नेपालमा पहिलो आर्टिफिसियल इन्टेलिजेन्स(एआई) समाचारवाचिकाको नाम के हुने ?

विचार/दृष्टिकोण

राकेशप्रसाद चौधरी

परम्परागत तरीकाले टेलिभिजन, युट्युव, एप्सलगायतका माध्यममार्फत संचालन गरिने समाचार वा अन्य कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स(एआई) अथवा भर्चुअल वाचिका÷वाचकलाई स्थान दिन थालिएपछि यसको चर्चा अत्याधिक छ ।

नेपालमा यसको शुरूवात नभएपनि यसका लागि प्रयास भइरहेकोमा आशा गर्न सकिन्छ । चीनको पिपुल्स डेलीमा रेन (Ren), भारतको इन्डिया टुडे अन्तर्गतको आजतकमा सना (Sana), ओडिसा टेलिभिजनमा लिसा (Lisa), कुवेतको कुवेत न्यूजमा फेधा (Fedha) ले समाचार पढेको देखिन्छ । यसबाहेक पनि धेरै संचारमाध्यममा नाम नै नराखेर भर्चुअल वाचकहरू प्रयोग गरिएका छन् ।

माइकोसफ्ट कम्पनीले सन् २०१४ मा समाचार रिपोटिङ्ग र प्रस्तुतीकरणमा प्रयोग गर्न एआई संचालित सिआइस (Xiaoice) च्याटबोट संचालनमा ल्याएपछि यस विषयमा थप गतिविधि हुन थालेको हो । यसमा युवतीको भर्चुअल भिडियो प्रयोग भएको थियो । त्यसपछि रोबोटिक समाचारवाचकको प्रयोग हुन थाल्यो । चीनको सिन्ह्वा समाचार एजेन्सीले सन् २०१८ मा रोबोटिक अंग्रेजी एआई वाचक, जसलाई विश्वको पहिलो समाचारवाचक भनेर दावी गरेको थियो । यसमा एउटा पुरुषको भुर्चअल अनुहार प्रयोग भएको थियो ।

त्यसपछि सोही एजेन्सीले विश्वको पहिलो रोबोटिक एआई समाचारवाचिका सिन (Xin) दर्शक सामु प्रस्तुत गर्न सफल देखिएको थियो । जापानको एनएचकेबाट रोबोटिक एआई समाचारवाचिका एरिका (Erica) लाई अगाडि सारिएको थियो ।

जानकारहरूका अनुसार रोबोटिक एआई समाचारवाचक÷वाचिका भन्दा नेपालमा भर्चुअल एआई समाचारवाचक/वाचिकाले सफलता पाउन सक्छन् । सन् २०१७ को अक्टोबरमा सोफिया रोबोटले रियादको एक कार्यक्रममा पत्रकारहरूलाई अन्तर्वार्ता दिएकी थिइन् । त्यो अन्तर्वार्तालाई विश्वभरका संचारमाध्यमले स्थान दिए । यस अन्तर्वार्ताकै कारण सोफियालाई साउदी अरबले नागरिकता नै प्रदान गर्यो ।

अहिले संचारमाध्यमहरू रोबोटिकभन्दा भर्चुअल एआई समाचारवाचक÷वाचिका, प्रस्तोतालाई प्राथमिकतामा राखेका छन् । नेपाली दर्शकले समेत कुनै टेलिभिजन, युट्युव वा एप्समार्फत यस्तो वाचक÷वाचिका हेर्ने रहर पालेकै हुनुपर्छ । एआई समाचारवाचिकाको नाम के होला, साडी वा अन्य पहिरनमा आउला, नेपाली वा अन्य मातृभाषामा समाचारवाचन गर्ला? यस्तो कौतुहलता वा जान्ने इच्छा हुनु स्वभाविक हो । खुल्ला रूपमा यस विषयमा जानकारी नआएकोले कुन समाचार संस्थाले बाजी मार्ला भन्न ग्राहो छ । नेपालको पहिलो एआई समाचारवाचिका साडी लगाएको हुनेछ भन्ने आशा गर्न सकिन्छ ।

भारतको ओडिसा राज्यको ओडिसा टेलिभिजनले एआई समाचारवाचिका लिसालाई साडीमै प्रस्तुत गरेकै कारण धेरै चर्चा भएको छ । स्थानीय भाषाहरूमा पनि वाचन गर्न सकिने प्रविधिको प्रयोग भएको छ । सोफिया रोबोटलाई साउदी अरबले नागरिकता प्रदान गरेजस्तै चीन, भारत, कुवेत, जपानलगायतको देशले समाचारवाचक रोबोट एआई अथवा चलनचलतीमा रहेको भर्चुअल एआईलाई नागरिकता दिने, नदिने विषय त्यति चर्चामा छैन ।

आर्टिभिसियल इन्टेलिजेन्स अथवा कृत्रिम बुद्धिमता(एआई) समाचारवाचक÷वाचिका संचालकलाई कसरी पत्रकारिताको आचारसंहिताको ल्याउने भन्ने विषयमा अहिले नै कानुन निर्माणतर्फ लाग्नुपर्ने । हुनतः यस विषयमा बहसहरू शुरू भइसकेका छन् । यी बहससँगै मातृभाषा पत्रकारिता गर्नेलाई भर्चुअल समाचारवाचक÷वाचिकाको तयारीका लागि तत्काल अनुदान दिनसके अन्यसँग प्रतिस्पर्धा गर्न सजिलो हुन्छ ।

त्यस्ता समाचारवाचक/वाचिकालाई कस्तो नामले सम्बोधन गर्दा राम्रो सुनिन्छ भन्नेतर्फ पनि ध्यान जान आवश्यक छ । अहिले संचारमाध्यमले प्रयोगमा ल्याएको चलनचलतीका पश्चिमा नामहरू राम्रो नभएको भनेर भारतीय दर्शकहरूले टिप्पणी गरिरहेका छन् । नेपालमा पनि पश्चिमा नामभन्दा मौलिक नाम नै उचित हुने सल्लाह सुझाव आउन थालेको छ । के अब आउने भर्चुअल एआई समाचारवाचक/वाचिकाको नाम विभिन्न कालखण्डमा योगदान पुर्याएकी महिलाको नाममा राखिन्छ?

यस प्रश्नको जवाफ मसँग पनि छैन । तथापि प्राचिन मिथिलाकी राजकुमारी राजा सिरध्वज जनककी दूलारी सीताको नामबाट पहिलो भर्चुअल एआई समाचारवाचिकाको नामाकरण गर्दा उचित हुने देखिन्छ । हुनतः सीतालाई १०८ वटा नामले सम्बोधन गरिन्छ ।

सीताको बारेमा अध्ययन गरेका दिपेन्द्र बहादुर सिंहका अनुसार ती नामहरू यस प्रकार छन् । १.सीरध्वजसुता २. सीता ३. स्वाश्रिताभीष्टदायिनि ४. सहजानंदिनि ५.स्तव्या ६.सर्वभूताशयस्थिता ७. हलादिनि ८. क्षेमदा ९. क्षांति १०. षडद्वाक्ष ११. श्रीनिधि १२.श्रीसमाराध्या १३. श्रियः श्रीः १४.श्रीमदर्चिता १५.शरण्या १६. वेदनीः श्वासा १७. वैदेहि १८. विबुधेश्वरी १९. लोकोत्त– राम्बा २०. लोकादि २१. रघुनंदनवल्लभा २२. रम्यरम्यनिधि २३. रामा २४. योगीश्वरप्रियात्मवा २५. यज्ञस्वरूपा २६.यज्ञेशी २७. योगिनां परमा गति २८. मृदुस्वभावा २९. मृदुला ३०. मैथिली ३१.मधुराकृति ३२. मनोरूपा ३३.महेज्येज्या ३४.महासौभाग्यदायिनि ३५. भूमिजा ३६. बुधमृग्याङघ्रिकमला ३७.बोधवरिधि ३८. फलस्वरूपा तपसाम ३९. फणीन्द्रावर्ण्यवैभवा ४०. नमस्या ४१. प्रियदृष्टि ४२.धरारत्नम ४३.धरासुता ४४. दिव्यात्मा ४५. दीप्तमहिमा ४६. तत्वात्मा ४७. जनकात्मजा ४८. जगदिशरपरप्रेष्ठा ४९. ज्ञानिनां परमायनम ५०. जगन्मगंलमांगल्य ५१. जरामृत्युभयातिमा ५२.चन्द्रकलासुखासादया ५३.चितानंदस्वरूपिणि ५४.चतुरात्मा ५५.चतुर्ब्यूहा ५६.चन्द्रबिम्बापमानना ५७.घनश्यामात्मनिलया ५८.गोप्त्री ५९.गुप्ता ६०.गुहेशया ६१.गेयोदारयशः पंक्ति ६२. गतैश्वर्य कृतस्मया ६३. गमनीयपदासक्तित ६४. खलभावनिवारिणि ६५.कृपापीयुषजलधि ६६.कृतज्ञा ६७.कृतिसाधनम ६८. कल्याणप्रकृति ६९.काम्या ७०.कल्याणी ७१. कामवर्षिणी ७२.कारूण्यार्द्रविशालाक्षी ७३. कम्कुकण्ठी ७४. कलानिधि ७५.केलिप्रिया ७६.कलाधारा ७७.कलाषौधनिवारिणी ७८.ॐशब्दवाच्या ७९.ओ जोब्धि ८०. उदितश्री ८१.उरूदारधि ८२.उदारकिर्त्तित ८३. उदिता ८४.उदारातुल्यदर्शना ८५. ईष्टप्रदा ८६. ईभगमना ८७.आदिजा ८८.आहलादिनिपरा ८९. आश्रितवत्सला ९०.आराध्या ९१.अनिर्देश्यस्वरूपिणी ९२.अदवितियसुखाम्भोधि ९३.शव्याजकरूणापरा ९४.अनवदया ९५.अप्रमत्ता ९६.अनन्तंश्वर्यमण्डिता ९७.अमाना ९८. अयोनिजा ९९.अकोपा १००.अविचिन्त्या १०१.अनघस्मृति १०२.अनिहा १०३.अनियमा १०४.अनादिमध्यान्ता १०५. अद्दुतदर्शना १०६.अजेया १०७.अकल्मषा १०८.अकारवाच्या ।

सीताबाहेक गौतमबृद्धकी आमा मायादेवी र श्रीमति यशोधरा, धार्मिक नेतृ योगमाया, राजनीतिकर्मी मंगलादेवी, नेपाल टेलिभिजनकी पहिलो समाचारवाचिका रमा सिंह, सगरमाथा प्रथम नेपाली महिला आरोही पासाङ्ग ल्हामु शेर्पा, अधिकारकर्मी मोहना अन्सारीलगायतको नाम समेत भर्चुअल समाचारवाचिकाको लागि उपयुक्त हुनेछ । उदाहरणका प्रस्तुत गरिएका नामसँग विभिन्न अधिकारमुखी आन्दोलन, महिला अधिकार, राजनीति, लेखन तथा साहित्य, सूचना बिज्ञान प्रविधि, खेलकुद, पर्वतारोहन, ब्यापार, व्यवसायलगायतमा उत्कृष्ट काम गरेकाहरूसँग मेल खान सक्छ । बढीभन्दा बढी महिलाहरूलाई सम्बोधन गर्न सकिएमा पक्कै पनि एआई समाचारवाचिकामा अपनत्व महत्व गर्नेछन् । भारतमा इन्डिया टुडेअन्तर्गतको आजतकले प्रयोग गर्ने एआई सनाको नाम पाकिस्तानी कार्यक्रम संचालिका, समाचारवाचिकाहरूसँग मेल खान पुगेपछि त्यहाँ पनि प्रविधि र नामको ब्यापक चर्चा भएको थियो । नेपालका संचारमाध्यमले ल्याउने एआई समाचारवाचिकाको नाम कसैसँग मेल नखाने किसिमको तयारी अहिलेदेखि नै गर्दा राम्रो हुने देखिन्छ ।

अमेरिकन कम्प्युटर बैज्ञानिक जोन म्याकार्थीले सन् १९५० मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शब्दको प्रयोग गरेका थिए । म्याकार्थीलाई कम्प्युटर बिज्ञान र एआईमा उत्कृष्ट काम गरेका कारण म्याकार्थीलाई “एआई पिता” भनेर सम्बोधन गरिन्छ ।

स्क्रिप्ट, लेख, आवाज अनुसार एआई भिडियो बनाइदिने थुप्रै वेवसाइटहरू उपलब्ध छन् । सिनथेसिया (Synthesia), लुमेन५ (Lumen5),ओयवोट (Woebot),भीड (Veed), स्टीभ, डिपब्रेनलगायत दर्जनौं वेवसाइटहरू एआई भिडियो बनाउन मद्दत गरिरहेको छ । यी वेवसाइटबाट केही दिन निशुल्क अभ्यास गरेर वाटरमार्कसहितको भिडियो उत्पादन गर्न सकिन्छ । व्यवसायिक प्रयोजनका लागि सशुल्क सेवा लिन सकिन्छ भने आफ्नै परियोजना शुरू गर्न अधिक रकम खर्चिनुपर्ने बाध्यता छ ।

तसर्थ मातृभाषामा काम गर्ने पत्रकारहरूको व्यवसायिक एआई समाचारमूलक भिडियो उत्पादनका लागि तालिमसँगै अनुदानको आवश्यकता छ । यो आवश्यकता संघीय अथवा प्रादेशिक संचार मन्त्रालय, बिज्ञान प्रविधि मन्त्रालय प्रेस काउन्सिल, भाषा आयोग, योजना आयोग, प्रादेशिक मिडिया काउन्सिल, आमसंचार प्राधिकरण, नेपाल पत्रकार महासंघलगायतका सरोकारवालाले पूरा गर्ने सम्भावना अधिक छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ