० समाजवादी विद्यार्थी फोरम नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी कस्तो छ ?
— हामीले राष्ट्रिय एकताका लागि प्रथम राष्ट्रिय महाधिवेशनलाई भव्यरूपमा सम्पन्न गर्न युद्धस्तरमा तयारी गरिरहेका छौं । हाम्रो एकताको महाधिवेशनलाई भव्य बनाउन हाम्रा सम्पूर्ण साथीहरू लाग्नुभएका छन् । तयारीस्वरूप हामी योजनाबद्धरूपमा लागेका छौं । ऐतिहासिकरूपमा एकताको महाधिवेशन सम्पन्न गर्न सबै खालका कार्यक्रमहरू अहिले अन्तिम चरणमा रहेको छ ।
० एकता महाधिवेशनको मूल नारा के हो ?
— ‘संघीय समाजवादी शिक्षा प्रणाली समृद्ध राष्ट्र निर्माणको मूल आधार, संघीय समाजवादी क्रान्तिको समाजवादी विद्यार्थी फोरम नेपालको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने मूल नाराका साथ हामी महाधिवेशनमा होमिएका छौं ।
० एकता महाधिवेशनका लागि अध्यक्षको दाबेदार तपाइँ पनि हुनुहुन्छ ?
— यसपटक अध्यक्षको दाबेदार म छैन । हामी अब नयाँ साथीहरूलाई मौका दिएका छौं । अध्यक्षका लागि अहिले उम्मेदवारी दर्ता भएको छैन । तर, म बाहेक अन्य साथीहरूबीच प्रतिस्पर्धा हुनेछ । म यसपाली समाजवादी विद्यार्थी फोरमबाट विदा हुँदैछु ।
० महाधिवेशनका लागि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम नै किन तोक्नुभयो ?
— यसका विभिन्न कारणहरू छन् । जस्तै, हामीले हिमाल, पहाड र तराई–मधेशलाई भावनात्मक रूपमा जोड्नुपर्ने छ । जनकपुरधाम एउटा नेपालकै ऐतिहासिक ठाउँ हो । यो ऐतिहासिक ठाउँबाट एउटा सञ्चार प्रवाह गर्नुपर्ने छ । सिंगो देश एक ढिक्का छौं भन्ने सन्देश दिन खोजेका छौं । हामी समानता, न्याय, सबै जातिको अधिकार समान हुनुपर्छ भन्ने मान्यता हो । राष्ट्रिय एकता र अखण्डताका लागि तराई, पहाड र हिमालका मान्छे एक हौं भन्न खोजेका छौं । मुलुकमा विभिन्न पूर्वाधारहरू हुँदाहुँदै पनि गरिब बनाइराख्ने गलत राजनीतिका विरूद्ध हाम्रो अभियान हो । त्यसैले, यो ऐतिहासिक जनकपुरधामबाट एउटा सन्देश दिनका लागि समाजवादी विद्यार्थी फोरम नेपाल यो देशको सबैभन्दा सशक्त र नेपाली विद्यार्थी आन्दोलनका सबैभन्दा ठूलो संगठनको रूपमा स्थापित हुन्छ । विद्यार्थी फोरमले समाजवादी क्रान्ति र संघीय प्रणालीलाई लागू गर्दै देशलाई समृद्धिको बाटोमा डो¥याउने हाम्रो लक्ष्य हो ।
० खासगरी विद्यार्थी संगठनहरू आफ्ना माउपार्टीको लठैतको रूपमा प्रस्तुत हुँदै आएको देखिन्छ । तपाइँको पार्टी पनि अहिले सरकारमा छ । त्यसोभए तपाइँहरू अन्य संगठनभन्दा कसरी फरक हुनुहुन्छ ?
— हाम्रो पार्टी सरकार होस् वा सडकमा समाजवादी विद्यार्थी फोरम भनेको सधैं प्रतिपक्षीको भूमिकामा रहन्छ । अहिले राज्यसत्तामा जोसुकै जाओस् हामी सधैं प्रतिपक्षको भूमका खेल्छौं । हाम्रो वैचारिक कुराहरूलाई हाम्रो पार्टीले सम्बोधन गर्छ भने समर्थन गर्छौं होइन भने विरोध र भण्डाफोर गर्छौं । जनताको अधिकार र शैक्षिक मुद्दामा हामी खरो रूपमा उभिन्छौं । हामीले मुलुकमा रहेका सबै खालका असमानतालाई अन्त्य गर्नका निम्ति संघीय शिक्षा प्रणाली स्थापित गराउँछौं । यो राष्ट्र निर्माणको मूल आधार हो । हाम्रो पार्टीले यदि गलत विचार लिएर काम गर्छ भने पार्टीको विरूद्धमा भण्डाफोर गर्छौं र यदि सही काम गर्छ भने सहयोग गर्छौं । त्यसैले समाजवादी विद्यार्थी फोरम नेपाल विद्यार्थी र जनताको पक्षमा सधैं लडिरहनेछ । हाम्रो पार्टी सरकारमा हुँदा पनि सरकारले नराम्रा निर्णय गर्दा आन्दोलन गरेकै छौं ।
० अहिले नेपाली विद्यार्थी आन्दोलनको अवस्था के छ ?
— यतिबेला ठ्याक्कै भन्ने हो भने नेपाली विद्यार्थी आन्दोलन स्खलित अवस्थामा छ । नेपाली विद्यार्थी आन्दोलनलाई सत्ताले अन्यन्तै नजिकबाट दुरूपयोग गरेको छ । सत्ताधारी पार्टी होस् वा विपक्षीले विद्यार्थी आन्दोलनलाई आफ्नो स्वार्थपूर्ति गर्ने हतियारको रूपमा प्रयोग गर्दै आएका छन् । त्यो हतियारको रूपमा समाजवादी विद्यार्थी फोरम नेपाल अहिलेसम्म प्रयोग भएको छैन, हामी सचेत छौं । नेपाली विद्यार्थी आन्दोलनलाई अहिले नयाँ कोर्षमा पु¥याउने प्रयास समाजवादी विद्यार्थी फोरमले गरेको छ । समाजवादी विद्यार्थी फोरमबाहेक अन्य पार्टीका विद्यार्थी संगठनहरू कुनै अमुक जाति वा वर्गको वकालत गरिरहेका छन् । तर, समाजवादी विद्यार्थी फोरम नेपाल सम्पूर्ण देशको समानता र न्यायका निम्ति उठाउँदै आएको छ ।
० जसरी अन्य पार्टीले विद्यार्थी आन्दोलनलाई दुरूपयोग गरेको भन्नुहुन्छ, त्यसरी नै तपाइँको पार्टीले दुरूपयोग गरेको छैन ?
— हाम्रो पार्टी केन्द्रीय सरकारमा हुँदा पनि देश र जनताको विरूद्धमा यदि हाम्रो पार्टी लाग्छ भने हामी पार्टीका विरूद्ध पनि आन्दोलन गर्छौं । जनतालाई अधिकार र पहिचानविहीन बनाउने काममा हाम्रो पार्टी लाग्छ भने जुनसुकै बेला पनि पार्टीभित्र विद्रोह गर्छौं, पार्टीलाई सच्याउन आग्रह गर्छौं । तर, अहिलेसम्म हामीलाई पार्टीले दुरूपयोग गरेको छैन । हामीले आशा गरेका छौं कि हाम्रो पार्टीले गलत निर्णय गर्ने छैन ।
० महाधिवेशनको सन्दर्भमा के भन्न चाहनुहुन्छ ?
— समाजवादी विद्यार्थी फोरम नेपालको यो महाधिवेशन एकताको प्रथम महाधिवेशन हो । त्यसकारणले यो महाधिवेशन ऐतिहासिक छ । यो राष्ट्रिय महाधिवेशनलाई सफल पार्नका निम्ति सबै पक्षबाट सहयोगको अपेक्षा राखेका छौं । यो राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न अपिल पनि गर्छौं ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया