मधेशलाई दुहुनु गाई बुझ्नु र मधेशीलाई मानिस पनि नबुझ्नु दुई समानान्तर बुझाइको दुई सूत्रलाई सत्ताधारी मूल शासक वर्गले पहाडिया अहंकार सुरक्षित तथा संरक्षित गर्न काठमाडौं उपत्यकाबाट मधेशका भूभागमा शासनको डण्डा लिएर पठाउने र जानेहरूबाट पीडितहरूको पीडा विद्रोहको रूपमा उठेका बेला शासकहरूमा आएको बोधको आयाम अहिले फेरि खुम्चिँदै पुरानो स्थानमा गइरहेको छ ।
नागरिकता विधेयक दुवै सदनबाट पारित गरी राष्ट्रपति भवन पुग्दा र राष्ट्रपतिबाट फिर्ता पठाइएको अवधिमा पहाडिया अंहकारको अभिव्यक्ति हेर्दा यस्तै बोध गराइरहेको छ । ठोस राजनीतिक चेतका आधारमा मधेशको भूराजनीतिक अवस्थितिको ठोस बुझाइ त्यतिञ्जेलका उदीयमान मधेशी नेतृत्वमा अभाव रहेको अहिलेको अवस्थाले पुष्ट गर्छ ।
मधेशी हकअधिकारका लागि विगतमा लड्दै आएको नेपाल सदभावना पार्टीको नेतृत्व पहिले नै कमजोर भइसकेको थियो । सरकारमा गएर जनतालाई मृगमरिचिकामा अल्झाएर व्यक्तिगतरूपमा सम्पत्ति थुपार्ने काम सदभावना पार्टीका नेतृत्वहरूबाट हुने भएकाले त्यो पार्टी विभाजित थियो । आन्दोलनमा जानेहरू पनि विभाजित भएका थिए ।
शान्ति प्रक्रियामा आएको माओवादीले संघीयता छोडेर जान खोज्दा भएको मधेश विद्रोह स्वायत्त मधेश प्रदेशको एजेन्डामा मत्थर हुन सुरु भयो । पहिलो संविधान सभामा मधेश विद्रोहको बलमा मधेश आधारित राजनीतिक दल दोस्रो ठुलो समूहको रूपमा प्रतिनिधित्व गरेयता दोस्रो संविधान सभा र त्यसपछि संविधान घोषणा र त्यसयता भएको पहिलो निर्वाचनबाट बनेको संघीय तथा प्रदेश सरकारको पहिलो पाँच वर्षसम्म आइपुग्दा मधेश आधारित राजनीतिक दल हावामा बिलाएर गएको अवस्था छ । मधेशमा आधारित राजनीतिक दलका नेताहरूको चरित्र पनि अन्य दल र परम्परागतरूपमा चलेको सरकारी तन्त्र र राजनीतिक तन्त्र भन्दा भिन्न हुन सकेन् ।
आन्दोलन र विद्रोहको राँको लिएका मधेश आधारित राजनीतिक दलका नेताहरू भ्रष्ट नेताको रूपमा जनता माझ देखिन पुगे । मधेशका आम जनताको विश्वास घटेर गयो । पूर्व मेचीदेखि पश्चिमको महाकालीसम्मको मधेशको फाँटलाई एक मधेश एक प्रदेश बनाउने सपना बाँडेका मधेशी नेताहरूले संविधान सभाबाट संविधान जारी हुन अघि नै तुहाइ दिए । सपना मात्रै तुहाएनन् । आफूहरूले कमाएको प्रतिष्ठा सबै गुमाए ।
मधेशमा भारतका कवि रहिमको दोहा विशेष रूपमा सुनिने गरिन्छ ।
“रहिमन पानी राखिए , बिनु पानी सब सुन
पानी गए न उबरे , मोती , मानुष चून”
पानीको अर्थ प्रतिष्ठा वा अस्तित्वसँग रहेको छ । यहाँ तीन पानीको प्रयोग गरिएको छ । पहिलो पानी विनम्रतासँग जोडिएको छ । मानिसलाई हरेक समय विनम्रता वा पानीलाई छोड्न हुँदैन् । पानीको दोस्रो अर्थ हो आभा, तेज वा चमकसँग जोडिन्छ । मोतीको चमक रहेन भने उसको मूल्य हुँदैन् । तेस्रो पानसँग खाने चूनको कुरो गरिएको छ । चूनमा पानी भएन भने उसको मृत्यु हुन्छ ।
पानी बिनाको चूनको अर्थ हुँदैन् । समग्रमा प्रतिष्ठा भएन भने व्यक्ति मरे तुल्य हुन्छ । मधेश आधारित राजनीतिक दलका नेताहरू पानीका यी सबै बोधहरूलाई गुमाएर अहिले मरे तुल्य अवस्थामा पुगेका छन् ।
मधेशीहरूको भावनाको प्रतिनिधित्व गर्दै संसदका सबै दलहरूले जनता समाजवादी पार्टीको रूपमा संगठित भएपनि त्यो दिगो हुन सकेन् । अहिले यो लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीको रूपमा विभाजित भएका छन् । हुन त मधेश र मधेशीको ब्रान्डलाई जोगाउने वा भजनाउने उद्देश्यले तराई मधेश लोकतान्त्रिक पार्टीलाई ब्यँुत्याइएको छ ।
नेपाल सदभावना पार्टीसँग मिलेर मधेशी फ्रन्ट पनि बनेको छ । तर पनि आठ जिल्लामा संकुचित हुन पुगेको मधेश र मधेशीले के चाहेको छ ? समग्र मधेश एक प्रदेशका लागि के गर्नुपर्छ ? यसको भूराजनीतिक अवस्थिति के हो ? यहाँको राजनीतिक एजेन्डा के हुन सक्छ ? यहाँको कूटनीतिक आयाम के हुन सक्छ ? यसबारे ठोस निक्र्यौल निकाल्नु पर्ने आवश्यकता मधेश र मधेशीहरूका लागि छ । हालै जनमत पार्टीको तर्फबाट केही आन्दोलनका झाँकीहरू चुनाव केन्द्रित गरिएको भएको देखियो ।
समग्रमा अहिलेसम्म मधेश आधारित राजनीतिक दलका नेताहरूको व्यवहारले मधेश विद्रोह पराजित अवस्थामा छ । विगतको निर्वाचनमा पाएको हैसियत गुमाउने अवस्थामा मधेश आधारित राजनीतिक दल अहिले मधेशमा रहेको देखिएका छन् । ती राजनीतिक दलहरूले अहिलेको अवस्थामा आफ्नो अस्तित्व जोगाउन सके ठुलो कुरो हुने छ । अस्तित्व जोगाए पनि उनीहरूबाट मधेशको शहादतले मागको परिवर्तन ल्याउने अवस्था बन्न सक्दैन् । मधेशको चुनावी महोलले यस्तै बनेको छ । यस्तोमा पराजयको बोधबाट मधेश उम्किनै पर्छ ।
तपाईको प्रतिक्रिया