० वर्तमान सरकार बनेपछि नेपाल–भारत सम्बन्धलाई कसरी व्याख्या गर्नुहुन्छ ?
— वर्तमान सरकारले नयाँ सोचका साथ अगाडि बढिरहेको छ । नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन नयाँ किसिमको सुरूआत भएको हो । सम्बन्धलाई समयानुकूल तथा प्रगाढ बनाउने दिशमा गइरहेको जस्तो मलाई लाग्छ । यसबीचमा दुवै देशका सरकार प्रमुखहरूको भएको भ्रमण आदान–प्रदानले पनि पहिलाको भन्दा अहिले अलि सम्बन्धमा परिवर्तन आएको हो ।
० सम्बन्धमा नयाँपन आएको भन्नुहुन्छ, कसरी ?
— नेपालको सन्दर्भमा भारतको सहयोगबिना नेपालको विकास र भारतको पनि सन्तुलित विकासका लागि नेपालको सहयोग रहेकोले दुवै एकअर्काका परिपूरकको रूपमा देखिएको छ । ७० प्रतिशतभन्दा नेपालले भारतबाट आयात गरेको छ, यो यथार्थलाई नेपालले बुझेको छ । त्यसैले, दुबै देशबीचको सम्बन्धको सन्तुलितरूपमा हुनुपर्छ । अहिले यथार्थताका आधारमा सम्बन्ध अगाडि बढिरहेको छ । त्यसैले पहिलाको भन्दा अहिले सम्बन्धमा नयाँपन आएको हो । विशेष गरेर आर्थिक मामिलामा यथार्थको आधारमा भारतबाट सहयोग प्राप्त भइरहेको छ ।
० भनेपछि पहिला सम्बन्ध सिद्धान्तमा मात्र थियो तर अहिले व्यवहारमा देखिन थालेको छ ?
— बिल्कुल । नेपालका विभिन्न स्थानहरूबाट भारतका विभिन्न शहरहरूका सिधा बस सेवा सुरू भएको छ । आर्थिक, सामाजिक र धार्मिक रूपमै सम्बन्ध अगाडि बढेको छ । काठमाडौं, पोखरा, जनकपुरधाम, धनगढी, नेपालगन्ज लगायतका स्थानबाट नेपाली नम्बर प्लेटको बस सिधै दिल्लीसम्म जाँदैछन् । भारतबाट पनि भारतीय नम्बर प्लेटका पर्यटकीय बसहरू आउँदैछन् । त्यसले गर्दा निश्चितरूपमा नेपालका पर्यटकीय स्थलहरूमा भारतीय पर्यटकहरूको बढोत्तरी भएको छ । त्यसको प्रभाव स्थानीय जनसमुदायमा पनि देखिएको छ ।
० केपी पहिलोपटक प्रधानमन्त्री हुँदा उनको भारतसँगको सम्बन्ध राम्रो देखिएको थिएन तर, अहिले सम्बन्ध राम्रो भएको बताइन्छ । यस अर्थमा नेपालप्रति भारतको युटर्न भएको कि ओलीको भारतप्रति ?
— नेपालप्रति भारतको युटर्न वा केपी ओलीको भारतप्रति युटर्न भएको भन्नुभन्दा पनि यथार्थलाई बुझेर सम्बन्ध र आवश्यकता नियालेको हुनुपर्छ । यथार्थपरक कुराहरू भइरहेको हुनाले सम्बन्धहरू अझ बढी बजबुत र लामो किसिमले अगाडि बढ्दैछ । यसमा शंका गर्नुपर्ने ठाउँ छैन ।
० आगामी नोभेम्बरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पाँचौंपटक नेपाल भ्रमण हुन लागेको छ । उनको यो तारन्तार भ्रमणलाई कसरी लिनुहुन्छ ?
— भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालप्रति खासगरी धार्मिक तथा अध्यात्मिकता बढी रहेको देखिएको छ । राजनीतिकरूपमा हेर्दा भारत र नेपालबीचको सम्बन्धमा अझ बढी प्रगाढताका लागि उहाँको इच्छा सदैव रहेकोले नेपाल भ्रमणलाई सदुपयोग गर्ने विगतका दिनमा देखिएको छ । उहाँको लगातारको भ्रमणलाई अन्यथा नलिई सामान्यरूपमा लिनुपर्छ । उहाँको लागि नेपाल–भारत सम्बन्ध विशिष्टरूपमा रहिआएको देखिन्छ ।
० विगतमा करिब १७ वर्षसम्म भारतका कुनै पनि प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिएनन् । तर, मोदी प्रधानमन्त्री हुँदा उहाँ आफ्नो एकै कार्यकालमा पाँचौंपटक भ्रमण गर्दै हुनुहुन्छ । यसले गर्दा अन्तर्राष्ट्रिय जगतमा कस्तो सन्देश जान्छ त ?
— नेपाल र भारतबीचमा जुन भाषा, संस्कृति करिब–करिब समान भएकोले निश्चितरूपमा बढी आवत जावत हुने स्वाभाविक हो । उहाँको आगमनले नेपाललाई जहाँसम्म लाभ नै भएको छ । उहाँ नेपालका धार्मिक स्थलहरूमा भ्रमण गर्दा त्यहाँ अन्तर्राष्ट्रिय जगतको समेत ध्यान केन्द्रित भएको छ । ती धार्मिक स्थलहरूमा बाह्य पर्यटकहरूको पनि केन्द्र बन्न थालेको छ । त्यसले गर्दा समान संस्कृतिको आदानप्रदान पनि भएको छ ।
० मोदीको पटक–पटकको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कतिको महत्व राख्छ त ?
— उहाँको पटक–पटकको नेपाल भ्रमणले सम्बन्धलाई बनाउन ठूलो महत्व राख्छ । दुई देशबीच जसरी विशिष्ट सम्बन्ध छ, यस्तो सम्बन्ध विश्वमै कहीं छैन । त्यसमा ठूलो सहयोग पुगेको छ । यस्ता खालका भ्रमणहरू भइराख्नुपर्छ ।
० मोदीको भ्रमणमा रणनीतिक अर्थ पनि लुकेको छ कि ?
— त्यस्तो खासै रणनीतिक अर्थ लुकेको जस्तो मलाई लाग्दैन । यसलाई सामान्यरूपमा लिनुपर्छ । विगतमा समयमा केही असहजताको वातावरण बनेको थियो । सायद त्यसको छायाले पनि छोएको हो कि । तर, यस्ता खालका भ्रमणहरूले सम्बन्धलाई आउँदा दिनमा झन् सुदृद्ध र बलियो हुँदै जान्छ । यस्ता भ्रमणले गर्दा नेपाल वा भारतका जनतामा कुनै किसिमको असर परेको छैन । विभिन्न राजनीतिक सोचहरूमा फरक आए तापनि हाम्रो सम्बन्ध अटुट र हल्लिनेवाला छैन ।
० सम्बन्ध अझ बलियो बनाउन नेपालले के गर्नुपर्ने हो ?
— यस सन्दर्भमा नेपाल सरकारले पनि धेरै चासो लिएको छ । हाम्रो सम्बन्धलाई अझ बढी विकसित गर्न धेरै प्रयासहरू भइरहेको छ । दुई देशबीच रहेका असहमति र असमझदारीलाई हटाउन दुवै देश सकारात्मक देखिएको छ ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया