भारतको बंगलुरुमा भ्रमण वर्षको प्रवद्र्धन

समाचार

12/25/2019

काठमाडौं, ९ पुस । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष अभियानमा सहभागी हुन दक्षिण भारतका सरोकारलाई आह्वान गरेका छन् ।

भारतको कर्नाटक राज्यको राजधानी बैंगलुरुमा आयोजित ‘नेपाल भ्रमण वर्ष २०२०’ कन्क्लेभ कार्यक्रममा भ्रमण वर्ष अभियानको औपचारिक घोषणा गर्दै राजदूत आचार्यले दक्षिण भारतका पर्यटकलाई नेपाल भित्र्याउन सरोकारबालासँग आग्रह गरेका हुन् ।

भारतस्थित नेपाली दूतावास, कर्नाटक स्थानीय सरकारका प्रतिनिधि तथा स्थानीय ट्राभल एन्ड टुर अपरेटर्स तथा प्रवासी नेपालीको सहभागितासहित दोस्रो सत्रमा सम्पन्न राउन्ड टेबल छलफल कार्यक्रममा दक्षिण भारतमा भ्रमण वर्ष प्रवर्द्धनका दृष्टिकोणमा छलफल भएको थियोे ।

कार्यक्रममा नेपालको प्रख्यात तथा नयाँ पर्यटकीय गन्तव्यबारे जानकारी गराइएको थियो । नेपाल सरकारको नीति नियमबारे दूतावासका अधिकारीले सरोकारबालालाई जानकारी गराएका थिए ।

नेपाली दूतावासको आयोजना तथा पीएचडी चेम्बर अफ कमर्सको सहकार्यमा सम्पन्न कन्क्लेभमा नेपाली दूतावासकी इकोनोमिक मिनिस्टर निता पोखरेल, आर्थिक काउन्सिलर तीर्थ पौडेल, कर्नाटक सरकारको पर्यटन विभागका निर्देशक केएन रमेश, कर्नाटक उद्योग वाणिज्य संघका अध्यक्ष सीआर जनार्दन, बैंगलोर उद्योग परिसंघका अध्यक्ष देवेश अग्रवाल, भारतीय टुर अपरेटर्सको कर्नाटक च्याप्टरका अध्यक्ष एस महालिंगैया, अन्तर्रा्ष्ट्रिय मल्टी मोडल ट्रान्सपोर्टका कार्यकारी निर्देशक विकास रौनियारलगायत प्रवासी नेपाली सहभागी थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ