काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले छठ महापर्वको मुख्य दिन सार्वजनिक बिदा घोषणा गर्न सरकारसँग माग गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र महतोले छठको सांस्कृतिक महत्त्वलाई सम्मान गर्दै मुख्य दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेका हुन् ।
छठ महापर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै महतोले छठ तराई–मधेशको मौलिक सांस्कृतिक पहिचान र लोकआस्थासँग जोडिएको पर्व भए पनि यो समग्र नेपालको साझा सांस्कृतिक धरोहर भएको बताएका छन् ।
उनले सूर्य र प्रकृतिप्रतिको कृतज्ञता, पर्यावरण संरक्षण, पारिवारिक सुख–शान्ति, सामाजिक सद्भाव र सामुदायिक एकताको सन्देश छठ पर्वले दिने उल्लेख गरेका छन् ।
छठ पर्वले आस्था र विश्वाससँगै प्रकृति तथा मानवबीचको सहअस्तित्व र पारस्परिक निर्भरतालाई समेत स्मरण गराउने उनको भनाइ छ ।
महतोले छठका घाटमा समाजका विभिन्न तप्काका मानिस एकै ठाउँमा उभिएर सूर्यलाई अर्घ्य अर्पण गर्नु सामाजिक समरसताको अनुपम उदाहरण भएको बताएका छन् । छठमा व्रती र प्रकृतिबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुने भएकाले यसको सांस्कृतिक तथा सामाजिक महत्त्व विशेष रहेको उनले उल्लेख गरेका छन् ।
छठ महापर्वको मुख्य दिन कार्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिने भएकाले उक्त दिन सार्वजनिक बिदा घोषणा गर्न उनले सरकारसँग आग्रह गरेका छन् । यसले छठव्रतालु तथा श्रद्धालुलाई आफ्नो मौलिक सांस्कृतिक परम्परा सहज रूपमा सम्पन्न गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
विविध संस्कृतिको सम्मान, सबै पहिचानको समान मान्यता र सहअस्तित्वमा आधारित राष्ट्रिय एकताले नै मुलुकलाई बलियो बनाउने उल्लेख गर्दै महतोले छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, आरोग्यता, समृद्धि र सद्भाव ल्याओस् भन्ने कामना गरेका छन् ।
उनले सम्पूर्ण छठव्रतालु, श्रद्धालु तथा नेपाली जनसमुदायमा छठ महापर्वको शुभकामनासमेत व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया