काठमाडौं, २६ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकारको अधिकार कुण्ठित गर्ने गरी केन्द्र सरकारले ल्याएका विधेयक तथा ऐनहरूको एकमुष्ट खारेजीको लागि आफूहरू सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।
काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले संघीय सरकारले आफू खुशी विभिन्न ऐन, कानून तथा विद्येयकहरू ल्याएकोमा असन्तुष्टि पोखे ।
उनले भने,‘संविधानले दिएको प्रदेशको अधिकार पनि कटौती गरी केन्द्र सरकारले कदम चालिरहेको छ । सागरनाथ वनको सवालमा पनि अहिले प्राधिकरण गठन गरेर वनलाई आफ्नो मातहातमा राख्न खोजिरहेको छ । यो हामीलाई मान्य छैन् ।’
केन्द्र सरकारले ल्याएका संविधानविरोधी विधेयक तथा ऐन र कानूनहरू आफूहरूलाई मान्य नहुने भन्दै केन्द्र सरकारबाट भएका त्रुटीहरू सच्याउनुपर्ने सुझाव दिए ।
उनले भने,‘अहिले पनि केन्द्रका शासकहरूमा हिजोको जस्तै मानसिकता छ । केन्द्र सरकारबाट भएका त्रुटीहरू सच्याउनुपर्छ । हामी प्रदेशको अधिकार खोस्ने विधेयकहरूलाई एकमुष्ट रूपमा खारेजी गर्नका लागि अदालत जान्छौं ।’
मुख्यमन्त्री राउतले आफू कामबाट पूर्ण रूपमा सन्तुष्ट रहेको सुनाउँदै प्रदेशमा काम नै भएन भनेर काठमाडौंबाट टीका टिप्पणी गर्न नहुने जिकिर गरे ।
राउतले संविधान संशोधन हुनेमा आफूहरू आशावादी रहेको प्रतिक्रिया दिए । ‘यो संविधानलाई सबैको अपनत्व भएको बनाउनुपर्छ’, राउतले भने,‘तर, अहिले संविधान सबैको हुन सकेको छैन् । तर, समाजपादी पार्टी संविधान संशोधन गराउने मुख्य उद्देश्यसहित सरकारमा सहभागी भएको हो ।’
तपाईको प्रतिक्रिया