मधेशवादका प्रणेता एवं नेपालका सम्पूर्ण उत्पीडित, उपेक्षित समुदायका लागि सडकदेखि सदनसम्म आवाज उठाउने राजनेता एवं नेपाल सद्भावना पार्टीका संस्थापक स्व.गजेन्द्र नारायण सिंहको २१औं पुण्यतिथि मनाइएको छ । उनले स्थापना गरेको सद्भावना पार्टीको प्रमुख एजेन्डाको रूपमा नागरिकता, आरक्षण (समानुपातिक समावेशिता), जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सघीयतालाई अघि सारेका थिए । उनी बाँचुञ्जेलसम्म उपरोक्त राजनीतिक मुद्दाहरूले देशमा व्यापक चर्चा पाए पनि समाधान हुन सकेको थिएन । सिंहको त्याग इमानदारी एवम् विचारलाई ओझेलमा पारेर मधेशी दलहरुले आआफ्नो रोटी सेक्ने असफल प्रयास गर्दैछन् । राजनीतिमा परिवारवादका उनी घोर विरोधी थिए ।
नेपाली राजनीतिमा मधेश राजनीतिलाई स्थापित गराउने व्यक्ति हुन् गजेन्द्रनारायण सिंह । सिंहको जन्म सप्तरी जिल्लाको कोइलाडी गाविसमा पिता केपी सिंह तथा माता राधादेवी सिंहको दोश्रो सन्तानको रूपमा भएको थियो । गाउँकै विद्यालयमा प्रारम्भिक शिक्षा लिएका सिंहले भारतबाट म्याट्रिक परीक्षा पास गरेका थिए । उनले बनारसमा आइएमा नामांकन गराए पनि राजनीतिक सक्रियताका कारण उच्च शिक्षा अध्ययन गर्न सकेनन् ।
नेपाललाई संघीयतामा लैजानुपर्ने विचार सिंहकै थियो र त्यसका लागि उनले पार्टी नै स्थापना गरेर नेपाली राजनीतिमा आफ्नो स्थान बनाए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सिंहले नेपाली कांग्रेबाट अलग भई पूर्वाञ्चल कांग्रेस गठन गरेका थिए । २०४० सालपछि नेपाल सद्भावना परिषद् हुँदै उनले २०४७ साल वैसाख ३ गते नेपाल सद्भावना पार्टी गठन गरे । तत्कालीन समयमा भारतमा महात्मा गान्धीको स्वतन्त्रता आन्दोलन चल्दै थियो । उक्त आन्दोलनबाट प्रेरित भएका सिंहले राणा शासनको विरूद्ध सन् १९४७ मा नेपाल राष्ट्रिय कांग्रेसमा सक्रिय भएका थिए ।
सन् १९४९ को सत्याग्रह आन्दोलनमा सहभागी भएका सिंह आफ्नै जिल्लामा जेल परेका थिए । सन् १९५० देखि ६० सम्म नेपाली कांग्रेसको जिल्ला अध्यक्ष रहेका सिंह १९६० देखि ७७ सम्म कांग्रेसको केन्द्रीय सदस्य रहे । २०३९ सालमा नेपाली कांग्रेस परित्याग गरी २०४० सालमा नेपाल सद्भावना परिषद् गठन गरी २०४७ सालमा नेपाल सदभावना पार्टी बनाएका थिए । २०४२ सालमा राष्ट्रिय पंचायत सदस्य भएका सिंह २०४८ र २०५१ मा सांसदमा निर्वाचित भएका थिए । सिंहको निधन २०५८ माघ १० गते भएका थियो ।
२०४७ सालमा दर्ता भएको नेपाल सद्भावना पार्टीले काठमाडौंको भद्रकालीमा १५ दिने रिले अनशन गरेको थियो भने पहिलो आमसभा २०४७ साल मंसिरमा काठमाडौंकै टुँडिखेलमा गरेको थियो । उक्त आमसभा राज्यद्वारा विथोलिएको थियो भने मधेशी नेताहरूमाथि कुटपिट भएको थियो । जसको विरोधमा २०४७ माघमा सिंहदरबार अगाडि प्रदर्शन गर्दा पनि कुटपिट भएको थियो । जसमा संस्थापक नेता रामजनम तिवारीको हात भाँचिएको थियो । सद्भावनाले संसदमा प्रवेश पाएसँगै धोतीकुर्ता, हिन्दी भाषाले पनि सदनमा प्रवेश पाएको थियो । २०४७ सालमा संघीयता, समावेशी, मधेशको नागरिकता समस्या, मधेशको भाषा समस्यालगायतका विषयलाई उठाएर राजनीति सुरू गरेको नेपाल सद्भावना पार्टी अहिले इतिहासमा सीमित भएको छ ।
तपाईको प्रतिक्रिया