० जनमत पार्टीको दोस्रो महाधिवेशनको तयारी कस्तो हुँदैछ ?
— जनमत पार्टी नेपालमा संघीयताप्रति प्रतिबद्ध, समानुपातिक समावेशी, लोकतन्त्र र सामाजिक न्यायको पक्षमा आवाज उठाउने पार्टी हो । जनमत पार्टी गठनपश्चात् हामीले पहिलो महाधिवेशन जनकपुरधाममा भव्यताका साथ सम्पन्न गरेका थियौं । सो महाधिवेशनको पाँच वर्ष पूरा भइसकेपछि नेपालको संवैधानिक व्यवस्थाअनुसार हामी दोस्रो महाधिवेशन वीरगन्जमा गर्दैछौं । हाम्रो निर्धारित महाधिवेशनको मिति असोज ९–१० गते थियो । तर, सम्भावित प्रतिकूल मौसमका कारण असोज १७ गते महाधिवेशन गर्ने मिति तय भएको छ । महाधिवेशनको सबै तयारी लगभग सम्पन्न भइसकेको थियो ।
० जनमत पार्टीको महाधिवेशनमा अन्य दलबाट अतिथिहरुलाई निम्तो दिनुभएको छ ?
— हामी अहिले ९ दलीय अग्रगामी मोर्चामा पनि छौं र सबै पार्टीका अध्यक्षहरुलाई निमन्त्रणा दिएका छौं । त्यस्तै, नेपालको संघीय संसद र प्रदेशमा प्रतिनिधित्व गर्ने सम्पूर्ण पार्टीका अध्यक्षहरुलाई निमन्त्रणा दिएका छौं । हाम्रो महाधिवेशनमा करिब २० भन्दा बढी दलका नेतृत्वलाई बोलाएका छौं ।
० जनमत पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको मधेशको अधिकार र वैकल्पिक राजनीति भन्ने नारा थियो, त्यो कहाँसम्म पुग्यो ?
— हामीले अहिले पनि सैद्धान्तिक रुपमा मधेश र मधेशीको अधिकारका लागि लड्दै आएका छौं । हामी त्यहीं दिशामा अहिले पनि छौं । त्यसका लागि नै पार्टीलाई संस्थागत गर्दै अगाडि बढिरहेका छौं । हाम्रो महाधिवेशनको मूल एजेण्डा मधेश र मधेशीको अधिकारलाई संस्थागत स्वरुप दिनु र नेतृत्व चयन गर्नु नै रहेको छ ।
० जनताले अपेक्षाअनुरुप परिवर्तन ल्याउन नसकेको आरोप तपाइँहरु माथि छ । जसको परिणाम गत संघीय निर्वाचनमा पनि देखियो । के भन्नुहुन्छ ?
— अवश्य पनि मधेशका जनताको ठूलो अपेक्षा जनमत पार्टीसँग छ । मधेशका सबै समस्या जनमत पार्टीले समाधान गरिदिउन भन्ने अपेक्षा जहिले पनि हुन्छ । हामीले मधेशका समस्या समाधानका लागि हामीसँग त्यो किसिमको मत आउँदैन । हामीसँग त्यो किसिमको शक्ति आर्जन नभएकोले जनताका सम्पूर्ण अपेक्षा पूरा गर्न सकिरहेका छैनौं । जहाँसम्म गत संघीय चुनावको कुरा छ, त्यसको त अलि फरक नै माहोल थियो, जसले गर्दा जनमत पार्टी मात्र नभई सबै पार्टीलाई समस्या परेको हो । तर हामी जहिले पनि आफ्नो सैद्धान्तिक मूल्य र मान्यतालाई आधार बनाउँदै आगामी दिनमा संघर्षका बाटो तय गर्दैछौं ।
० जनमत पार्टीको आसन्न दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा डा.सीके राउत निर्विरोध भइसकेको अवस्था छ । तपाइँको पार्टीमा डा.राउतको विकल्प छैन ?
— जनमत पार्टीमा अध्यक्ष डा.सीके राउतको विकल्पको आवश्यकता छैन । कुनै पनि राजनीतिक पार्टीमा अध्यक्षको विकल्प किन खोजिन्छ भन्ने प्रश्नका पछाडि नेतृत्वको कार्यशैली, पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र पार्टीको भविष्यजस्ता विषय जोडिएका हुन्छन्। डा.सीके राउत पार्टीका संस्थापक र फेस भ्यालु पनि हो । त्यसैले अहिले जनमत पार्टीलाई उहाँले नेतृत्व गर्दै हुनुहुन्छ । त्यसले गर्दा पनि आगामी महाधिवेशनमा पनि अध्यक्षका लागि डा.राउत सर्वसम्मत हुनुहुन्छ ।
० पार्टीभित्र अध्यक्ष डा.सीके राउतको नेतृत्व अत्याधिक केन्द्रिकृत हुँदै गएको र निर्णय प्रक्रियामा अन्य नेताको भूमिका कमजोर हुँदै गएको आरोप छ नि ?
— बाहिर त्यस्ता कुराहरु केही मान्छेले गर्छन् तर हरेक निर्णय प्रक्रियामा पार्टीको सचिवालय र कार्यकारिणी समितिको बैठकमा छलफल भएर नै निर्णयहरु हुने गरेका छन् । बाहिरका केही मान्छे जो हाम्रा विरोधीहरु हुन् उनीहरुले भन्ने गरेका हुन्छन् कि डा.राउतको एकल निर्णय भयो, तर त्यस्तो होइन ।
० यो महाधिवेशनबाट जनतालाई जनमत पार्टीले के नयाँ कुरा दिन्छ त ?
— जनमत पार्टीको अब पुनर्संरचनाको पनि कुरा छ । यो महाधिवेशनमा थुप्रै नयाँ युवा साथीहरु जोडिनु भएका छन् । यो महाधिवेशनमा पहिलाभन्दा अलि फरक उम्मेद्वारहरु पनि छन् । फरक विचारका उम्मेद्वारहरुलाई संस्थागतरुपमा ल्याउनेछौं । राजनीतिक प्रतिवेदनहरु पनि आउनेछ र सांगठनिक नयाँ संरचना अगाडि बढाउँदै चुनावी गतिविधिहरु कसरी अगाडि बढाउने ती कुराहरु पनि आउनेछन् । आगामी प्रदेश र स्थानीय चुनाव पनि आउँदैछ । सोहीअनुसार हामी आफ्नो नयाँ रणनीति र योजना ल्याउनेछौं ।
० जनमत पार्टीले मधेशको मुद्दालाई राष्ट्रिय राजनीतिमा बलियोसँग उठाउने प्रतिबद्धता गरेको थियो, तर सरकार र सत्तासँगको सहकार्यका क्रममा मधेशका मूल मुद्दामा जनमत पार्टी सम्झौतामुखी बनेको आरोप छ । यसलाई कसरी चिर्नु हुन्छ ?
— जनमत पार्टी हमेशा मधेश र मधेशीको मुद्दामा काम गर्दै आएको पार्टी हो । सरकारमा गएको बेला कति गर्न सकियो कति सकिएन त्यो छुट्टै कुरा हो । त्यसमा आफ्नै किसिमका समस्याहरुले गर्दा गर्न सकिएन । तर पार्टी सैद्धान्तिक रुपमा मधेश र मधेशीको अधिकारका लागि हमेशा आवाज उठाउँदै आएको छ । जनमत पार्टीले हमेशा संदनमा पनि मधेशका एजेण्डाहरु जोडदाररुपमा उठाउँदै आएको छ । अब छठपछि सडक संघर्षमा जनमत पार्टी जाँदैछ ।
० जनमत पार्टीका थुप्रै संस्थापक नेताहरुले पार्टी छोडिसकेका छन्, उनीहरुले विभिन्न आरोपहरु लगाएका छन्, यसलाई कसरी हेर्नुभएको छ ?
— जनमत पार्टी लोकतान्त्रिक मूल्यमान्यतामा चलिरहेको पार्टी हो । मान्छे आफ्नो व्यक्तिगत स्वतन्त्रता हुन्छ, जसलाई पार्टी बस्न मन लाग्छ बस्छ, नभए छोडेर जान्छन् । विचार मिलेसम्म एक ठाउँमा बस्छन्, विचार मिल्दैन भने छोडेर जान्छन् । यो महाधिवेशनपछि जनमत पार्टी एकढिक्का भएर अगाडि बढ्छ ।
० यो महाधिवेशनपछि जनमत पार्टी मधेशको वैकल्पिक शक्तिको रुपमा आउँछ त ?
— हामी पहिला पनि वैकल्पिक शक्ति नै थियौं । यो महाधिवेशनपछि संगठित र सृदृढ भएर फेरि वैकल्पिकरुपमा अगाडि बढ्छौं ।
० जनमत पार्टी मधेश प्रदेशको सरकारमा पटक–पटक सहभागी भयो, एक पटक सरकारको नेतृत्व नै गर्यो । जनताका कति अपेक्षा पूरा भयो त ?
— खासमा मधेश प्रदेशमा जनता पार्टीले नेतृत्व लिए पनि राम्रोसँग काम गर्ने अवस्था थिएन । किनभने जनमत पार्टीको आफ्नो बहुमतको सरकार थिएन । गठबन्धनको सरकारको नेतृत्व जनमत पार्टीले गरेको थियो । विभिन्न पार्टीसँग गठबन्धन गरेर सरकार चलाउँदा काम गर्न एकदमै असजिलो हुने गरेको छ । म आफै पनि तीन पटक मन्त्री भएँ । प्रत्येक पटक करिब ३–४ महिनामै हट्नुपर्ने स्थिति आयो । जब–जब काम गर्न थाल्यो कि गठबन्धनका अन्य दलहरुले असहयोग गरेका थिए । हामीले राम्रो एजेण्डासहित जनताको हितमा काम गर्न थाल्दा ती दलहरुलाई लाग्थ्यो कि जनमत पार्टीको प्रचार हुन्छ, जनताले वाहवाही गर्छन् र जनताले जनमत पार्टीलाई विश्वास गर्छन् भनेर कामै गर्न नदिने स्थिति थियो । पछिल्लो सरकारमा पनि हामी थियौं, तर सरकार छोडेर हामी बाहिर आएका छौं र सरकारमा नजाने पनि हामीले निर्णय गरिसकेका छौं । अब हामी आगामी चुनावको तयारीमा छौं । हामीले अग्रगामी मोर्चा पनि बनाएका छौं । आगामी चुनावमा मोर्चाले बहुमत ल्याएपछि मात्रै सरकारमा जाने योजना रहेको छ । बहुमत भएपछि मात्रै काम गर्न सजिलो हुन्छ । हामी सरकारमा गएर अनुभव पनि प्राप्त गरेका छौं । हाम्रो बहुमत आएपछि मात्रै सरकारमा जाने कुरो भएको हो । सोहीअनुसार हामी अगाडि बढ्दै छौं ।
तपाईको प्रतिक्रिया