काठमाडौं, २१ पुस । भारतीय सञ्चारमाध्यमले आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) का लडाकु नेपाल हुँदै भारत छिरेको दाबी गरेका छन् । भारतीय गुप्तचर संस्थाले कम्तिमा पाँच आइसिस लडाकु नेपाल हुँदै भारत छिरेको जानकारी दिएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन् ।
सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया, जी न्युज, एनडिटिभी, द हिन्दु, टाइम्स अफ इन्डिया, इकोनोमिक्स टाइम्सलगायत आइएस लडाकु नेपाल हुँदै भारत पसेको समाचार छापेका छन् । समाचारमा उत्तर प्रदेशको बस्ती जिल्लाका आइजी आसुतोस कुमारले आइएस लडाकु उत्तर प्रदेशमा छिरेको दाबी गरेको उल्लेख छ ।
आइएस लडाकु भारत छिरेको देखिएसँगै उत्तर प्रदेशको नेपाल बोर्डर नजिकका गोरखपुर, सिद्धार्थनगर, खुसीनगर, महाराजगन्जलगायतमा सतर्कता अपनाउन भनिएको छ ।
भारतीय गुप्तचर संस्थाले दुई जनाको पहिचानसमेत गरिसकेको र उनीहरू ख्वाजा मोनुद्दिन र अब्दुर सामद रहेको जी न्युजले उल्लेख गरेको छ । पछिल्लोपटक उनीहरू पश्चिम बंगालको सिलगुढीमा देखिएका थिए ।
सन् २०१७ मा ख्वाजालाई भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीले चेन्नईबाट पक्राउ गरेको थियो । ख्वाजा सिरियाबाट फर्किएसँगै त्यहाँका युवालाई आइएसमा भर्ना गरिरहेको आरोप लागाइएको छ ।
तपाईको प्रतिक्रिया