेकै बखत अमेरिकी सेना आउन सक्थ्यो । त्यतिबेला त कुनै चर्चा भएन । नेपालमा जहिले पनि विकास निर्माणका कुराहरू हुन्छ, त्यसबेला व्यापकरूपमा नकारात्मक वातावरण तयार गरिने चलन छ । २००७ सालको परिवर्तनपछि तत्कालीन नेपाल सरकारले भारतसँग गौचरण विमानस्थललाई स्तरोन्त्ती र काठमाडौंलाई हेटौडासम्म सडकमार्गबाट जोडिन दिन माग गरेको थियो । यी दुवै कामका लागि तत्कालीन भारत सरकारले तुरून्तै अनुदानस्वरूप भारतीय सेनामार्फत् बनाउने निर्णय ग¥यो । गौचरण विमानस्थलको स्तरोन्त्ती गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र काठमाडौं–हेटौडा राजमार्ग निर्माण गर्ने कुरा थियो । त्यतिबेला काठमाडौंमा व्यापक विरोध भयो । भारतीय सेना यो सडक भएर काठमाडौं आउँछ भन्ने प्रचार गरियो । आजसम्म भारतीय सेना यो सडकमार्ग भएर काठमाडौं आइपुगेको छैन । यस्ता अन्य पनि धेरै उदाहरणहरू छन् । त्यसले गर्दा नेपालमा विचित्र किसिमको न्यारेटिभ छ । 
यहाँ राष्ट्रवाद भनेको त्रासको राष्ट्रवाद हो । अहिले के छ भने अमेरिकी सेनाहरू एमसीसीको गाडी चढेर नेपाल आइहाल्ने छ । अलिकति विचार गरौं, आजको जमानामा यो कुरा कति सम्भव छ ? सद्दाम हुसेनको सेना कुवेत प्रवेश गरेर सम्पूर्ण कुवेत कब्जा गरिसकेको थियो, तर के उसले खान सके त ? नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र हो । आजको मितिमा नेपाललाई कसैले निल्न सक्दैन । हामीले आफै यसलाई विसर्जन गर्न खोज्यौं भने त्यो बेग्लै कुरा हो । नभए त भौगोलिक सीमा भएकै कारणले कसैले खाइहाल्छ भन्ने स्थिति छैन । अर्को कुरा नेपाली जनता आफै पनि जागरूक छन् । जुन देशको जनता जागेको छ भने त्यो देशको सम्प्रभूता, एकता, अखण्डतामा कहीं कुनै प्रकारको संकट पर्ला जस्तो लाग्दैन । यदि हामीले यही प्रकारका निर्णयहरू गरिरह्यौं भने नेपाली नेतृत्वप्रति विश्वासको संकट हुन सक्छ । 

० राजनीतिक दलहरू एमसीसीबारे किन प्रष्ट छैन ?

— दलहरू स्पष्ट छन्, भ्रममा नपरौं । नेपाली जनतालाई भ्रमित बनाउनका लागि दलहरूले सारा नाटकहरू खडा गरेका छन् । नेपाली कांग्रेस प्रष्टतः यसको पक्षमा छ । एमालेको कुरा गर्ने हो भने तत्कालीन सभामुख कृष्णबहादुर महरा र वर्तमान सभामुख अग्नि सापकोटाले सदनमा नल्याइदिएको भनेर असन्तुष्टि व्यक्त गरिरहेका छ । अर्थात् एमाले पनि एमसीसीको समर्थनमा छ । माओवादीको बारेमा भन्ने हो भने प्रचण्ड र देउवा दुवैले लिखितरूपमा प्रतिबद्धता जनाएको कुरा प्रधानमन्त्री देउवाले स्वयम् भनिसक्नुभएको छ । अहिले पनि प्रचण्डका वक्तव्यहरू हेर्ने हो भने अस्वीकार गरेको शब्द प्रयोग गर्नुभएको छैन । देउवाले गठबन्धनलाई निरन्तरता दिएर चुनावसम्म जाने मनस्थितिमा हुनुहुन्न । यता, माधव नेपालजी प्रचण्डलाई साथमा लिएर यो गठबन्धनलाई चुनावसम्म बार्गेनिङ्ग टुल्सको रूपमा एमसीसीलाई व्यवहार गरिरहनुभएको छ । माधव नेपाललाई निर्वाचनमा सिट सेयरिङ्गको ग्यारेन्टी चाहियो, अन्य कुनै कुरा छैन । यी कुराहरू चुनावमा गठबन्धनको माध्यमबाट सिट सेयरिङ्गको लेनदेनमा लागेको अन्योलतामा हामी देखिरहेका छौं । 

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान

० यो हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान के हो ?

— २०६३ को जनआन्दोलनपछि नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो । सुरूदेखि यो बहसको विषय हो । आन्दोलनमा कहिल्यै पनि हिन्दूराष्ट्रका विषयमा कुनै नारा लागेन, अथवा नेपाली जनताले कहीं पनि धर्मनिरपेक्षताको माग गरेको थिएन । धर्मनिरपेक्ष कसरी प्रवेश ग¥यो भन्ने कुरा कसैलाई पनि थाहा थिएन । यसको स्वामित्व कसैले पनि ग्रहण गर्न खोजेन । धर्मनिरपेक्षतालाई चोर बाटोबाट छिराइएको अवस्था थियो । संविधानसभाबाट संविधान जारी हुनुभन्दा पहिले राय संकलनका लागि पठाइएको थियो । त्यसमा ९० प्रतिशतभन्दा बढीले धर्मनिरपेक्षता हटाउनुपर्छ भन्ने राय जनताले पठाएका थिए । जसलाई कुनै वास्ता गरिएन । हामीले आम नेपाली जनतालाई एउटा शब्द दिने प्रयास गरिरहेका छौं । राजनीतिक रूपमा हामीलाई कुनै लेनादेना छैन । तन्त्र जुनसुकै होस्, यसमा हाम्रो बहस छैन । गणतन्त्र र संघीयता राजनीतिक माग थियो तर धर्मनिरपेक्षता कुनै माग थिएन । त्यसलाई बलजफ्ती प्रवेश गराइएको हो । नेपाली समाजका लागि धर्मनिरपेक्षता सामाजिक विभाजनका लागि एउटा टुलको रूपमा अगाडि बढ्दैछ । नेपालमा २०२८ देखि जनगणना सुरू भएको हो । त्यो बेला इसाईको जनसंख्या शून्य थियो । २०३८ देखि त्यसको गणना सुरू भएको छ । २०४८ सालमा इसाई ०.२८ मात्र थियो, २०५८ मा ०.४४ भयो र २०६८ मा एकैचोटि तीन गुणाभन्दा बढी बढ्यो । नेपालको जनसंख्या वृद्धिदर करिब–करिब साढे तीन प्रतिशतको हाराहारीमा छ । इसाई धर्मावलम्बीको जनसंख्या दश वर्षमा तीन सय प्रतिशतभन्दा बढी भयो । यो कसरी सम्भव छ ? जब देशकै जनसंख्या साढे तीन प्रतिशत बढिरहेको छ भने कुनै धर्म विशेषको जनसंख्या तीन सय प्रतिशतभन्दा बढी कसरी वृद्धि हुनसक्छ । यसको एक मात्र कारण हो धर्मान्तरण । नेपालले धर्मान्तरणलाई गैरकानून घोषित गरेको छ । तर यहाँ त प्रष्टै धर्मान्तरण भइरहेको छ  । यो के हो भने नेपाललाई सामाजिकरूपमा विसर्जन गर्ने षड्यन्त्र भइरहेको छ । हामी त्यसैको विरूद्धमा चेतना जगाउनका लागि यो अभियान सञ्चालन गरिरहेका छौं । 

० धर्मनिरपेक्ष कसैको माग थिएन भने कसले चोर बाटोबाट छिराए त ?

— हाम्रा राजनीतिक नेताहरूले नेपाल र नेपालीको पहिचान नै हिन्दूत्व हो भन्ने बुझ्नुपर्छ । आजको दिनमा नेपालको एउटा ठोस पहिचान के हो त ? त्यो भने हिन्दूराष्ट्र मात्र हो । आज कुनै पनि ठोस पहिचान छैन जसलाई नेपालीको विशेष पहिचानको रूपमा भन्न सकिन्छ । एक मात्र हिन्दूराष्ट्र एउटा यस्तो शब्द र पहिचान हो जुन नेपाली मात्रको थियो । विश्वको एक मात्र हिन्दूराष्ट्र नेपाल भनेर पहिचान थियो, जुन आज गुमेको छ । हामी त्यसलाई पुनस्र्थापित गर्ने प्रयासमा लागेका छौं । 

० फेरि नेपाललाई हिन्दूराष्ट्र बनाउन सम्भव छ ?

— निश्चितरूपमा । किनभने ९० प्रतिशतभन्दा बढी नेपाली जनताको आकांक्षा हो । जनता जनार्दन हुन्छ । ढिलोचाँडो नेपाल हिन्दूराष्ट्र स्थापित भइछाड्छ । कुनै पनि कुराको उठान भएको छ भने त्यो पूरा हुन्छ । जे सत्य छ, त्यसबाट टाढा भाग्न सकिँदैन । सत्य हैरान, परेशान हुन्छ तर पराजित हुँदैन ।

० नेपालमा हरेक उपलब्धिका लागि आन्दोलन भएका छन्, पुनः हिन्दूराष्ट्रका लागि जनता सडकमा आउँछन् ?

— हाम्रो प्रयास रहनेछ कि हाम्रा राजनीतिक दलका नेताहरूले यी कुराहरू बुझुन् । उहाँहरूले जनआवाजलाई महसुस गरून्, त्यसलाई स्वीकार गरून् । किनभने उहाँहरू जनताकै प्रतिनिधि हुन् र जनताको चाहनाअनुसार काम गर्नु नै बुद्धिमानी हुनेछ । त्यो हामीले देखिरहेका छौं । नेपाली कांग्रेसभित्र पनि हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान चलेको थियो । एमालेमा पनि हामीले देखेका छौं कि अध्यक्ष केपी शर्मा ओलीजी हिन्दूत्वको पक्षमा सकारात्मकरूपमा अगाडि बढिरहनुभएको छ । उहाँले पनि यसलाई राष्ट्रको अस्मितासँग जोड्नुभएको छ । माधव नेपालले पनि हिन्दू धर्म राष्ट्रिय एकताका लागि आवश्यक छ भनेर भन्नुभएको छ । अर्थात् ढिलो चाँडो नेताहरूको मनमा यो कुरा उठ्न सुरू भइसकेको छ । त्यसैले गर्दा हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि जनता आन्दोलनमै जानुपर्छ भन्ने अवस्था सिर्जना हुँदैन । तर त्यहीं अवस्था आयो भने नेपाली जनताले त्यो पनि गर्नेछ ।

० प्रायः हिन्दूराष्ट्रको एजेन्डा बोक्नेहरूले राजाको पनि वकालत गरेको देखिन्छ, तपाइँहरूको के छ ?

— हाम्रो हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानले हिन्दूराष्ट्रको मात्रै वकालत गरिरहेको छ । तन्त्रको विषयमा हामी केही बोल्न चाहँदैनौं । तन्त्र भनेकै राजनीतिक व्यवस्था हो, तर यो सांस्कृतिक विषय हो । हामी राजसंस्थाको पक्ष वा विपक्षमा छैनौं । हरेक प्रकारको तन्त्र हाम्रो लागि स्वागतयोग्य छ । 

० तर, राजसंस्थाले मात्रै हिन्दूराष्ट्रको संरक्षण गर्न सक्छ भन्ने बुझाइ पनि छ नि ?

— त्यो पनि एक किसिमको बुझाइ हो । गणतन्त्रको सूत्रपात पनि हिन्दू धर्मले नै गरेको हो । चाणक्यले हिन्दू धर्मकै सिद्धान्तहरूलाई अगाडि बढाएका थिए । गणतान्त्रिक राष्ट्रहरू पनि हिन्दू धर्मले नै प्रतिपादित गरेको सिद्धान्तअन्तर्गत पर्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ