नयाँ दिल्ली, १५ मंसिर । भारतमा उच्च शिक्षा अध्ययनका लागि नेपालबाट सबैभन्दा बढी विद्यार्थी आउने गरेका छन् । एक अध्ययन सर्वेक्षणका अनुसार भारतमा अध्ययन गर्न आउने विदेशी राष्ट्रका विद्यार्थीमध्ये नेपाल पहिलो स्थानमा रहेको छ ।
गत वर्ष नेपालबाट उच्च शिक्षा अध्ययनकालागि १२ हजार ७ सय ४७ विद्यार्थी भारत आएका छन् । सन् २०१८/२०१९ मा विश्वका १६४ मुलुकहरुबाट भारतमा अध्ययनका लागि ४७ हजार ४ सय २७ विद्यार्थीहरु आएका थिए ।
समग्र विदेशी विद्यार्थीमध्ये नेपालका २६.८८ प्रतिशत रहेको अध्ययनले देखाएको छ। दोश्रो मुलुकमा अफगानिस्तान रहेको छ । अफगानिस्तानबाट ९.८ प्रतिशत (४६५७) विद्यार्थी सहभागी रहेका छन् ।
भारत सरकारको मानव संसाधन विकास मन्त्रालयअन्तर्गत अखिल भारतीय उच्च शिक्षा सर्वेक्षण (एआईएसएचई)ले गरेको अनलाइन अध्ययन सर्वेक्षणले यो तथ्यांक सार्वजनिक गरेको हो ।
भारतमा नेपालबाट आउने विद्यार्थीहरुमध्ये स्नातक अध्ययनका लागि आउनेको संख्या धेरै रहेको छ । समग्र विद्यार्थीमध्ये ७३.४४ प्रतिशत स्नातक अध्ययनका लागि आउने गरेका छन् । छात्राको तुलनामा छात्रहरुको संख्या धेरै रहेको छ ।
अध्ययनमा समावेश गरिएको १५ विषय अन्तर्गत बीटेक (ब्याचलर्स अफ टेक्नोलोजी) अध्ययन गर्न आउने विद्यार्थीहरु सबैभन्दा बढी रहेका छन्। समग्र विद्यार्थीको ८५ प्रतिशत बीटेक अध्ययनकालागि आउने गरेको तथ्यांकमा उल्लेख छ ।
भारतमा बीबीए, बीएससी, बीए, बीई, बीफार्मा अध्ययनका लागि विद्यार्थी आउने गरेको देखिएको छ । त्यसैगरी एमबीबीएस अध्ययनका लागि आउनेमध्ये छात्राको संख्या बढी देखिएको छ भने बीएससी नर्सिंङमा पनि छात्राको बाहुल्यता रहेको छ । अन्नपूर्णपोष्टबाट
तपाईको प्रतिक्रिया