धनुषा, ४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले धनुषा मिथिला नगरपालिका श्रीपुरका स्थानीय युवा दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर्न आग्रह गरेका छन् ।
मरणासन्न हुने गरि कुटपिट पछि ट्रिपरले किचेर हत्या गरिएको भनिएका महतोको परिवारलाई समवेदना दिन निवास पुगेका जोशीले उनलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने बताए ।
टिपरले किचेर हत्या गरिएका नदीजन्य पदार्थको अवैध उत्खननविरुद्धका अभियन्ता महतोलाई वातावरण अभियन्ता तथा पर्यावरण सहिद घोषणा र हत्यारालाई हदैसम्म कारबाहीका लागि कांग्रेसले पहल गर्नेमा ढुक्क रहन परिवारलाई उनले आश्वास्त पारे ।
उनले दिलिपको उच्च प्रशंसा गर्दै सबैले दिलिपको आत्माको शान्तिका निम्ति चुरे संरक्षणमा लाग्न सुझाएका थिए । औरही खोलाबाट अवैध गिट्टी बालुवा उत्खनन गर्ने माफियाहरुले रडले घोचेर घाइते बनाई खोलामा लडाएपछि टिपरले किचेर हत्या गरेका थिए ।
उनी २ वर्षदेखि वातावरण संरक्षण अभियान सञ्चालन गरेर नदीहरुबाट हुने अवैध उत्खननलाई निरुत्साहित गर्ने अभियान सञ्चालन गर्दै आएका थिए । प्रहरीले हत्या आरोप तथा अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया