निर्वाचन मात्र महँगो भएको छैन् मतदान पनि महँगो भएको छ । निर्वाचनको बेला सरकारले एक दिनको बिदा दिन्छ । देशभित्र विभिन्न ठाउँमा कामका लागि बसिरहेका नेपालीहरूलाई आफ्नो गृह वडामा गएर मतदान गर्न सजिलो हुँदैन् । उनीहरूले मतदान गर्न जाने गरेका छैनन् ।
उम्मेदवार निकटका चिनजान भएकाहरूले राजधानीबाट जाने गाडीमा जान पाउने गरेका छन् । तर पछि फर्किने बेलामा उनीहरूको बिचल्ली हुने भएकाले त्यस्ता गाडीमा पनि जान नचाहने व्यवहार बढिरहेकै छ । यस्ता नेपालीहरूका लागि बसिरहेकै ठाउँमा मतदान गर्न पाउने व्यवस्था गर्नु आवश्यक भएको देखिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएबाट यसको पुष्टि गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताए । अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान गर्न पाउनुपर्ने सार्वजनिक गरेको धारणा सान्दर्भिक रहेको छ ।
अब बन्ने कानूनमा त्यो व्यवस्था गर्नुपर्छ । नेपाल भित्र अन्तिम मतदाता नामावलीमा नाम भएको कुनै पनि व्यक्ति आफ्नो घरमा उसको मतदान केन्द्रमा गएर मतदान गर्नु राम्रो कुरो छ । तर मतदान केन्द्रमै पुग्न नसकेको अवस्थामा उसले समानुपातिक मत दिन पाउने व्यवस्था गर्दा मतदाताको लोकतान्त्रिक हक अधिकारको सुरक्षा हुन्छ ।
कर्मचारी र कैदीबन्दीलाई यसैपटक समानुपातिकमा मतदान गर्न दिइएको छ । आगामी दिनमा कानून बनाएर आम मतदातालाई यो अधिकार दिइनुपर्ने उनको भनाइ सान्दर्भिक छ । यस्ता आम मतदाताहरूको संख्या १० लाख बढी रहेको छ । १० लाख मतदाताहरूले समानुपातिक मतदान गरे यसले संसदको बनोटलाई समेत प्रभाव पार्ने छ ।
समानुपातिक मतदान गर्न पाउने अधिकार मतदाताहरूसँग भए उसको अधिकारको कदर हुने जनताको मागलाई संसदमा पुगेका दलहरूले ध्यान दिनुपर्ने आवश्यकता आइ पुगेको छ । डिजिटल युगमा दुनिया पुगिरहेको बेला व्यक्तिको पहिचान ठोस गर्न थप सजिलो भएको छ । यसमा देखिएको बाधा तथा कमजोरी हटाइ अगामी निर्वाचनबाट मतदाता बसेको ठाउँमा उनीहरूले मतदान गर्न पाउने व्यवस्था गर्न सकिने छ । यसमा ध्यान दिऔँ ।
तपाईको प्रतिक्रिया