फागु पूर्णिमामा रंग अबिरको उत्सव मनाउने गरिन्छ । फागुलाई देशभर विभिन्न नामले बोलाउने चलन रहेको भएपनि सिनेमा आदिको प्रभावले आमरूपमा होलीको रूपमा बुझिने गरिन्छ । पूर्णिमालाई फागु विशेषण जोडिएपछि यसलाई फागु त्यसै भनियो । तराई मधेशको स्थानीय क्षेत्रहरूमा फगुवा पनि भनिने गरिन्छ ।
मिथिलाञ्चलमा होरी भनिन्छ । धामिर्क मान्यता अनुसार अगोमा नजल्ने वरदान पाएकी प्रह्लादकी फुफू होलिकाले उनलाई काखमा राखी आगोमा खरानी बनाउने योजना बनाइन् । विष्णुभक्त प्रह्लादका पिता हिरण्यकश्यपुले मार्ने उपाय अन्तर्गत होलिकासँग यसो गर्न भनेका थिए । देवताहरूको शत्रु असुर राजा हिरण्यकश्यपुको छोराको रूपमा प्रह्लाद विष्णुभक्त निस्किएकाले छोराकै वद्ध गर्न यो उपाय गरेका थिए ।
सुकेका दाउरासहितको चिता बनाइयो । सो चितामा होलिकाले बालक प्रह्लादलाई काखमा राखेर बसिन् । हिरण्यकश्यपुको आदेशमा चितामा आगो लगाइयो । दन्किरहेको आगोका बेला होलिकाको अग्निकवच उसको शरीरबाट हटेर प्रह्लादको शरीरमा लपेटिन पुगेकोले उनी जोगिएको र होलिका जलेर खरानी भएको थियो ।
यसबाट रिसले चूर भएका हिरण्यकश्यपुले प्रह्लादलाई खम्बामा बाँधेर मार्न लाग्दा नरसिंह निस्केर हिरण्यकश्यपुको वद्ध भएको र प्रह्लाद जोगिएको उल्लासमा होली मनाएदेखि अहिलेसम्म यो पर्व अन्यायमाथि न्यायको जितको रूपमा मनाइन्छ ।होलिकाबाट होली भएको भनाइ रहेको छ ।
कतिपयले रामको रावणमाथिको विजयको रूपमा होली मनाइएको भन्ने मान्ने पाइन्छ । जेहोस अन्यायमाथि न्यायको रूपमा मनाइने यो पर्व बर्सेनी फागुन महिनाको पूर्णिमाका दिन मनाइन्छ । तराई मधेशमा विशेषगरी मधेश प्रदेशमा फागु पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।
जनकपुरमा १५ दिन मध्यपरिक्रमा फर्केर आएपछि फागु पूर्णिमाका दिन अन्तगृही परिक्रमा हुने भएकाले फागु पूर्णिमा र त्यसको भोलिपल्ट दुई दिने होली मनाउने गरिन्छ । शनिबार वा मंगलबार होली परेर त्यसको भोलिपल्ट पनि होली मनाउने गरिन्छ । जसरी मनाएपनि यो वर्षको फागु पूर्णिमा सोमबार छ ।
होलीमा वनस्पतिबाट तयार पारिएको रंग अबिरबाट खेलिने होलीमा केही विकृति थपिएको छ । रसायन प्रयोग गरिएका पेन्टहरूको प्रयोग हुन थालेको छ । बलजफ्ती पनि गर्न थालिएको पाइन्छ ।
सदभावका आधारमा होली पर्व मनाउनु यसको सन्देश हो । फागुको अवसरमा एक आपसमा सदभाव साटेर प्रेमपूर्ण ढङ्गबाट गैरहानिकारक रंगअबिर एकअर्कालाई लगाइ उल्लासपूर्वक मनाउन मधेशवाणी परिवार सबैमा आग्रह गर्छ । फागु पूर्णिमाको सन्देशलाई विस्तार गनु र विकृतिको विनाश गर्नु यसको मर्मलाई हामी सबै बुझौ र बुझाऔँ ।
तपाईको प्रतिक्रिया