महँगी नियन्त्रण र कृषि प्रोत्साहन आजको आवश्यकता

सम्पादकीय

नेपालको अर्थतन्त्रमा विश्वका अन्य विकसित मुलुकको तुलनामा असर नपर्ने पूर्वानुमान गरिएपनि विपत् बाटो बनाएर आउँदैन् । अहिले विश्व अर्थतन्त्रमा महँगी समस्या बन्दै गइरहेको छ । युक्रेनको युद्ध चलिरहेको छ । यो बाटो भएर आउने मालसामान अझै सहज सुचारु हुने समय लाग्ने देखिन्छ । त्यसैले समस्या आउनु भन्दा पहिले त्यसको रोकथाम गर्नु आवश्यक हुन्छ । त्यसैले भनिएको पनि छ ‘प्रिभेन्सन इज बेटर द्यान क्योर’ ।

बजारको महँगी नियन्त्रण गर्ने नियमनकारी निकायको गतिविधि कमजोर भइरहेको छ । असल मालसामानको ठाउँमा कमसल मालसामान भिडाउने गरिएको छ ।निमुखा उपभोक्ता बोले पनि उसको मुख थुनिएको जस्तो हुन्छ । जनताको दैनिकी गाह्रो बन्दै गएको छ ।

हाम्रै दक्षिण एसियाली देशहरूको अर्थतन्त्र धराशायी बन्दै गइरहेको समाचार सार्वजनिक भइरहेका छन् । हाम्रै बारेमा पनि श्रीलंका र पाकिस्तानको हालत हुन सक्ने समाचार अन्तर्राष्ट्रिय मिडियामा फाटफुटै भएपनि सार्वजनिक हुन थालेका छन् । त्यसैले यसमा ध्यान दिन जरुरी भइसकेको छ ।

हाम्रो अर्थतन्त्रको आधार रेमिट्यान्सको विकल्प कृषिमा आधारित अर्थतन्त्रलाई टेवा दिनुपर्छ । कृषिको लागि परिचय बोकको नेपालको क्षेत्र तराई मधेश नै हो । यसैलाई नेपालको अन्नभण्डार भनिएको थियो । तर तराई मधेशको प्रतिएकाइ उत्पादकत्व वृद्धि गर्नुपर्ने आवश्यकता पूरा गर्न सकिएको छैन् । काम गर्न सक्ने उमेरका जनशक्ति रेमिट्यान्स कमाउन विदेश जाँदा गाउँ घरका खेतबारी बाँझो हुने हुँदा त्यहाँबाट प्रतिएकाइ उत्पादकत्व वृद्धि हुने कुरो सपना मात्र हुने छ ।

तराई मधेश अन्नको भण्डार हो भने पहाड क्षेत्र जडीबुटी उत्पादन हुने, फलफुल उत्पादन हुने क्षेत्र हो । पहाडको भौगोलिक अवस्थालाई विकासको नाममा अराजक ढङ्गले मास्ने काम रोक्नु पर्छ । त्यसको उर्बराशक्तिमा वृद्धि गर्ने पहल गर्नु पर्छ ।

यसरी कृषिक्षेत्रको विकासलाई उसको सम्भाव्यताका आधारमा प्रोत्साहन गर्नुपर्छ । जुम्लाको स्याउ जनकपुरमा र जनकपुरको आँप जुम्लामा उमार्ने काम गर्न हुँदैन् ।समुचितरूपमा तराई मधेश र हिमाल पहाडको भौगोलिक तथा उर्वराशक्तिका आधारमा उत्पादन हुने क्षेत्रको विकास गर्नुपर्छ ।

अराजक वस्ती विकासमा रोक लगाउनु पर्छ । नयाँ प्रविधिको सहयोगमा कृषि अर्थतन्त्रको मौलिक विकास गर्न सके यसले देशलाई संकटबाट जोगाउने छ । नूनदेखि सुनसम्म सबै थोक आयात गर्नुपर्ने अवस्थाले बढ्दै गएको बजेट घाटा पूरा गर्ने दिगो भरपर्दोबाटो भनेको कृषिमा आधारित अर्थतन्त्रको विकास हो । त्यसैले महँगी नियन्त्रण गरी कृषि प्रोत्साहन आजको आवश्यकता हो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ