जसपाको दौडधुप (सम्पादकीय)

सम्पादकीय

3/19/2021

सर्वोच्च अदालतले नेकपालाई एमाले र माओवादी केन्द्रमा विभक्त गरेपछि नयाँ सत्ता समीकरणका लागि दौडधुप सुरू भएको छ । माअ‍ेवादी केन्द्र, काँग्रेस र जसपा केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन लागिरहेका छन् । यसका लागि उनीहरूबीच सघन वार्तालाप पनि चलिरहेको छ ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने कि बचाउने भन्नेमा मुलुकको राजनीति केन्द्रित बनेको छ । यसमा प्रतिनिधिसभामा चौथो दलको हैसियतमा रहेको जसपा निर्णायक देखिएको छ । सत्ता गठबन्धनका लागि जसपाले केही सर्त छ । विगतदेखि जसपाले उठाउँदै आएको मुद्दा सम्बोधन हुने सुनिश्चित गरेर मात्र उ सत्तामा जान्छ वा उधारोमा भन्ने विषयले अहिले मधेशको राजनीति तरंगित भएको छ ।

मुलुकको राजनीति प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने कि बदल्ने भन्नेमा अल्झिएको छ । सत्ता दौडको अल्झनमा जसपा पनि छ । ओलीसँग मिलेर सत्तामा जाने वा ओलीइतरसँग मिलेर सत्ता गठबन्धन गर्ने भन्ने विषयले जसपामा अघोषित धुव्रीकरण देखिएको छ ।

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव ओली नेतृत्वको सरकारलाई हटाउने ध्रुवमा छन् । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतोले ओली नेतृत्वको सरकार हटाउने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताउँदै आएका छन् । जसपाका नेताहरूको बालुवाटार, बुढानीलकण्ठ, पेरिसडाँडा दौडलाई सत्ता चाहनाको उत्कर्षको रूपमा हेर्न सकिन्छ । कतिपयले यसलाई जसपा नेताहरूले राजनीतिक संकटको निकासका लागि देखाएको राजनीतिक संवेदनशीलताका रूपमा पनि अथ्र्याएका छन् ।

जसपाले सत्ता गठबन्धनका लागि दौडधुप तीव्र पारे पनि ओली नेतृत्वको सरकारलाई साथ दिने कि शेरबहादुर देउवा–पुष्पकमल दाहालको राजनीतिक समीकरणमा सहभागी हुने भन्नेमा आधिकारिक निर्णय गरेको छैन । सत्ता गठबन्धनका लागि कांग्रेसले ‘पर्ख र हेर’ को नीति कायमै राखेको देखिन्छ भने माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन अझै फिर्ता लिएको छैन र जसपा अलमलमा देखिन्छ । तीन दल (एमाले, माओवादी केन्द्र र कांग्रेस) को संसदमा एक्लाएक्लै अवस्थामा बहुमत छैन ।

तीनै दल अलगअलग हुँदा सत्ता समीकरणका लागि निर्णायक ठाउँमा जसपा देखिन्छ । यही मौका उपयोग गरी जसपा आफ्ना केही माग तत्काल पूरा गराउने दाउमा छ । तीन प्रमुख दल अलगअलग हुँदा सत्ता समीकरणका लागि जसपाको महत्व बढेको छ । प्रतिनिधिसभामा अंकगणितका हिसाबले जसपाको भूमिका महत्वपूर्ण बनेको छ । अहिलेको अवस्थामा जसपाले आफ्ना मुद्दा र मागलाई केन्द्रमा राखेर तिनलाई पूरा गराउनेतर्फ शतिm खर्चिनुपर्ने जरूरी देखिएको छ ।

राजनीति गरेपछि सत्तालाई किनारामा राख्न सकिँदैन । तर कुन बेला र केका लागि सत्तामा जाने त्यो प्रष्ट हुनुपर्छ । जसपाले अहिले संविधान संशोधन मुद्दालाई केन्द्रमा राखेर राजनीतिक समीकरण अघि बढाउनुपर्ने जरूरी छ । जसपाले सत्तामा जान कोसँग राजनीतिक समीकरण गर्छ भने अझै स्पष्ट छैन तर तर यसपटक उधारो सहमतिको जगमा जसपा सत्तामा जानु हुँदैन ।

अहिले राजनीतिक बृत्तमा जसपाको जुन महत्व बढेको छ, त्यो तात्कालिक र रणनीतिक मात्र हो । अंकगणितको राजनीतिमा प्रधानमन्त्री ओली अध्यक्ष रहेको दलसँग कुनै एउटा दलको गठबन्धन बने सरकार चलाउन बहुमत पुग्छ तर कांग्रेस–माओवादी केन्द्र दुइवटै दल मिल्दा पनि बहुमत पुग्दैन ।

उनीहरूलाई जसपाको साथ आवश्यक हुन्छ । त्यही भएर जसपा अहिले केन्द्रविन्दुमा छ । यसको राणनीतिक लाभ जसपाले उठाउन सक्छ वा सक्दैन भन्ने उसको नेतृत्वमा भर पर्छ । मधेशको नजरले हेर्दा तीनवटै दल मधेश मुद्दाप्रति उत्तिकै क्रुर देखिन्छन् । जसले माग पूरा गर्न साथ दिन्छ, उसैसँग सहकार्य गर्नु मधेशका लागि हितकर हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ