विराटनगर, २८ पुस । विराटनगर महानगरपालिकाले पुस २७ गतेदेखि विद्यालयमा दिवा खाजा खाने व्यवस्थाको सुरुवात गरेको छ ।
महानगरपालिकाले दोश्रो चौमासिक अन्तर्गत खाजा खाने टिफिनसहित दैनिक २० रुपैयाँ प्रति विद्यार्थी उपलब्ध गराउन सुरु गरेको छ । सामुदायिक विद्यालयमा दिवा खाजा उद्घाटन कार्यक्रममा महानगरका मेयर भीम पराजुलीले विद्यार्थीलाई यो प्रयोगले विद्यालयमा टिकाउनेमा मद्दत गर्ने आशा रहेको बताएका छन् ।
सरकारी विद्यालयको स्तरोन्नति गर्न महानगर प्रतिवद्ध रहेको बताउँदै मेयर पराजुलीले विपन्न, गरिब, पिछडावर्गका बालबालिकालाई शिक्षाप्रति मोह जगाउन खाजा अभियानले सकारात्मक भूमिका खेल्नेमा आशावादी रहेको बताए ।
विद्यालय व्यवस्थापनको पक्षबाट यस कार्यक्रमलाई सफल रुपमा कार्यान्वयन गर्न सकेको खण्डमा शिक्षातर्फ महानगरको बजेट थप बढ्ने उनको भनाइ थियो । महानगरले दैनिक रकम उपलब्ध गराउने सन्दर्भमा विद्यालयमा विद्यार्थीको दैनिक हाजिरी हुनुपर्ने प्रावधान राखेको छ ।
महानगरले यस कार्यक्रमले राम्रो गति लिए बजेट बढाउँदै अन्य विद्यालयमा समेत अघि बढ्न सक्ने जनाएको छ । महानगरका १९ वडामा कुल ७६ वटा विद्यालय रहेकोमा ५६ वटा सरकारी विद्यालय र २० वटा गुरुकुल, मदरसा रहेका छन् ।
तपाईको प्रतिक्रिया