माघे संक्रान्ती तथा माघीमा प्रधानमन्त्रीद्वारा शुभकामना

समाचार

1/14/2020

काठमाडौं, १ माघ । नेपालका सबैजसो भू–भागमा मनाइने माघे संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा प्रधानमन्त्री केपी शर्माले शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री सचिवालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धमा प्रवेश गर्ने समयमा हरेक वर्षको माघ १ गते देशका विभिन्न भागमा विभिन्न तरिकाले मनाइने यस पर्वका अवसरमा सुस्वास्थ्य सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमयशुभकामना ब्यक्त गर्दछु ।’

‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश हो । यहाँ प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् । यस्तो विविधतायुक्त साझा पूँजीलाई हामीले संरक्षण गर्दै आएका छौं ।’ शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्रीले संवैधानिक व्यवस्था तथा राज्यको नीतिद्वारा नै हाम्रा सांस्कृतिक विविधताको रक्षा गरिरहेको बताएका छन् । देशका हरेक जातिले मनाउने मौलिक पर्वहरु यहाँको प्राचीन संस्कृतिसँग मात्र होइन प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन् । यी पर्वहरुले हामीलाई परस्पर सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेको प्रधानमन्त्रीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

माघे संक्रान्तिमा मासको दाल र चामल मिसाइएको खिचडी, घिउ–चाकु–तिलको लड्डु, सागपात, तरुल खाने चलन छ।जाडो याममा शरीरलाई तातो राख्ने पोषिला परिकार खाने तथा नदी किनार तथा त्रिवेणीहरुमा स्नान गर्ने यस पर्वको विशेषता शरीर विज्ञानका हिसावले पनि उपयोगी छ ।

माघीलाई थारू जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । पुस मसान्तमा घरघरमा माछामासु र ढिकरी (पिठोको एक परिकार)खाइ रातभर मघौटा नाच नाच्ने चलन छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ