काठमाडौं, २९ कार्तिक । नेपालमा भूकम्पपश्चातको पुनर्निर्माणमा भारत सरकारको प्रयास स्वरुप गोरखा जिल्लाका १६ निर्वाचित स्थानीय सरकारका प्रतिनिधिहरुका लागि युएनडीपीले भारतमा परिचयात्मक भ्रमणको आयोजना गरेको छ ।
“भुज भूकम्प पुनर्निर्माण अनुभव” बाट सिक्ने हेतु पाँच दिवसीय सो प्रतिनिधिहरुका लागि युएनडीपीको साझेदारको रुपमा रहेको ओडीआरसीले गुजरात र दिल्लीमा भ्रमण समन्वय गरेको हो ।
दुई नगरपालिकाका मेयर/उपमेयर तथा ६ गाउँपालिकाका वडाअध्यक्ष÷उपाध्यक्षहरु उक्त भ्रमणमा सहभागी भएका छन् ।
भारत भ्रमणका क्रममा भूजण्ड गुजरात सरकारका कार्यकारीहरुसँग प्रतिनिधिहरुले भेटघाट गर्नुका साथै भुजभूकम्प पश्चात अपनाइएका स्वनिर्माणका अभ्यासहरुको अवलोकन गर्नेछन् ।
दिल्लीमा प्रतिनिधिहरुले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणसँग अन्तरक्रिया गरी भारतको विपद् तयारी, पुनःस्थापना तथा अनुभवहरु बारे विस्तृत जानकारी लिनेछन् ।
गोरखा जिल्लाको २६,९१२ घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ ।
नेपाल सरकारको स्वनिर्माणको अवधारणलाई मूर्त रुप दिन युएनडीपीले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।
विपद् व्यवस्थापन, पुनःस्थापना तथा प्रतिरोध सम्बन्धमा समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्घि गर्न मार्ग प्रशस्त गर्नेछ ।
तपाईको प्रतिक्रिया