० जनमत पार्टीले सरकारसँग गरेको ११ बुँदे सम्झौताको कार्यान्वयनको अवस्था कस्तो रहेको छ ?
— सम्झौता कार्यान्वयन समितिको म संयोजक थिएँ । यो प्रक्रिया धेरै अगाडि बढिसकेको छ । राममनोहरजीको परिवारलाई रोजगारी दिनुपर्ने भनेका थियौं त्यो काम भइसकेको छ । त्यसपछि सार्वजनिक अपराध मुद्दाको निर्णयमा पुग्ने काम पनि हुँदैछ । त्यसपछि सीके राउतलगायत दर्जनौं नेता तथा कार्यकर्तामाथि राज्यद्रोह, सांगठनिक अपराधको मुद्दाहरू थियो त्यो पनि समाधानको प्रक्रियामै रहेको छ । सम्झौता कार्यान्वयन गर्न सरकार पनि लागिरहेको छ । सम्झौता पूर्ण कार्यान्वयन हुनेमा हामी विश्वस्त छौं ।
० ११ बुँदे सम्झौता मधेशका लागि ठूलो विजय हो भन्नुभएको थियो, तर त्यो सम्झौतामा स्वतन्त्र मधेश गठबन्धन र सरकारको विषयहरू मात्र छ । त्यसलाई मधेशको विजय हो भनेर कसरी भन्ने ?
— हामीसँग नेपाल सरकारले गरेको ११ बुँदे सम्झौता मधेशका लागि ठूलो विजय नै हो । हामीले एकचोटि सम्झौता ग¥यौं त्यसको सरकारले कार्यान्वयन पछि गर्दैछ । तर, आजको मितिसम्म मधेशी दलहरूले सरकारसँग कयौंपटक विभिन्न मुद्दामा सम्झौता गरे तर कुनै पनि कार्यान्वयन हुन सकेको छैन । हामीले गरेको सम्झौता कार्यान्वयन हुने चरणमा छ । डा. सीके राउतको स्वतन्त्र मधेश गठबन्धनको जो अवधारणा रहेको थियो त्यसले नेपाल तरंगित भइसकेको अवस्था थियो । मधेश देशबाट नै अलग हुन्छ कि भनेर जनतामा भय उत्पन्न भएको अवस्था थियो । तर, डा. सीके राउत जस्तो नेता देशकै लागि आवश्यक छ भनेर सरकारले पनि स्वीकार गरेको अवस्था रह्यो । डा. सीके राउतले मधेशलगायत देशलाई नै समेटेर अगाडि बढ्ने निर्णयमा पुग्नुमा मधेशलाई बेफाइदा हुँदैन ।
० यो त तत्कालिक स्वतन्त्र मधेश गठबन्धनका लागि खुसीको विषय भयो तर मधेशी जनताले के पाउँछन् ? डा. सीके राउत जस्ता अन्य व्यक्ति मधेशमा छैनन् ?
— आजसम्म मधेशी कुनै नेताले जेल जीवन बिताएर आएका छैनन् । आज सीके राउतको जस्तो व्यक्तित्व भएको नेता मधेशमा मात्र होइन एशियामै कम छ । त्यसैले नै जनताले उहाँलाई विश्वास गरेर उहाँको निर्णय स्वीकार गरिरहेका छन् । जनतामा जनमत पार्टीमाथि विश्वास रहेको छ । हामी मधेशसहित देशकै लागि केही काम गर्न सक्छौं भन्ने हामीलाई आशा छ । डा. सीके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले नै अबका दिनमा मधेशमा केही गर्न सक्छ । मधेशी दलले अब केही गर्छन् आशा न मधेशी जनतामा रहेको छ न हामीमा नै छ ।
० सीके राउतको पछिल्लो जेल बसाइबाट आत्तिएर सरकारसँग सम्झौता गरेको हो भनेर पनि आँकलन गरिँदैछ नि ?
— यी सबै मनगढन्ते कुराहरू हुन् । यसको कुनै आधार पनि छैन । यस्तो कुराहरूमा विश्वास गर्न जरूरी पनि छैन ।
० स्वतन्त्र मधेशको मुद्दाबाट पछि हट्नै नसक्ने अडानबाट एक्कासी मूलधारको राजनीतिमा आउने दिव्यज्ञान कहाँबाट पाउनुभयो ?
— संगठनले जुन निर्णय लिन्छ त्यो कुरा हामीले स्वीकार गर्नुपर्छ । मधेशको समग्र विकास र हक–अधिकारका लागि नै हामीले त्यो बाटो अवलम्बन गरेका थियौं । तर, राज्यले हामीलाई यही राष्ट्रमा रहेर मधेशका समस्याहरू समाधान गर्ने मौका दिएपछि हामीले त्यसलाई स्वीकार गरेर मूलधारको राजनीतिमा आएका हौं । यति दिनसम्म मधेशीले संघर्ष गर्दै आएका छन्, कहाँसम्म उपलब्धि भएका छन् ? तर, डा.सीके राउतको बलको आधारमा मधेशका मुद्दाहरू समाधान हुनेतिर अगाडि बढेको छ । उहाँको विद्वताको आधारमा जनता अगाडि बढेका छन् ।
० तपाइँहरूको विगतका गतिविधि मधेश आन्दोलन र मधेशी दलहरूलाई कमजोर बनाउने खालको देखियो नि ? गत चुनावमा पनि तपाइँहरूले कोठली बाहर मतदान गरेर मधेशी दलहरूकै भोट काट्नुभयो नि ?
— हामीले कोठली बाहर मतदान अभियान मधेशकेन्द्रित दलहरूलाई कमजोर बनाउनका लागि होइन, आफ्नो उपस्थिति देखाउनका लागि चलाएका थियौं । त्यो बेला हामी स्वतन्त्र मधेशको एजेन्डा बोकेका थियौं । चुनावमा हामी कोठली बाहर मतदानको आधारमा आफ्नो पक्षमा जनताको उपस्थितिका लागि त्यो अभियान चलाएका थियौं । तर, जनताले राजनीतिक दल, चुनाव चिन्ह माग्यो । अर्को कुरा, हामीले कुनै दलविशेषलाई लक्षित गरी आफ्नो गतिविधि चलाएका थिएनौं । उनीहरूले ६ महिनासम्म सीमा अवरोध गरे र फेरि संसदमा लुरूलुरू आएर प्रधानमन्त्रीको निर्वाचनमा सुशील कोराइलालाई मतदान पनि गरे । त्यसैले, यसमा हाम्रो उपस्थिति त कहीं पनि थिएन । जनताले बुझिसकेका छन्, अबको विकल्प डा.सीके राउत र जनमत पार्टी नै हो ।
० जनमत पार्टीको केन्द्रीय समिति ३५ सदस्यीय छन्, जसमा अध्यक्षबाहेक सबै सदस्यहरू मात्र छन् । अन्य पदाधिकारीहरू कसका खाली राख्नुभएको होला ?
— हामीले तत्काल निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि एउटा अध्यक्ष राखेर बाँकीलाई सदस्य रहने गरी पूर्ण समानुपातिक हिसावले केन्द्रीय समिति सार्वजनिक गरेका थियौं । अब सबैको कार्य मूल्यांकन हुन्छ र सबैलाई पदीय दायित्व दिइन्छ । तत्कालीन अवस्थामा हाम्रो एउटा विद्रोही संगठन थियो तर अब पार्टीरूपमा आएपछि विस्तारै सबैलाई पदीय दायित्व दिइनेछ ।
० तर, जनमत पार्टीमा अध्यक्षबाहेक अन्य पदाधिकारीहरू हुँदैन ?
— विस्तारै यसमा पदीय दायित्वहरू थपिँदै जानेछ । आगामी दिनमा हाम्रो पार्टीको केन्द्रीय समिति ३५ सदस्यीय मात्र नभएर करिब दुई सयभन्दा बढी पनि हुनसक्छ । हाम्रो पार्टी गठन भएको धेरै समय पनि भएको छैन । विस्तारै हामीले केन्द्रीय समितिलाई विस्तार गर्दै पदीय दायित्वलाई बाँडौंला ।
० तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका कतिपय नेता कार्यकर्ताहरू असन्तुष्ट छन् नि ?
— साथीभाईहरूमा अलि–अलि असन्तुष्टि हुनसक्छन् । तर, हामी सबैलाई समेटेर अगाडि बढ्ने क्रममा छौं ।
० डा.सीके राउतलाई संसदमा ल्याउने कुरा चर्चा पनि छ नि ?
— यी सबै अनर्गल प्रचार मात्रै हो । तत्काल हामी कुनै पनि संसदमा जाने सोचमा छैनौं । उहाँ जनताबाट निर्वाचित भएर संसदमा आउनुहुन्छ, जनताले चाह्यो भने । त्यसैले हामीले जनमत पार्टी भनेर नाम राखेका छौं । जनमतको आधारमा जनताले हामीले जे आदेश दिन्छ, त्यो अनुसारले हामी प्रतिनिधित्व गर्छौं ।
० आगामी निर्वाचनमा डा.सीके राउतले प्रदेश २ मा ‘क्लिनस्वीप’ गर्ने दाबी गर्नुभएको छ । त्यसका आधारहरू के–के छन् ?
— हामीले प्रदेश २ मा आगामी निर्वाचन ‘क्लिनस्वीप’ गर्ने धेरै आधारहरू छन् । अन्य प्रदेशहरूमा पनि हाम्रो राम्रो उपस्थिति रहनेछ । हामीले त्यसका लागि गृहकार्यमा लागेका छौं । ‘क्लिनस्वीप’ गर्ने आधारहरूबारे विस्तारै सबैले थाहा पाउँछन् ।
० प्रदेश २ को नामाकरणका लागि बहस चलिरहेको छ, सबैले आ–आफ्ना तर्कहरू दिइरहेका छन् । जनमतको धारणा के हो ?
— प्रदेश २ को नामका बारे अहिले हाम्रो कुनै धारणा छैन । यो कुरा समग्र मधेश प्रदेश भन्नेहरूलाई सोध्नुस् । मधेशका आठ जिल्ला अहिले प्रदेश २ छ, लामो समय बितिसक्दा पनि नाम टुंग्याउन सकेको छैन । जब हाम्रो बेला आउँछ, त्यसबेला हामी गरौंला । अहिले हामीले यसको जिम्मा त्यहाँका सरकारलाई नै दिएका छौं ।
(मधेशवाणीका रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया