काठमाडौं, २७ पुस । जनकपुरकी पत्रकार उमा सिंह हत्याको ११ वर्ष पूरा भएको छ । वि.सं. २०६५ साल पुष २७ गते साँझ करिब साढे ७ बजे जनकपुरको रजौलस्थित आफ्नै डेरामा पत्रकार सिंहको धारिलो हतियार प्रहार गरि वीभत्स तरिकाले हत्या गरिएको थियो ।
लोडसेडिङका बेला खाना पकाइरहेको समयमा १०\१५ जनाको नाकावधारी समूहले सिरहाको मिर्चैया घर भएकी सिंहको शरीरका कैयौं भागमा खुकुरी प्रहार गरेका थिए । रगतले भिजेकी उनलाई स्थानीयले केयर मेडिकल अस्पताल पु«याए पनि अत्यधिक रगत बगेकाले उनलाई चिकित्सकले पनि बचाउन सकेनन् ।
जनकपुरस्थित रेडियो टुडे र जनकपुर टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंह महिलाहरु घरमै र घुम्टोभित्र बस्नुपर्छ भन्ने पुरातन मान्यतालाई चुनौति दिँदै पत्रकारितामा सक्रीय थिइन् ।
त्यसबेला जनकपुरमा महिला पत्रकारहरूको संख्या न्यून थियो । तर, सिंह त्यसैबेला अब्बल पत्रकारकारका रूपमा परिचित भइसकेकी थिइन् । सिंहको जुझारु र सक्रिय पत्रकारिता देखेर आफूहरु पनि त्यसैको अनुसरण गर्दै अगाडी बढेको जनकपुरका महिला पत्रकारहरु बताउँछिन् ।
सिंह हत्याको करिब ७ वर्षपश्चात लामो अध्ययन र अनुसन्धानपछि मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेका थियो । सशस्त्र समूहमा लागेका यादव पक्राउ परेलगतै सिंह हत्यामा उनकी आफ्नै भाउजु ललिता सिंह, भतिजा अभिषेक सिंह लगायतको नाम आयो ।
वि.सं. २०६८ जेठ २६ गते जिल्ला अदालतले स्वामी भनिने उमेश यादव, उमाकी भाउजु ललिता सिंह, नेमलाल पासवानलाई जन्म कैदको फैसला सुनायो । फैसलापछि उनीहरू अहिले जलेश्वर कारागारमा कैदी जीवन विताइरहेका छन् । तर उमाकी भाउजु ललिता देवी भने गत वर्ष गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आम माफी पाइ छुटिसकेकी छिन् । सिंह हत्याकाण्डमा थप व्यक्तिहरुको नाम मुछिएको छ भने केही अहिले पनि अनुसन्धानकै क्रममा रहेका छन् ।
उमाका बुबा रंजित र दाइ संजय गाउँमै होटल सञ्चालन गर्थे । त्यही बेला २०६३ भदौ १५ मा उनीहरुलाई तत्कालीन माओवादीले अपहरण गरी बेपत्ता पारेको थियो । उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ। दुवैको माओवादीले हत्या गरिसकेको बताइएको छ ।
सिंहको हत्या हुनु केही समयपहिले मात्रै उनको विहेको कुरा चलेको थियो । उमाकी आमा सुशीला देवी सिंहले केही जग्गा उमाकै नाममा गरिदिने सोचमा थिइन् तर भाउजु ललितालाई सो कुरा मन परेको थिएन । जसका कारण घरमा पटक पटक विवाद हुँदै आएको थियो ।
बाबु रञ्जित सिंहले केही जग्गा उमाको नाममा पास गरिसकेका थिए । जग्गा आफ्नो नाममा एकलौटी गर्न भाउजु ललिताले आफ्नो नजिक भएका तत्कालीन तराई एकता परिषदका केन्द्रीय अध्यक्ष स्वामीजी भन्ने उमेश यादव र परिषदकै सदस्य नेमलाल पासवान तथा अन्य व्यक्तिको सहयोगमा हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
यसैबीच पत्रकार सिंहको सम्झनामा आज काठमाडौंसहित मधेशका विभिन्न भागमा स्मृतिसभाको आयोजना गरिदैछ ।
तपाईको प्रतिक्रिया