जनकपुरधाम, २८ पुस । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनको तयारी अघि बढेको छ । सो रेलमार्गमा सञ्चालनका लागि खरीद गरिएको रेल आगामी महिनासम्ममा आइपुग्ने भएको छ । रेलमार्ग केही समय पहिले नै निर्माण सम्पन्न भइसकेको र सेट आइपुगेपछि रेल सञ्चालन हुने रेल विभागले जनाएको छ ।
सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद प्रक्रिया अघि बढाएको छ । सो रेल सेट आइपुगेको एक महिनापछि सञ्चालन गर्न सकिने विभागका महानिर्देशक बलराम मिश्रले बताए । दुईवटा सेट खरीद गर्न लागिएकोमा पहिलो सेट आइपुगेको केही समयपछि अर्को आइपुग्ने उनको भनाइ छ । उनले भने, ‘सेट आइपछि नै सञ्चालनको तयारी हुनेछ ।’
रेलमार्ग निर्माण सम्पन्न भए पनि गतवर्ष वर्षाको समयमा आएको बाढीले कमला नदीको तटबन्ध भत्काउँदा झण्डै एक सय मिटर रेलमार्ग बगाएको थियो । भारतीय कम्पनीले निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरिनसकेकाले क्षति पुगेको स्थानमा समेत सोही ठेकेदार कम्पनीले काम गर्ने विभागका प्रवक्ता तथा वरिष्ठ डिभिजनल इञ्जिनीयर अमन चित्रकारले बताए ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्गको निर्माण भइरहेको हो । सरकारले गतवर्ष भारत सरकारसँग दुई वटा रेल सेट खरीद प्रक्रिया अघि बढाएको थियो । दुई सरकारका बीच (जि टु जि) रेल खरीद भएको प्रवक्ता चित्रकारले बताए । डिजेल इलेक्ट्रीक मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच वटा डिब्बा रहने विभागका प्रवक्ता चित्रकारले बताए ।
उनका अनुसार सरकारले अहिले दुई वटा सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए ।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको प्रवक्ता चित्रकारले बताए । रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उनले बताए । यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।
जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एकडेढ वर्ष पछिबाट काम शुरु भएको थियो ।
भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुन लागेको चित्रकारले जानकारी दिनुभयो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनी बाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुनसकेको छैन ।
भारत सरकारसँगको सम्झौतानुसार नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । दश किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ ।
सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन् । यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो ।
तपाईको प्रतिक्रिया