जसपा, लोसपा र मधेश (सम्पादकीय)

सम्पादकीय

चार वटा मधेशी दल एकीकृत भएर बनेको जसपा शीर्ष नेताहरुको सिद्धान्तविहीन कारणले अन्नतः फुटेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका छन् । निर्वाचन आयोगमा दर्ता भएको लोसपाको दर्ता नम्बर १६७ रहेको छ ।

सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो  । लोसपाले तत्कालिन जसपाको केन्द्रीय समितिको नभई संसदीय दलको २० प्रतिशत संख्या पु¥याई दल विभाजन गरेको हो ।

राष्ट्रपतिबाट जारी दलसम्बन्धी अध्यादेशअनुसार नियमावली निर्माण गरेर आयोगले यी जसपाको फुटलाई औपचारिकता दिएको छ ।

सामान्यतया लोकतन्त्रमा कुनै पनि विचार समूहले आफ्नो कार्यसूची जनतामाझ लैजाने गरी राजनीतिक दल निर्माण गर्नु या अर्को दल बनाउनु अन्यथा होइन, तर सत्ता छिनाझपटी र स्वार्थको बेमेलकै कारण दलहरू फुट्नुलाई भने उचित मान्न सकिन्न ।

२०४६ सालको परिवर्तनले अपेक्षित उपलब्धि हासिल गर्न नसक्नु र पछि व्यवस्था नै विफल हुनुको एउटा कारण ५० को दशकमा देखिएको दल विभाजनको विकृति पनि हो । किनभने उक्त अवधिमा देशका दुई ठूला दल कांग्रेस र एमाले मात्रै विभाजित भएका थिएनन्, तेस्रो ठूलो दल राप्रपा पनि यही नियतिबाट गुज्रिएको थियो ।

अहिले जसपासँगै एमाले पनि विभाजित भएको छ । यी विभाजनको पछाडि कुनै गम्भीर सैद्धान्तिक–वैचारिक कारण भने छैन । यो परिस्थिति कुनै नीतिगत मनोमालिन्यका कारण निम्तिएको पनि होइन ।

नेपालको राजनीतिमा मधेशी दलहरुको विभाजन पहिलो होइन । सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहले जीवनकालमा दुईपटक फुट व्यहोर्नु प¥यो । त्यत्तिकै अवधिमा उनका शिष्यहरूले आठ पटकसम्म नेपाल सद्भावना पार्टीलाई चिराचिरा पारे ।

यसरी विभाजन गर्दा दर्शन, सिद्धान्त र विचारले कहिल्यै प्रमुखता पाएन । पद, पैसा र प्रतिष्ठा नै विभाजनको मुख्य कारक तत्व बनेको थियो । तराई कांग्रेसको विरासत बोकेको सद्भावना पार्टी र नेसपाको विरासत बोकेको जनता समाजवादी पार्टी उपेन्द्र र राजेन्द्र पक्षले जति जनतालाई दिएका छन्, त्योभन्दा बढी देश र मधेशले उनीहरूलाई भुक्तानी गरेको यथार्थ पनि स्वीकार गर्दैपर्छ ।

विगतमा मधेशी जनअधिकार फोरमफो बढ्दो लोकप्रियतामा लगाम लगाउन तराइ मधेश लोकतान्त्रिक पार्टीको जन्म भयो । यहीँबाट फोरम र तमलोपामा टुटफूटको प्रक्रियाको थालनी भयो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ