० प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले जुन प्रकारको असाधारण र अद्भूत विश्वासको पाउनुभएको छ, यो केको संकेत हो ?
— नेपालमा अहिले एउटा विशिष्ट निर्वाचन प्रणाली अंगीकार गरेका छौं । नयाँ संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा अहिले केही अधुरा, अपूरा कुराहरु छन् । संघीयतालाई कार्यान्वयन गर्ने सवालमा पनि धेरै कुराहरु कमी–कमजोरीको अवस्था छन् । अहिले इमान्दारीपूर्वक भन्ने हो भने सबैभन्दा पहिला हामी दुईटा कुरा गर्नुपर्ने आवश्यकता छ । यो संविधानभित्र रहेका कमी–कमजोरीलाई पूर्णता प्रदान गर्दै सबैको सर्वस्वीकार्य संविधान बनाएर नागरिकका आधारभूत आवश्यकताहरु सम्बोधन गर्नुपर्छ । गत पाँचमा संविधानलाई पूर्णता पनि दिन सकिएन र संविधानले अंगीकार गरेको संघीयता पनि कार्यान्वयन हुन सकेन । त्यसले गर्दा अहिलेको प्रधानमन्त्रीले पाउनुभएको विश्वासको मत स्वीकारोक्ति हो । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्ने बेलामा अत्यन्तै जिम्मेवार बोध महसुस गर्दै जसरी जे कुराहरु राख्नुभयो, त्यसले सबैलाई एकखालको अपिल पनि गरेको छ । सबैले कर्तव्यबोध गरेको स्थितिमा एक हिसावले राष्ट्रिय सहमतिकै सरकार भयो । यसले दिएको सन्देश के हो भने सरकारमा रहेका नेता वा पार्टीहरुलाई अब कुनै किसिमको खेलाँची गर्ने छुट छैन । नेपालको सन्दर्भमा यो एकखालको अभूतपूर्व प्रयोग हो । नेपालको लागि यो नौलो प्रयोग पनि छ र लोकतन्त्रका लागि पनि एउटा नयाँ प्रयोग हो ।
० यो सरकारका चुनौतीहरु के–के देख्नुहुन्छ ?
— अवसर नै यो सरकारको सबभन्दा ठूलो चुनौती हो । प्रधानमन्त्री प्रचण्डको सरकारले संसदबाट करिब–करिब ९९ प्रतिशत नै बहुमत प्राप्त ग¥यो, त्यो ठूलो चुनौती हो । किनभने यति ठूलो अगाध विश्वास त सम्पूर्ण नेपाली जनताको विश्वास हो । संसदमा आएका पार्टीहरु विभिन्न दृष्टिकोण, विचार, भूगोल, क्षेत्र, जातिका प्रातिनिधित्व गरिरहेका छन्, ती सबै जसरी प्रचण्डलाई विश्वासको मत दिए, त्यसले गर्दा सम्पूर्ण नेपालको विश्वास जित्नुपर्ने चुनौती रहेको छ । त्यसमा खरो उत्रिनुपर्ने हुन्छ । उहाँले न्यूनतम् साझा कार्यक्रमको आधारमा विश्वासको मत माग्नुभयो । त्यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्नु अवसर र चुनौती दुवै छन् । यदि उहाँले इमान्दारीपूर्वक गर्न सक्नुभएन भने त्यसको असर उहाँमाथि मात्रै होइन, सिंगो संसदमाथि पर्न जान्छ ।
० संसदको पहिलो बैठकमा सम्बोधन गर्दै तपाइँले यो संसदका लागि अन्तिम मौका हो भन्नुभएको थियो, त्यसको तात्पर्य के हो ?
— म यसपालि निर्वाचन लडिरहँदा आमजनताको आँखामा जुन प्रकारको आक्रोश मिश्रित आशा र निराशा दुइटै थियो । २०४६ सालदेखि विभिन्न परिवर्तनहरु भए । यी सबै परिवर्तन हुँदा पनि गाउँको झोपडी अहिले पनि झोपडी नै छन् । आमजनताले तात्विक परिवर्तन केही पनि पाएका छैनन् । उसको जनजीविकामा कुनै परिवर्तन भएको छैन । व्यवस्था, नेता, नेताको जीवनशैली परिवर्तन भएको होला तर आमजनताको जीवनशैली परिवर्तन भएको छैन । त्यसो भएको हुनाले यसपालि जनताले जुन विश्वासको मत दिएको छ, त्यसलाई सन्देहको लाभ लिएर यदि यसलाई हामी बुझ्न सकेनौं र केही जनतालाई डेलिभरी दिन सकेनौं भने जनता फेरि निराश हुन्छन् । त्यतिबेला नेता, दल वा संसदलाई नै जनताले विश्वास गर्ने आधार नहुन सक्छ ।
० त्यसपछि कस्तो अवस्था आउन सक्छ ?
— राज्य भनेको आस्थाको केन्द्र हुन्छ, जनताले राज्यमाथि विश्वास गर्छ । जुन राज्यप्रति नागरिकको मोह भंग हुन्छ, निराशा हुन्छ र राज्यले ढाँट्यो भन्ने अनुभूति हुन्छ त्यो बेला अराजकताको स्थिति निर्माण हुन्छ । मैले त्यस्तो खालको अनुभूति गरेको कुरा संसदमा राखेको थिएँ । संसदमा जुन नयाँ–नयाँ पार्टी र युवा नेताहरु आएका छन्, तिनीहरुमाथि अत्यन्त विश्वास गरेर पठाएका छन् । उनीहरु पनि असफल भए भने जनताले के गर्ने त ?
० संसदको सबभन्दा ठूलो दल नेपाली कांग्रेससमेतले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गर्दा सत्तारुढ दलका प्रमुख घटकका नेता केपी शर्माको आशंकापूर्ण अभिव्यक्ति आयो नि ?
— त्यसको बारे म भन्न सक्दिँन । विशेषगरी ठूला र त्यसका नेताहरु कुनै पनि बेला कुनै पनि किसिमको निर्णय लिने क्षमताका रहेका छन् । चुनावमा जाँदा एकखालको गठबन्धन थियो, सरकार बन्ने बेलामा अर्को खालको गठबन्धन बन्यो । त्यसैले मैले भने कि अहिले हामी नयाँ–नयाँ प्रयोगमा छौं । शायद नेपाली कांग्रेसले पनि नयाँ प्रयोग गर्न खोजेको होला । प्रधानमन्त्रीले कांग्रेससँग सहयोगको अपेक्षा राख्नुभयो र उसले गर्ने भन्यो । उहाँहरुको बीचमा के कुरा भएको हो, त्यो त अहिलेसम्म बाहिर आएको छैन । राजनीति भनेको सम्भावनाको खेल हो, जे पनि हुनसक्छ । तर कांग्रेसको विश्वासको मतलाई मैले सकारात्मकरुपमा लिएको छु । किनभने मुलुकको हरेक परिस्थितिलाई ट्रयाकमा ल्याउन सबै मिल्नु बाहेक अर्को विकल्प छैन । अहिले जुन प्रकारको परिवर्तन ल्याएका छौं, त्यसको हामी सबै वाहक हौं । यो परिवर्तनले आत्मसात गरेका कुराहरुलाई व्यवहार ल्याउन सकेनौं भने भोलि कसैको भविष्य सुरक्षित रहँदैन ।
० भनेपछि कांग्रेसको समर्थनबाट आशंकित हुनुपर्ने अवस्था छैन ?
— मैले त्यस्तो अवस्था देखेको छैन ।
० तर अहिले संसद प्रतिपक्षीविहीन भयो नि ?
— हामी पनि अहिलेसम्म प्रतिपक्षमै छौं । सरकारको साझा न्यूनतम् कार्यक्रमको आधारमा विश्वासको मत दिई प्रतिपक्षको बेन्चमा बसेका छौं । हाम्रो यहाँ कस्तो अचम्मको परम्परा छ भने अहिले घाम लागेको छ भने प्रतिपक्षीले घाम लागेको भन्न नपाइने । त्यस्तो परम्पराको अब अन्त्य हुनुपर्छ । आरोप लगाउने खेलबाट हामी कहीं पनि पुग्न सक्दैनौं । अरुको गल्ती देखाएर आफू अगाडि बढ्न खोज्ने परम्परा नेपालको राजनीतिमा विकसित भएकै छ । राष्ट्रिय राजनीतिमा अरुलाई गाली गरेर आफू चोखो हुने कुरा अब चल्दैन । किनभने जनता अब धेरै चनाखो भइसकेका छन् । कांग्रेसले जसरी यो सरकारलाई विश्वासको मत दियो, त्यसबाट प्रतिपक्षभन्दा पनि बढी भूमिका हुन्छ । कांग्रेसले यदि विश्वासको मत नदिएको भए उसको कुराको त्यति गम्भीरतापूर्वक लिनुपर्ने अवस्था हुँदैनथ्यो । किनभने प्रतिपक्षी होा, विरोध गर्ने उसको काम हो । तर अहिले समर्थन गरेकै दलले विरोध गरेपछि उसको लागि झन् ठूलो कुरो हुन्छ । त्यसकारणले अहिले प्रतिपक्षविहीन संसद भएको होइन, संसदमा प्रतिपक्ष रहन्छ नै । सरकारलाई निरंकुश हुनबाट बचाउनका निम्ति संसद हो । वास्तवमा प्रतिपक्ष भनेको संसद हो । सरकार सत्तापक्षको हुन्छ र संसद प्रतिपक्षको हुन्छ ।
० सरकारलाई विश्वासको मत दिएको दल प्रतिपक्षी कसरी हुनसक्छ ?
— संसदीय नियमावलीमा प्रतिपक्षी कसलाई मान्ने भन्ने व्याख्या गरेको छ । प्रतिपक्ष मान्ने हिसाव–कितावमा जो आफूलाई प्रतिपक्षमा निर्णय गर्छ, जुन पाटीको १० प्रतिशत मत छ भने उसले प्रतिपक्षको मान्यता पाउँछ । म प्रतिपक्षमा हुँ भन्ने मान्यतामा जानुप¥यो नि त । कोही मान्यतै प्राप्त गर्न गएन भने प्रतिपक्षको मान्यता दिइराख्नुपर्ने अवस्था छैन । सवाल के छ भने प्रतिपक्षमा बस्ने वा नबस्ने कन्डिसनल शर्त रहिरहन्छ ।
० भनेपछि असामान्य समर्थन पाएको यो सरकारले आफ्नो कार्यकाल पूरा गर्छ ?
— बाहिरी रुपमा अहिलेको सरकारको मुख्य सहयोगी दलबीच आलोपालोको सहमति भएको कुरा आएको छ । तर प्रचण्ड बहुमतबाट बनेको सरकार पूर्ण कार्यकाल चल्दैन भन्ने कुराको म कल्पना पनि गर्न सक्दिँन ।
० लोसपाको अवस्था दिनप्रति दिन खस्किँदै गएको छ । यसपटक त राष्ट्रिय पार्टी पनि बनेन नि ?
— मैले लोसपाको अवस्था खस्किँदै गएको देखिरहेको छैन । किनभने हामी जहिले पनि मुद्दालाई प्राथमिकता दियौं, मुद्दासँग कसैसँग सम्झौता पनि गरेनौं । मधेश मुद्दाकै लागि हामीले डुब्न लागेका उपेन्द्रजीको पार्टीलाई बचायौं र जसपा बनायौं । जसपा देशकै वैकल्पिक पार्टी बनेको थियो । मलाई अहिले पनि ग्लानी हुन्छ कि कमसेकम एकपटक जसपाले चुनाव लड्न पाएको हुन्थ्यो । त्यसले यो मुलुकलाई एउटा कोर्ष पनि दिन्थ्यो र अहिलो जति पनि नयाँ कुराहरु आइरहेका छन्, त्यो आउँदैनथ्यो । तर त्यतिबेला हामी सकेनौं । जसपा विभाजित भयो । त्यसपछि बल्ल–तल्ल हामी लोसपा बनायौं । हामी सधैं संघर्ष र लडाइँमै रह्यौं । जब यो वर्षको चुनाव आयो र मुलुकमा गठबन्धनको राजनीति सुरु भयो त्यसपछि लोकतान्त्रिक गठबन्धनमा जान खुट्टा उचालेरै बसेका थियौं । विभिन्न कारणले हामी त्यो गठबन्धनमा समयमा जान सकेनौं । यो चुनावमा अन्तिम समयमा गठबन्धनमा सहभागी भयौं । गठबन्धनभित्र सिट तालमेल गर्दा हामीले थोरै पायौं । हामीले पाएको सिटमध्ये प्रदेश र संघमा ५०% जित्न सफल भयौं । तर समानुपातिक मत माग्नका लागि हामीसँग तयारी पनि पुगेन । त्यसले गर्दा अहिले हामी यो अवस्थामा आइपुग्यौं । यसमा कतिपय हाम्रा सांगठनिक कमजोरीहरु पनि छन् । तर हामीले आफ्नो मुद्दालाई कहिल्यै पनि छोडेनौं । हामी आकारमा कम भएपनि विचारमा कम छैनौं ।
० लोसपा गठन भएको पनि एक वर्षभन्दा बढी समय भयो, एउटा केन्द्रीय कार्यकारिणी समिति मात्र छ । तर अहिलेसम्म आफ्नो केन्द्रीय समितिदेखि विभिन्न समितिहरु बनाउन सकेको छैन ?
— जतिबेला हामीले निर्वाचन आयोगमा लाइन लगाएर सनाखत गर्नुपर्ने बेला आयो त्तिबेला केन्द्रीय कार्यकारिणी समिति बनायौं । त्यतिबेला मै बोलेको थिएँ कि यो सनाखत भनेको निष्ठाको सनाखत हो । त्यतिबेला जसले हामीलाई निष्ठाको आधारमा समर्थन दिए, त्यसकै आधारमा हामी केन्द्रीय कार्यकारिणी समिति सदस्य बनाएर अगाडि बढ्यौं । त्यसपछि पनि हाम्रा कतिपय साथीहरु आउनेजाने क्रम भई नै रहेको थियो । केन्द्रीय समितिका लागि हामी अभ्यास पनि गरिरहेका थियौं । सोही क्रममा चुनाव घोषणा भयो । त्यसपछि हामी चुनावमै लाग्यौं । जसले गर्दा हामी संगठनात्मक काममा अलिकति पछाडि प¥यौं । अब निर्वाचन पनि सिद्धियो । अब विधान सम्मत तरिकाले दू्रतगतिमा हामी पार्टीको संगठनात्मक संरचनामा लाग्छौं ।
० लोसपासँगै गठन भएको माधव नेपालको पार्टीले केन्द्रदेखि वडासम्म समितिहरु निर्माण गरिसकेको छ । तपाइँहरु त्यो हिसावले किन गर्न सक्नुभएन त ?
— माधवजीको पार्टी भर्टिकल डिभिजन भएको हो । नेकपा एमालेको तलदेखि माथिसम्मको भइराखेको संरचना विभाजन भएको हो । त्यो नयाँ निर्माण भएको हो । हाम्रो अवस्था कस्तो रह्यो भने विभिन्न पार्टीहरु मिल्यौं, फेरि विभाजित भयौं । सुरुमा त हाम्रो राजपा नै बन्न सकेको थिएन कि जसपा बन्यो । त्यो जसपा पनि निर्माण हुने क्रममै विभाजन भयो । त्यसले गर्दा हामी संगठित हुन पाएनौं । संगठन जोड्नका लागि एउटै ठूलो महत्वपूर्ण काम हो अधिवेशन । हामी विशेष अधिवेशन गरेर सबैलाई समेट्छौं । नयाँ संरचनामा जाने बेलामा पार्टी स्वयंलाई समावेशी बनाउँछौं ।
० पार्टीलाई गतिशील बनाउन लोसपामा नयाँ नेतृत्व आउनुपर्छ भन्ने आवश्यकता छैन ?
— नेतृत्व भनेको धेरै कुद्ने, हिंड्ने, युवा, बुढा होइन । नेतृत्व भनेको आस्था र विश्वासको केन्द्र हुनुपर्छ । हामीलाई गर्व लाग्छ कि हाम्रो पार्टीको अहिलेको अध्यक्षज्यू नेपाल मात्र होइन कि अन्तर्राष्ट्रियस्तरमै एउटा भरपर्दो, विश्वासिलो, त्यागी, तपस्वी मान्छे हो । जुन मुद्दा लिएर उहाँले राजनीति गर्नुभएको छ, त्यो मुद्दाप्रति इमान्दार मान्छे हो भन्ने हिसावको उहाँको छवि बनेको छ । नेताको छविले नै पार्टी चल्छ । हामीले उहाँलाई दोष दिने होइन कि दोषी त हामी हौं । त्यस्तो नेता हुँदाहुँदै पनि हामीले उहाँको छवि, विश्वसनीयतालाई जनतामाझ पु¥याउन सकेनौं । उहाँ मुद्दाप्रति इमान्दार हुनुहुन्छ । उहाँले बारम्बार भन्नुभएको छ कि ‘म मधेशको लागि आएको छु, मधेशको लागि मर्छु’ ।
० लोसपा संघदेखि प्रदेशसम्म प्रतिपक्षमै बस्ने हो ?
— सरकारले विश्वासको मत मागेको थियो, हामीले समर्थन गरेका छौं । सरकारको साझा न्यूनतम् कार्यक्रमको आधारमा हामीले विश्वासको मत दिएका हौं । सरकारले यदि सहकार्य गर्न हाम्रो आवश्यकता महसुस गर्छ भने हामी खुल्ला छौं ।
० अहिलेसम्म सरकार आउनका लागि सम्वाद भएको छैन ?
— हामीले पनि सम्वाद गरेका छैनौं । विश्वासको मत माग्ने बेलामा हामीले आफ्ना कुराहरु राखेका थियौं । हाम्रो कुनै नयाँ माग छैन । मैले अस्ति संसदमा पनि भनेको थिएँ कि राज्यले जो–जोसँग जे–जे सम्झौता गारेको छ, त्यो सहमतिप्रति राज्य इमान्दार हुनुपर्छ । त्यसैले मधभेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, थरुहट आन्दोलन लगायत सबै आन्दोलनकारी पक्षसँग जे–जे सम्झौताहरु गरेको छ ती लागू गरिदिनुपर्छ । त्यसो हुनाले यो सरकारले ती सबै गर्छु भनेर साझा न्यूनतम् कार्यक्रमको रुपमा आएका छन् । अब यसपछिको सहकार्यको बारेमा छलफल होला । लोसपा सरकारमा जान सक्छ ।
० अहिले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच जुन प्रकारको कार्यगत एकता भएको छ, यसलाई कसरी लिनुभएको छ ?
— यसलाई म एकदम सकारात्मकरुपमा लिएको छु । यो विषयमा मेरो पनि छलफल भएको छ । नागरिक उन्मुक्ति र डा.सीके राउतजीसँग म आफै पनि कुरा गरेको छु । एजेण्डा मिल्ने दलहरुको बीचमा सहकार्य हुन आवश्यकता छ । त्यो सहकार्य भएको अवस्थामा हामी यसलाई अगाडि बढाउन सक्छौं । उहाँहरुबीच जुन प्रकारको सहमति भएको छ, त्यसमा राय दिने काममा म पनि सहभागी थिए । मैले उहाँहरुलाई भनें कि तपाइँहरु अगाडि बढ्नुस् । जुन बेलामा हामीले सरकारलाई समर्थन दिने निर्णयमा पुगिसकेका थिएनौं र उहाँहरु यो सरकारको प्रस्तावक भएको नाताले सहकार्यको कुरा भएको थियो । नागरिक उन्मुक्तिले उठाएको मागकै विषयमा हामी विगत पाँच वर्षदेखि लड्दै आएका छौं । अर्को, जनमत पार्टीले उठाएको जनजीविकासँग जोडिएका सवालहरु हाम्रो नैतिक कर्तव्यभित्र पर्छ । हामीले राजनीति गर्ने भनेकै त्यसकै लागि हो । अधिकार प्राप्त नभएसम्म अन्य सुविधाहरु प्राप्त हुँदैन । विषयगत कुराहरु प्राप्त गर्नकै निम्ति स्वायत्तता चाहिएको हो । अझ यसभन्दा पनि जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति एउटै एजेण्डामा सहकार्य गर्न मोर्चा बनाउन सक्छौं ।
० भनेपछि जनमत र नागरिक उन्मुक्तिको मोर्चामा लोसपा पनि सहभागी हुँदैछ ?
— नयाँ शिराबाट सहकार्यका सम्भावनाहरु छन् । सहकार्यको मोडेल के हुन्छ भनेर हामी भोलि छलफल गर्छौं । किनभने प्रचण्ड सरकारको उहाँहरु प्रस्तावक हो, साझा न्यूनतम कार्यक्रमको आधारमा हामीले पनि विश्वासको मत दिइसकेपछि ती मुद्दा सम्बोधन गराउनका लागि एक ठाउँमा आयौं भने बल मिल्छ ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया