सहिष्णुता र सद्भाव कायम राखौं

सम्पादकीय

छठ पर्वको बेला महोत्तरीको भंगाहा नगरपालिकामा मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप भयो । हिन्दु सम्राट सेनाले शोभा यात्रा निकालेर मुस्लिम बस्तीमा पुगेका बेला झडप सुरु भयो ।

वडा नम्बर ८ स्थित पररिया चोकमा पुगेर यात्रामा सहभागीहरूले मुस्लिमको झण्डा राखेको ठाउँमा आफूहरूको झण्डा राख्ने तयारी गरे । त्यही बेला कुनै महिलाले ढुंगा प्रहार ग¥यो । मुसलमानहरूले ढुंगा प्रहार गरेको र त्यसको प्रतिकार गरिएको भनाइ एकथरीको छ ।

झडप यति उग्र भयो कि भीड नियन्त्रण लिन प्रहरीलाई दर्जनौँं सेल अश्रुग्याँस र हवाई फायर गर्नु प¥यो । झन् प्रहरीलाई लाठीचार्ज पनि गर्न प¥यो । सो झडपमा केही मुसलमान घाइते भए । ढुंगामूढाबाट केही प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको जनाउ छ । मुसलमानहरूको धर्म इश्लामका प्रवर्तक मोहम्मदको दिवस मनाउन एकदिन अगाडि असोज २३ गते हिन्दु समुदायका स्थानीय किशोरी यादवले एक्का लगाउने तयारी बारे सबैलाई खबर गरे । इश्लाम धर्मावलम्बीका मसरिम राइन र रफिक आलमले एक्का नलगाउन आग्रह गरे । हिन्दु मुसलमानबीच झगडाको बिउ यहीँबाट सुरु भएको कतिपयको भनाइ छ । किशोरीले आग्रहको बेवास्ता गरी एक्का लगाइ छाडे । दुवै समुदायको तनाव बढ्न थाल्यो ।

समाचारहरूमा सार्वजनिक भए अनुसार नगरप्रमुख सञ्जीव साहले पनि निगरानी बढाए । यसैबीच हिन्दु सम्राट सेनाले शोभा यात्रा निकाल्यो । नगरप्रमुख साहले हिन्दु सम्राट सेनाका केही व्यक्तिलाई बोलाएर शोभा यात्रा ननिकाल्न अनुरोध गरेको सम्म समाचार सार्वजनिक भएको पाइन्छ । नगरप्रमुख साहले यसबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैलाई घटनाको विषयमा जानकारी गराएको पनि समाचारमा उल्लेख भएको पाइन्छ ।

दुवै समुदायबीचका सदभाव भडकिनमा स्थानीय प्रशासनको कमजोरी देखिन्छ । नगरप्रमुख साहले स्थानीय प्रशासनलाई जानकारी गराएपछि दुवै समुदायका प्रमुखहरूसँग घटना हुन अघि छलफल गर्नुपर्ने थियो । त्यसक्षेत्रमा घुमुवाहरूको संख्यामा वृद्धि गर्नुपर्ने थियो । तनावको स्थिति जान्दाजान्दै स्थानीय प्रशासनबाट आवश्यक प्रवन्ध मिलाएको देखिएन् । कफ्र्यु लगाउनुपर्ने अवस्था र घाइते हुनुपर्ने अवस्था आए मात्र कारबाही गर्ने पुरानो मानसिकताले समाजको सदभावलाई कामय गराउने होइन् । बरू यस्तोमा सदभाव र सहिष्णुता बिगार्नेहरूलाई फाइदा पुग्ने छ । सामुदायिक सहिष्णुता बिग्रेर गए त्यसको घाउ पुर्न धेरै गाह्रो हुन्छ । यसले विकास र समृद्धिलाई टाढा पारिदिन्छ । त्यसैले यस्तो गल्ती नहोहोरियोस भन्नका लागि प्रशासन चनाखो हुनुपर्छ । हामीले सदभाव र सहिष्णुता कायम गर्न पहल गर्न पर्छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ