सुनसरी, १ मंसिर । इटहरी उपमहानगरले महिला फुटबल खेलाडी उत्पादनका लागि प्रशिक्षण सुरु गरेको छ ।
उपप्रमुख लक्ष्मी गौतमले मुख्य प्रशिक्षक श्याम मानन्धरलाई बल हस्तान्तरण गरेर प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेकी छन् ।
महिला फुटवल खेलाडी तयार गर्नका लागि उपमहानगरले एकमहिने निशुल्क छात्रा फुटबल प्रशिक्षण सुरु गरेको हो ।
प्रशिक्षण कार्यक्रममा इटहरीका सामुदायिक तथा संस्थागत विद्यालयका चालिस जना छात्राको सहभागिता छ । उनीहरुलाई दुई चरणमा गरि एक महिना प्रशिक्षण दिइने छ ।
उपमहानगरले सहभागी छात्राका लागि जर्सी र जुत्ताको व्यवस्था गरेकोे छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख गौतमले इटहरी उपमहानगरले खेल क्षेत्रमा नयाँ आयाम थप्न लागेको बताइन् ।
तालिम प्राप्त जनशक्तिवाट इटहरी उपमहानगरको महिला फुटबल टिम बनाउने उनले जानकारी दिइन् । देशमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरसम्म पनि खेल्ने खेलाडी उत्पादन गरिनेमा उनले जोड दिइन् ।
खेलक्षेत्रबाटै भविष्य र पहिचान बनाउन उनले सहभागीहरुलाई शुभकामना दिइन् । हरेक क्षेत्रमा महिला अब्बल हुनुपर्ने उपमेयर गौतमको सुझाव छ ।
यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलो पटक अन्तर्विद्यालयस्तरीय छात्रा फुटवल प्रतियोगिता गरिसकेको छ ।
तपाईको प्रतिक्रिया