विपन्नहरुका लागि बनाउन थालिएको घर वर्षौसम्म अधुरै

समाचार

1/13/2020

महोत्तरी, २९ पुस । महोत्तरी जिल्लाको विभिन्न गाउँमा जनता आवास कार्यक्रममार्फत विपन्नहरुका लागि बनाउन थालिएको घर वर्षौसम्म अधुरै रहेको समस्या समाधान गर्न जलेश्वरमा जिल्लास्तरीय उच्च सरोकारवालाहरुको बैठक बसेको छ ।

जिल्ला समन्वय समितिमा बसेको बैठकमा विपन्नहरुको लागि विनियोजन भएको घरहरुको निर्माण कार्य अविलम्ब सम्पन्न गर्न छलफल भएको हो । छलफलमा सामाजिक राज्यमन्त्री अभिराम शर्मा, जिल्लाका प्रदेश सांसदहरु सुरिता साह, बबिता चौधरी, रानी शर्मासहितको उपस्थिति थियो ।

आर्थिक वर्ष २०७३/७४ बाट थालनी भएको जनता आवास कार्यक्रम अन्तर्गत प्रत्येक बर्ष एक हजार विपन्न परिवारलाई घर दिने लक्ष्य राखिएको थियो ।

प्रारम्भिक चरणमै शुरु गरिएको घरहरुको निर्माण कार्य अझैसम्म सम्पन्न नहुँदा विपन्न ती समूदायको बिचल्ली छ । घरको काम आधा अधूरा रहेको कारण त्रिपाल टाँगेर रात विताउन बाध्य हुनुपरेको भटौलिया सदाबस्तीका पीडितहरुले बताए ।

स्थानीय अधिकारकर्मी सुरेश दासले जनता आवास कार्यक्रमको लागि एकडारा गाउँपालिकामा सोधपुछ गर्दा केही प्रगति नभएको र माथिबाट त्यस्तो कुनै कार्यक्रम नरहेको जवाफ पाएको बताए ।

छलफलमा जनता आवास कार्यक्रम सम्पन्न गर्न टोल टोलमा गठन भएका समितिका प्रतिनिधिहरुको समेत उपस्थिती थियो। प्रदेश सांसद रानी शर्माले जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै प्रदेशस्तरीय भौतिक पूर्वाधार विकास मन्त्रालयले काम अगाडि बढाउने विषयमा छलफल भएको बताइन् ।

प्रदेशस्तरीय मन्त्रालय गठन अगावै यो कायक्रम सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय जनकपुरले हेर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ