० तपाइँ हालै करिब १० दिने भारत भ्रमण गरेर फर्किनुभएको छ, त्यसको उद्देश्य के थियो ?
— म भारतको राजधानी दिल्ली पहिलो पटक गएको थिएँ । दिल्लीमा वाटर एक्स्पोसम्बन्धी एउटा कार्यक्रम आयोजना गरिएको थियो, त्यो कार्यक्रममा मलाई निम्तो गरिएको थियो । सो भ्रमणको क्रममा मैले त्यहाँ वाटर सेक्टरमा कसरी काम भइरहेको छ, खानेपानीको व्यवस्थापन कसरी भइरहेको छ लगायतका विषयमा मैले जानकारी लिएँ । भ्रमणकै क्रममा मैले धार्मिक, सांस्कृतिक मठमन्दिर, मजार लगायतमा पनि पुगेको थिएँ । राजनीतिकरुपमा पनि केही भेटघाटहरु भयो । भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेट्ने अवसर पाएँ । राजनीतिक र सामाजिकरुपमा नेपाल–भारतबीच कस्तो सम्बन्ध रहेको छ भन्ने कुरा पनि बुझ्न पाएँ ।
० तपाइँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्नुभयो ?
— यस सन्दर्भमा सार्वजनिकरुपमा बोल्न मिल्दैन । किनभने म कुनै राजकीय भ्रमणमा गएको थिएन । सरकारी कार्यक्रममा पनि गएको थिएन । मैले खानेपानी मन्त्री हुँदा खानेपानी सम्बन्धमा काम गरिरहेका यहाँका संस्थाहरुसँग मेरो सम्बन्ध भयो, उहाँहरुलाई मेरो तर्फबाट हुने सहयोग गरे । त्यसकै परिणामस्वरुप मधेश प्रदेशको चार सय विद्यालयहरुमा खानेपानी फिल्टर जडान भएका छन् । अहिले पनि मबाट हुने सहयोग गरिरहेको छु । त्यहीं सन्दर्भमा भारतको दिल्लीमा भएको वाटर एक्स्पोमा मलाई व्यक्तिगतरुपमा निमन्त्रणा आएको थियो । त्यसकारणले भारत भ्रमणका बेला भएका सबै भेटघाट, छलफलबारे भन्न मिल्दैन । जे होस्, मेरो पहिलो दिल्ली भ्रमण साह्रै राम्रो भयो ।
० जनमत पार्टीप्रति भारतका राजनीतिक दलका नेताहरुको कस्तो धारणा पाउनुभयो ?
— त्यहाँका राजनीतिक नेतृत्वहरुको माथिसम्म जनमत पार्टीबारे जानकारीको अभाव रहेको छ । केही सेक्टरहरुमा जनमत पार्टीबारे धेरै जानकारी रहेको छ । जनमत पार्टी के गरिरहेको छ, कसरी आयो, कुन एजेण्डाबाट यहाँसम्म आइपुग्यो भन्ने कुराहरु केही सेक्टरलाई व्यापकरुपमा जानकारी छ र केही नेतृत्वलाई जानकारीको अभाव छ । किनभने उहाँहरुले हेर्ने भनेको नेपालमा कुन ठूलो दल छ, कसको सरकार छ र कसको सरकार बन्दैछ । हाम्रो नयाँ पार्टी भएकोले एक हिसावले पार्टीको पनि प्रचार–प्रसार गरियो । त्यहाँका नेतृत्वहरुलाई मैले आफ्नो पार्टीको विषयमा जानकारीमूलक सन्देश पनि दिएँ ।
० वाटर एक्स्पोमा सहभागिता हुँदा के नयाँ कुरा हेर्नुभयो ?
— वाटर एक्स्पोमा भ्रमण गर्नुको कारण के थियो भने नेपालका विद्यालयहरुमा जुन संस्थाले काम गरिरहेको छ, त्यो संस्थाका सबै सामानहरु त्यहींबाट आउने गर्छ । भनेपछि त्यसको कति मूल्य हुन्छ, त्यहाँबाट सामान ल्याउँदा कस्ता अप्ठ्याराहरु झेल्नुपर्छ, त्यो सामान कति दिनमा आइपुग्छ, ती सम्बन्धमा जानकारी लिनुपर्ने थियो । अझै गुणस्तरीय फिल्टर र मेसिनहरु त्यहाँबाट कसरी ल्याउन सकिन्छ भन्ने विषयमा अध्ययन गरें । अर्को कुरा खानेपानीमा पनि यति ठूलो र धेरै मेसिनहरु हुँदोरहेछ त्यसबारे पनि जानकारी भयो । त्यस्ता मेसिनहरु हामीकहाँ आयो भने यो सिंहदरबारमै पब्लिकरुपमा एक–दुईटा मेसिन लगाउन पाइयो भने पूरै सिंहदरबारलाई नै पानी पुग्छ ।
० जनमत पार्टीले मधेश सरकारबाट समर्थन फिर्ता लिँदै सरकारबाट किन बाहिरियो ?
— जनमत पार्टीले मधेश सरकारबाट समर्थन फिर्ता लिनु र बाहिरिनु पर्ने कारण प्रष्ट पार्दै आएको छ । राजनीतिमा यो स्वाभाविक हुन्छ कि कहिले सरकारमा जानुपर्छ, काम गर्ने अनुकूल वातावरण भएन भने बाहिरिनुपर्छ । यो एउटा सामान्य प्रक्रिया हो । सरकारमा गएपछि जनताले अपेक्षा गरेअनुसारको परिणाम नआएपछि सरकारबाट बाहिरिने बाटो हुन्छ । हामी सरकारमा त गयौं, तर हामलिे गर्नुपर्ने काम, जनतालाई गरेको बाचा पूरा गर्न नसकेपछि फिर्ता हुनु स्वाभाविक हो । हामी मधेश सरकारमा गएपछि काम गर्ने बेलामा कहिले मुख्यमन्त्रीबाट बाधा हुने, कहिले अर्थमन्त्रीबाट बाधा हुने, कहिले बजेट नै निकासा नगरिदिने, विभिन्न किसिमका लफडाहरु खडा गर्ने जस्ता समस्याहरु हामीले भोग्यौं । सरकारमा रहेर पनि काम गर्न नसक्ने पीडा जनमत पार्टीले भोग्दै आएको थियो । मन्त्रीले राम्रो काम गर्न थालेपछि मन्त्रालय नै फुटाइदिने, मन्त्री नै परिवर्तन गरिदिने जस्ता परिपाटी देखेर वाक्कदिक्क भएर हामी सरकार छोड्न बाध्य भयौं । अर्को कुरा, राजविराजमा कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रममा जसपाले एकलौटी ग¥यो । हाम्रो शिक्षामन्त्री भएपनि उहाँसँग कुनै किसिमको छलफल नगरी मनोमानी ढंगले गर्न थालियो । हाम्रोा मन्त्रीले स्वागत गर्न पुग्दा लाठीचार्ज भयो, मन्त्री र सांसदहरु घाइते हुनुभयो ।
० तर, राजविराजको त्यो शिलान्यास कार्यक्रममा तपाइँको पार्टीका मन्त्री र सांसदहरु विथोल्न जानुभएको थियो नि ?
— मन्त्री सो विश्वविद्यालयको सहकुलपति भएपनि कुनै छलफल नै नगरी शिलान्यास कार्यक्रम राखिएको थियो । हाम्रो मन्त्रीले विज्ञप्ति जारी गरेर भन्नुभएको थियो कि सबैसँग छलफल गरेर एउटा सहमति बनाऔं, त्यसपछि शिलान्यास गरौं । तर, त्यो दिन कार्यक्रम विथोल्न वा विरोध गर्नका लागि हाम्रा मन्त्री र सांसदहरु जानुभएको थिएन । फुलमाला लिएर स्वागत गर्न जानुभएको थियो तर सुरक्षाकर्मीको घेरामा बल प्रयोग गरी दमन गरियो । यी विभिन्न कुराहरु भइसकेपछि सरकारमा कसरी बसिरहने ? त्यो हिसावले सरकारबाट फिर्ता भएका हौं । जसपा नेतृत्वको सरकारमा हामी बस्न सक्दैनौंं, सरकार गलत बाटोमा हिंडिरहेको छ ।
० मधेश कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रममा डा.सीके राउतलाई प्रमुख अतिथि नबनाउँदा पनि तपाइँहरु रुष्ट हुनुभयो ?
— यदि त्यस्तो थियो भने उपेन्द्र यादव पनि नजाँदा के बिग्रिन्थ्यो । जबकि जनताले उहाँलाई त्यहाँबाट बहिष्कार गरेकै हो । अर्को कुरा जब हाम्रो अध्यक्ष डा.सीके राउतले त्यस्तो अपेक्षा राख्नुभएको थियो भने त्यो त स्वाभाविक हो । उहाँ त त्यहीं क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुनुहुन्छ । सम्बन्धित क्षेत्रको सांसद भएकोले उहाँको त्यो चाहना स्वाभाविक हो । प्रमुख अतिथिकै कुरा थियो भने जग्गादातालाई बनाउँदा हुन्थ्यो वा शहीद परिवारका कुनै सदस्यलाई बनाउँदा हुन्थ्यो । तर उपेन्द्र यादवले जसरी पनि जान्छु जस्तो हठबाजी गर्नुभयो । उपेन्द्रजीको हठको कारणले लाठीको बलमा सुरक्षाकर्मीको घेराभित्र शिलान्यास गर्नुभएको हो ।
० जनमत पार्टी जहिले पनि गठबन्धनको संस्कारविपरीत कार्य गर्नुहुन्छ, सरकारमै बसेर सरकारको विरोध गर्छ । जनमतसँग राजनीतिक संस्कार छैन भन्ने आरोप लाग्छ नि ?
— राजनीतिक संस्कार भनेर कसलाई भन्न खोजिएको हो हामी बुझ्न सकिरहेका छैनौं । मिलेर खाउँ, भागवण्डा गरेर भ्रष्टाचार गरौं, जनतामाथि दमन गरौं भन्नेलाई यदि राजनीतिक संस्कार भनिन्छ भने त्यसलाई हामी मान्दैनौं । जनता राज र व्यवस्थालाई बलियो बनाउने संस्कारलाई हामीले राजनीतिक संस्कार मान्छौं । सरकारले जुनसुकै काम गर्दा त्यो जनताको पक्षमा होस् वा नहोस् त्यसमा ताली बजाएर जनमत पार्टीले समर्थन गर्न सक्दैन । नराम्रा कामहरुमा समर्थन नगरेपछि अलिकति बागी जस्तो देखियो । त्यो गर्नु नै थियो भने जनमत पार्टीले किन राजनीति गर्ने ? सरकारले गरेका राम्रा कामहरुको हामीले प्रशंसा गरेकै छौं, सरकारलाई समर्थन दिएकै छौं । तर नराम्रा कामको सुरुदेखि नै हामी विरोध गर्दै आएका छौं । भनेपछि राम्रो कामको जस हामीले सरकारलाई दिन्छौं, नराम्रो कामप्रति हाम्रो खबरदारी रहन्छ । यहीं नै वास्तविक राजनीतिक संस्कार हो ।
० तपाइँहरुले त मधेश सरकारको नेतृत्व नै मागिरहनुभएको छ नि ?
— सरकार बनाउने बेलामा जुन प्रतिबद्धता गरिएको थियो, त्यो अनुसार हामीलो मधेश सरकारको नेतृत्व मागिरहेका छौं । शीर्ष नेतृत्वको बीचमा आलोपालोको सहमति भएको थियो भने त्यो कार्यान्वयन हुनुपर्छ । आफूले बोलेको कुरा लागू नगर्नु राजनीतिक संस्कार मानिदैन । अर्को कुरा जनमत पार्टीले मुख्यमन्त्री किन नपाउने ?
० जनमत पार्टी अब संघ सरकारबाट पनि बाहिरिन्छ ?
— पहिलो कुरा जनमत पार्टीले सत्ता र सरकारभन्दा जनतालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । सरकारभन्दा ठूलो प्राथमिकता भनेको जनता र जनताले भोगिरहेको समस्या हो । जनतासँग हुने अन्याय हामी सहन सक्दैनौं । त्यसका लागि सरकार पनि छोड्नुप¥यो भने छोडौंला । हामी मधेश प्रदेश सरकारबाट बाहिरिएका छौं तर संघ सरकारबाट पनि बाहिरिनुपर्छ भन्ने अवस्था अहिलेसम्म आएको छैन । जहाँ काम गर्ने अनुकूल वातावरण हुन्छ, त्यहाँ बस्ने हो । अर्को कुरा, जसपा त कहिल्यै चाहिरहेको थिएन कि जनमत पार्टी सरकारमा आओस् । जनमत चुनाव लड्नु हुँदैन, जनमत पार्टी नै बन्नु हुँदैन भन्ने सोच जसपाको थियो नि त । मधेश प्रदेशमा सबभन्दा लोकप्रिय मत पाएपछि जसपालाई हानी भएकै हो । जसपाको लठैत र ठेकेदारी प्रवृत्तिमा चोट पुगेकै हो । जसपाले चाहेर वा नचाहेर केही हुँदैन । यदि जनताको पक्षमा हामी काम गर्न सक्दैनौं भने संघीय सरकारबाट पनि बाहिरिन सक्छौं ।
० तपाइँ प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिका सभापति पनि हुनुहुन्छ, अहिलेसम्म के–के गर्नुभयो ?
— यो एउटा संसदीय समिति हो । संसदीय समितिको आफ्नो काम, कर्तव्य, अधिकार सबै कुराहरु रिफाइन हुन्छ । संविधानले नै हामीलाई काम तोकेको छ । यसको काम के हो भने प्रमुखताको हिसावले हेर्दा विधेयकहरुमाथि छलफल गर्ने, त्यसमाथि आफ्नो राय दिनु । अर्को कुरा, सरकारले गरिरहेको अथवा हाम्रो मातहतका मन्त्रालयहरुबाट मन्त्री र सचिवहरुलाई बोलाएर छलफल गराएर निर्देशन दिने हो । तेस्रो काम भनेको अनुगमनको अधिकार पनि संविधानले दिएको छ । त्यो हिसावले समितिको नियमित बैठकहरु पनि चलिरहेको छ । समितिमा आएका निवेदनहरुमाथि हामीले दफावाररुपमा छलफल गरेर सरकारलाई निर्देशन दिइरहेका छौं । यो समितिअन्तर्गत उद्योग, वाणिज्य, श्रम र उपभोक्ता पनि पर्छन् । चारवटा महत्वपूर्ण एजेण्डाहरुसँग जोडिएको यो महत्वपूर्ण समिति हो । हाम्रो समितिअन्तर्गत मुख्यरुपमा दुईवटा मन्त्रालय श्रम र उद्योग पर्छ । भनेपछि यी दुईटा मन्त्रालयले गरिरहेको कामकाज कस्तो भइरहेको छ, त्यसको मूल्यांकन गरेर आवश्यकताअनुसारको निर्देशनहरु दिइरहेका छौं । अर्को कुरा, हाम्रो देशभित्र कस्ता खालका उद्योगहरु छन्, कति सञ्चालित छन्, कति रुग्न अवस्थामा छन्, कति बन्द छन्, कुन प्रकारको समस्या छन्, त्यसबारे स्थलगत अनुगमन गरेर सरकारलाई निर्देशन दिने हो । त्यो हिसावले हामी निर्देशन दिएका छौं ।
तपाईको प्रतिक्रिया