नेपाली सेनाले बारामा पाँच लाख वृक्षरोपण गर्ने

समाचार

1/12/2020

बारा, २७ पुस । निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा काटिएका रुखको क्षतिपूर्तिबापत नेपाली सेनाले वृक्षरोपण गर्ने तयारी थालेको छ ।

त्यसका लागि नेपाली सेनाले खाली जमिन खोजी गरिरहेको छ । द्रुतमार्गको ट्रयाक खोल्ने क्रममा ६ हजार ७०० र पछिल्लो समय १७ हजार ९४९ वटा रुख काटिएको छ ।

सरकारसँगको सम्झौताअनुसार द्रुतमार्ग निर्माणका क्रममा क्षति हुने एउटा रुखको सट्टा २५ वटाका दरले १९ हजार ९४९ वटा रुख बापत सेनाले करिब पाँच लाख वृक्षरोपण गर्नुपर्नेछ । जसका लागि ३१५ हेक्टर खाली जमिन आवश्यक पर्छ ।

ललितपुर, मकवानपुर र बाराको वन क्षेत्रमा काटिएका र काटिने क्रममा रहेका रुख बापतको वृक्षरोपण सम्बन्धित जिल्लामै गरिनुपर्ने सम्झौतामा उल्लेख छ । तर ललितपुर र मकवानपुरमा वृक्षरोपणका लागि खाली जमिन उपलब्ध नभएपछि बारामै पाँच लाख विरुवा रोप्ने तयारी सेनाले गरेको छ ।

मकवानपुरको राजदमार र बाराको निजगढमा ग्रिन हाउससहितको नर्सरी स्थापना गरी एक लाख ८० हजार विरुवा उत्पादन भइसकेको छ ।

केही संख्यामा फलफूलको विरुवा पनि रोप्ने योजना गरेको छ । पहिलो चरणमा नेपाली सेनाले निजगढस्थित नागमणि, कछडिया, जनहित र बाघभैरव सामुदायिक वन समूहको करिब २०० हेक्टर वन क्षेत्रमा वृक्षरोपण गर्न लागेको छ ।

नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् ।

सेनाले सुरुङ र पुल निर्माणका लागि पुनः करिब दुई हजार रुख कटान हुने अनुमान गरेको छ । करिब ७७ किलोमिटर दूरीको द्रुतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ काटिएको द्रुतमार्ग आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए ।

द्रुतमार्ग निर्माणका क्रममा काटिएका रूखको व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको सेनाले बताएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ