जनकपुरधाम, २६ पुस । मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तहका प्रमुख उपप्रमुख रहने प्रदेश समन्वय परिषदको तेस्रो बैठक शनिबारदेखि महोत्तरीको बर्दिवासमा शुरु भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षता एवं संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा शुरु भएको दुई दिवसीय बैठकको पहिलो दिन प्रदेशको समृद्धिको आधार तैयार गर्ने गरि वृहत छलफल भएको छ ।
बैठकको उद्घाटन सत्रमा अर्थमन्त्री डा. खतिवडाले तीनै तहको समवन्य र सहकार्य विना समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताउँदै त्यसका लागि समन्वय परिषदको बैठक कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् ।
उनले संघ सरकारले प्रदेश नं.२को विकास निर्माणको लागि ल्याएको योजनाहरु बारे जानकारी गराउँदै सार्वजनिक खरिद ऐन जस्ता कुराहरुमा सतर्कता अपनाउन स्थानीय तहका प्रमुखहरुलाई आग्रह समेत गरे ।
कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेलले स्थानीय तहहरु योजना विना नै विकास निर्माणको कामहरु अघि बढाई रहेको प्रति चिन्ता व्यक्त त्यस्ता विकास निर्माणको काम बालुवामा पानि खन्याए सरह हुने तर्फ सचेत समेत गराए ।
उनले स्थानीय तहहरुलाई आवधिक र दीर्घकालिन योजना बनाउन सुझाव दिँदै त्यसमा स्थानीय तहलाई प्राविधिक सहयोग गर्न योजना आयोग तैयार रहेको प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले प्रदेश २मा भ्रष्टाचारका थुप्रै मुद्दाहरु दर्ता भई रहेको जनाउनु हुँदै अख्तियारमा जानु पर्ने अवस्थाको अन्त्य गर्न आग्रह समेत गरे ।
उनले अहिलेको खर्चिलो निर्वाचन प्रणालीले सुशासन कायम गर्न चुनौती दिई रहेको उल्लेख गर्नु हुँदै निर्वाचन प्रणालीबारे सोच्ने बेला आइ सकेको समेत उल्लेख गरे ।
कार्यक्रमको अध्यक्षता गर्नु भएको मुख्यमन्त्री राउतले तीनै तहको समन्वय विना समृद्धि सम्भव नरहेको उल्लेख गरे । भ्रष्टाचारको मुद्दामा प्रदेश नं. २ बदनाम हुँदै गएको प्रति सचेत गराउँदै उनले प्रदेशको सुन्दर भविष्यको लागि प्रदेशमा सुशासन कायम गर्नु आवश्यक रहेको बताए ।
तपाईको प्रतिक्रिया