० लोकतान्त्रिक समाजवादी पार्टीभित्र असन्तुष्टिहरु बढ्दै गएका छन्, वरिष्ठ नेता राजेन्द्र महतो आक्रोशित हुनुहुन्छ, के कारण छ ?
— हाम्रा वरिष्ठ नेता राजेन्द्र महतोले केन्द्रीय समिति बैठक बहिष्कार गर्नुभयो भन्ने कुरा सुनेर अचम्मित छौं । राजेन्द्र महतोले सार्वजनिक रुपमा भन्नुभयो कि बैठक बहिष्कार गरे, त्यो कुरा हामी बुझ्न सकेनौं । बैठकभन्दा दुई दिन अगाडि छलफल हुँदा पनि उहाँ आउनुभएन । उहाँले केन्द्रीय समितिमा धेरै साथीहरु छुटेका छन्, त्यो सम्बोधन नभएकोले बैठक बहिष्कार गरेको उहाँले सञ्चार माध्यमहरुमार्फत् गुनासो गर्नुभएको छ । त्यो बैठकमा न कसैलाई थप गरिएको छ, न कसैलाई मुक्त गरिएको छ । अझै पनि ९० जना थप गर्न बाँकी नै छ । अध्यक्षजीले भन्नुभएको छ, कि जो–जो छुट्नुभएको छ, उहाँहरुलाई समावेश गरिनेछ । त्यसैले यो ठूलो विवादको विषय होइन ।
० वरिष्ठ नेता महतोले अध्यक्ष महन्थ ठाकुरले मनोमानी तरिकाले पार्टी चलाइरहेको आरोप लगाउनु भएको छ नि ?
— म धेरै तिक्ततापूर्ण टिप्पणी गर्न चाहन्नँ । जे भएको छ, त्यसमा उहाँको पनि सहभागिता छ, उहाँसँगै बसेर गरेको हो । आफूले नगर्ने, गर्न पनि नदिने । उहाँले नै सम्पूर्ण अधिकार दिनुभयो अध्यक्ष महन्थ ठाकुरलाई कि तपाइँ सबै गठन गर्नुस् । अब सम्पूर्ण अधिकार दिइसकेपछि गर्नेले ग¥यो त । गरिसकेपछि कुनै साथी छुटेको छ भने ल्याउँछु भन्नुभएकै छ । ल्याउनेतिर पो प्रयास गर्ने हो । पार्टीमा थपघट गर्दा त सबै कुरोमा विचार गर्नुपर्छ । देशभरिकै साथीहरु छुटेका छन् । सबै जिल्लाबाट नाम आउनुप¥यो । वरिष्ठ नेता महतोको चिन्ता जायज हो, त्यसलाई म उच्च सम्मान गर्छु तर सँगसँगै उहाँको दायित्व पनि हो नि । जहाँ–जहाँ समस्या छ, त्यसलाई समाधान गर्न सहयोगात्मक भूमिका निर्वाह गर्ने दायित्व पनि हो । यो भएन, त्यो भएन भनेर दायित्व पूरा भयो त ?
० सद्भावना पार्टी पृष्ठभूमि भएका नेताहरु समेटिएन भनेर उहाँको गुनासो देखिन्छ, यसबाट लोसपा फुटतिर जाँदैछ ?
— अब पूर्वसद्भावना भनेर कहाँ खोज्न जाने ? हिजोसम्म म मधेशवादी हुँ, सद्भावना हुँ भन्ने एक दर्जन साथीहरु त एमालेमा हुनुहुन्छ, दुई दर्जन त जसपामा हुनुहुन्छ । स्थापित अनुहार, राजेन्द्र महतोसँग काम गरेको डेढ दर्जन नेताहरु त उहाँलाई छोडेर गइसके । हामीले राजपा बनाउँदाखेरि सद्भावनाबाट पदाधिकारी बनेका मध्ये अहिले कति जना लोसपामा हुनुहुन्छ भन्ने प्रश्न त उठ्छ नि । ३११ सदस्यीय केन्द्रीय समितिमा सद्भावना पृष्ठभूमि भएका नेताहरु हुनुहुन्न र ? वरिष्ठ नेताकै परिवारका सदस्य पदाधिकारी हुनुहुन्छ ।
० आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लोसपा के गर्दैछ ?
— हामी सत्तारुढ गठबन्धनभित्र छौं । लोसपा प्रतिबद्ध ढंंगले गठबन्धनमा छ । चुनाव पनि हामी सँगै लड्यौं । हामीले प्रधानमन्त्री वा सत्तारुढ गठबन्धनभित्र धेरै बार्गेनिङ्ग गरेका छैनौं । हामीले यो गठबन्धनलाई सघाएको मात्रै छौं । गत चुनावमा पनि हामीले थोरै मात्रै सिट लियौं । जबकि हाम्रो जम्मा सांसद संख्या १७ जना थियो । त्यस हिसावले हामी के अनुरोध गरिरहेका छौं कि राष्ट्रिय सभा चुनावमा लोसपाले पनि सिट पाउनुपर्छ । सत्तारुढ गठबन्धनले लोसपाको योगदानलाई हेरेर सिट दिनुपर्छ । त्यो सिट प्राप्त गरिसकेपछि पार्टी चुनावमा सहभागी हुने हो ।
० राष्ट्रिय सभा सदस्य चुनावमा लोसपा गठबन्धनसँगै रहन्छ ?
— अहिलेको चुनावी स्ट्रेन्थलाई हेर्दा लोसपा एक्लैले राष्ट्रिय सभा चुनावमा जित्न सक्दैन । हामीले सधैं मत दिँदै आएका छौं । त्यसैले हाम्रो चाहना रहन्छ कि हामीले सिट पाउनुपर्छ ।
० कति वटा सिटमा लोसपाको दाबी छ ?
— राष्ट्रिय सभामा २० वटा सिट खाली हुँदैछ । गठबन्धनको बैठकले यो कुराको टुंगो लगाउँछ । २० जनामा सबै दिनुस् भन्ने सवाल आउँदैन, स्ट्रेन्ट हेरेर पाउने हो । कम्तीमा एउटा सिट त पाउनै प¥यो ।
० न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त ग¥यो, यसलाई लोसपाले कसरी लिएको छ ?
— न्याय परिषद्ले गरेको न्यायाधीश नियुक्ति पूर्णरुपमा असमावेशी, गैरसंवैधानिक र विभेदपूर्ण रहेको छ । यसप्रति लोसपा नेपाल खेद व्यक्त गर्दछ । संविधानकै खिल्ली उडाउने गरी नियुक्ति भएको छ । यसको जति आलोचना गरेपनि कम हुन्छ । यो देशमा आधाभन्दा बढी जनसंख्या ओगटेको मधेशी समुदायलाई समेट्न नसक्नु दुर्भाग्यपूर्ण हो । जहिले पनि नियुक्तिहरुमा मधेशसँग विभेद हुँदै आएको छ । यसकै विरुद्धमा हाम्रो संघर्ष हो । विगतदेखि नै नश्लीय चिन्तनबाट ग्रसित राज्यसत्ताको चरित्र र सोचमा परिवर्तन हुन सकेको छैन ।
० छिमेकी मित्रराष्ट्र भारतका विदेशमन्त्री डा.एस जयशंकरको नेपाल भ्रमणलाई कसरी हेर्दै हुनुहुन्छ ?
— भारतका विदेशमन्त्री डा.एस जयशंकरको नेपाल भ्रमण अति नै महत्वपूर्ण र उपलब्धिमूलक भएको हामी ठान्छौं । यो भ्रमणका क्रममा विभिन्न महत्वपूर्ण सहमतिहरु भएका छन्, जुन नेपालको विकास र समृद्धिका लागि निकै नै महत्वपूर्ण रहेको छ । नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्नेछ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सम्झौताले दुई देशको सम्बन्धलाई थप उचाइमा पु¥याउने छ ।
० यो भ्रमणबाट कस्तो अपेक्षा छ ?
— भारतले आफूलाई आर्थिकरुपमा सवल बनाउन सफल भएको छ । हाम्रो निकटतम् छिमेकी र विशिष्ट मित्र भारत भएकोले नेपालको आर्थिक अवस्था मजबुत बनाउने काम भारत सरकारले गर्नुपर्छ । भारतले हामीलाई विशेष सहयोग गर्नुपर्छ भन्ने चाहना राखेका छौं ।
० यो भ्रमणबाट नेपाल–भारत सम्बन्धमा कस्तो प्रभाव पारेको छ ?
— नेपाल–भारत सम्बन्ध भनेको कुनै राजा महाराजा, प्रधानमन्त्री, सांसद, मन्त्रीले बनाएको होइन, जनताले बनाएको सम्बन्ध हो । जनस्तरमा सम्बन्ध अहिले पनि प्रगाढ नै छ । यस्ता भ्रमणहरू हुनु आफैमा फलदायी हो, विचारहरूको आदान–प्रदान हुन्छन् ।
तपाईको प्रतिक्रिया