रौतहट, ६ पुस । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले बन्द रहेको रौतहटको श्रीराम सुगर मिल जसरी भएपनि सञ्चालन गर्नैपर्ने बताएका छन् ।
किसानको करोडौ रकम भुक्तानी गर्न बक्यौता राखेर उद्योगपति हितेश गोल्छाले विभिन्न बहाना झिकेर श्रीराम सुगर मिल यस वर्ष सञ्चालन गर्न अहिलेसम्म कुनै चासो नदेखाएको प्रति कृषि राज्य मन्त्री यादवले काडा आपत्ति जनाएका छन् ।
उखु उत्पादक संघ रौतहटका पुर्व अध्यक्ष जयनाथ यादवले श्रीराम सुगर मिल्स गरुडाको प्रांगनमा आयोजना गरेको किसान जनजागरण अभियान अन्तर्गत मिल्स बचाउ कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै किसान र उद्योगी बिच रहेको समस्या समाधान गर्नका लागि गठित समितिका संयोजक समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले उद्योगीलाई जसरी भएपनि किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्ने र मिल्स पनि सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
श्रीराम सुगर मिल्स विगत पाँच वर्षको गरी किसानको ४२ करोड रुपैया भुक्तानी गर्न बाँकी राखेको र यस वर्ष अहिलेसम्म पनि मिल सञ्चालन गर्न कुनै चासो नलिएको देखिएको छ ।
मिल्स सञ्चालनको लागि आवश्यक सहयोग गर्न उद्योगीलाई प्रदेश सरकार तयार रहेको बताउँदै मन्त्री यादवले कुनै पनि हालतमा मिल्स बन्द गर्न नहुने बताए । प्रदेश २ का अधिकांश उद्योगीहरु किसानको बक्यौता रकम भुक्तान नगरी त्यस रकमबाट अन्य उद्योग धन्दा खोलेर विजनस गर्ने गरेको र किसानलाई मिल्स घाटामा गयो भन्ने नाटक गरेर वर्षौंसम्म भुक्तानी नदिएर किसानलाई ठग्दै आएको मन्त्री यादवले बताए ।
एका तर्फ उद्योगीले मिल्स घाटामा गयो भुक्तानी कहाँबाट गरौ भन्ने गरेको र अर्कोतिर प्रत्येक वर्ष उद्योगीहरुले देश विदेशमा थप फैक्ट्री खोल्ने तथा अन्य उद्योगहरुमा लगानी गर्ने गरेको उनले बताए ।
कुनै पनि बहानामा उद्योगीले अब उद्योग बन्द गर्न नपाईने बताउँदै कृषि राज्यमन्त्री यादवले यथाशीघ्र मिल सञ्चालन र किसानको बाँकी रहेको रकम भुक्तानी नगरे श्रीराम सुगर मिल्सका संचालक गोल्छालाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
मिल सञ्चालन र किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्ने माग राखेर उखु उत्पादक किसान संघका पुर्व अध्यक्ष जयनाथ यादवको नेतृत्वमा किसानहरु आन्दोलन शुरु गरेका छन् ।
तपाईको प्रतिक्रिया