० कांग्रेसले विजयकुमार गच्छदारलाई उपसभापति चयन गरेको छ, यसलाई कसरी लिनुभएको छ ?
— ढिलै भएपनि एकीकरणका बेला नेपाल लोकतान्त्रिक फोरमसँग भएको सहमतिमा नेताहरूले इमान्दारिता देखाउनुभयो । यसलाई स्वागतयोग्य नै भन्नुपर्छ । यद्यपि यो प्रक्रियाले चाँडै नै पूर्णत पाएको भए कांग्रेसलाई थप सहयोग र बल पुग्थ्यो ।
० गच्छदारलाई उपसभापति चयन गरिसकेपछि अब तपाइँहरूको असन्तुष्टि छैन ?
— हामीसँग भएको सहमतिप्रति इमान्दारिता देखाइएन भन्ने नै थियो । तर, अहिले आएर विजयकुमार गच्छदारज्यूलाई उपसभापति बनाइएको छ, यसलाई स्वागतयोग्य कदम मानेका छौं । जुन किसिमको निरासापन छाएको थियो त्यसमा केही हदसम्म हटाएको छ र समायोजन प्रक्रिया छिट्टै टुंगिने छ भन्ने हौसला र ऊर्जा पनि प्राप्त भएको छ ।
० भनेपछि सहमतिअनुसार समायोजन कहिलेसम्म होला ?
— उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा समायोजन समिति बनेको छ । सो समितिले प्रक्रिया पूरा गरेर छिट्टै नै समायोजन प्रक्रिया टुंग्याउँछ भन्ने आशा गरेका छौं । पार्टीभित्रका आन्तरिक कुराहरू मिलाउनका लागि केही समस्या र व्यवधानहरू हुन्छन् नै । हाम्रा पूर्वपार्टीमा रहेका नेताहरूको अध्यक्षज्यूले मूल्यांकन गर्नुभएको छ ।
० कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एकीकरणका बेला के सहमति भएको थियो ?
— हाम्रा पार्टीभित्र रहेका सबै नेताहरूको व्यवस्थापनका कुरा थियो । पार्टी अध्यक्षलाई उपसभापति दिने भन्ने कुरा नै मूल विषय थियो । यो सँगसँगै केन्द्रीय कार्य समितिमा सहभागिताको कुरा, जिल्ला संगठनदेखि तल्लो निकायसम्म प्रक्रियागत रूपमा क्षमता र आवश्यकताको आधारमा टुंग्याउने भन्ने सहमति थियो ।
० अध्यक्षपछिका नेताहरूलाई कुन पद दिनुपर्ने हो ?
— उपसभापति हुनुभएका हाम्रा पूर्वअध्यक्ष गच्छदारलाई नै जिम्मा दिएका छौं । को साथीलाई कुन पदमा समायोजन गर्ने भन्ने कुराको सम्पूर्ण जिम्मेवारी गच्छदारलाई नै दिएको हुनाले उहाँले नै यस सन्दर्भमा अन्तिम निर्णय लिनुहुनेछ । पदको हिसावले भन्नुपर्दा अन्य साथीहरूलाई केन्द्रीय कार्यसमितिभित्र रहने गरी समायोजन प्रक्रिया टुगिंन्छ ।
० गच्छदारलाई उपसभापति बनाइँदा कांग्रेसकै एक खेमा विरोध जनाएको थियो नि ?
— राजनीतिक सहमति बन्यो भने विधि र विधानमा नभए पनि मान्यता पाएका हुन्छन् । राजनीतिक दलमा विभिन्न विचारहरू स्वाभाविक नै हो । त्यसैले ती विवादहरूलाई राजनीतिक सहमतिकै आधारमा टुंग्याउनुपर्छ । विरोध गर्नेहरूले पनि फोरम लोकतान्त्रिकसँग भएको सहमति किन टुंगिएन भन्ने कुरा गर्दै आउनुभएको थियो ।
० पार्टीभित्रको गुटउपगुटले कांग्रेसलाई कतिको क्षति पु¥याएको छ ?
— स्वाभाविक रूपमा कांग्रेस अहिले जुन अवस्थामा छ त्यसको एउटा कारण गुटउपयुटको राजनीति पनि हो । कांग्रेसको यस्तो अवस्था हुनु गुटउपगुट पनि एउटा कारण हो भने बाह्य कारणहरू पनि छन् । बाह्य कारण भनेको वामपन्थीहरू चुनावमा मिलेर गएको कारण पनि हो । आन्तरिक कारणमा गुटउपगुटमा कांग्रेस अल्झिएको हुनाले त्यसले निश्चितरूपमा क्षति पु¥याएकै हो । अहिले गुटउपगुटको राजनीतिभन्दा पनि जसरी मुलुकमा अहिले लोकतान्त्रिक शासन व्यवस्था संकटमा परेको छ त्यसको कारण पनि कारण हो । दुई तिहाईको कम्युनिष्टको सरकारले मुलुकलाई जसरी चलाउनुपर्ने थियो त्यस्तो देखिएको छैन । त्यसैले मुलुकमा कांग्रेसको नेतृत्व खड्किएको हो ।
० तपाइँहरू कांग्रेसमा समाहित भइसकेपछि तपाइँहरूले पनि कुनै बनाउनुभएको छ कि ?
— हामीले कुनै गुट बनाएका छैनौं र पार्टीमा गुटउपगुट रहनु हुँदैन भन्ने कुरामा विश्वास गर्छौं । अहिले कांग्रेसको जुन अवस्था छ त्यसको मुख्य कारण गुटउपगुट पनि रहेको छ । त्यसैले, फेरि गुटउपगुटकै राजनीति गर्ने हो भने कांग्रेसलाई क्षति नै पु¥याउँछ । कांग्रेस भर्खरै नराम्रोसँग हार व्यहोरेको छ, त्यसबाट हामीले पाठ सिकिसकेका छौं । कांग्रेसमा देखिएका देउवा, पौडेल, सिटौला, कोइराला लगायतका गुटहरू भनेर जसरी भनिन्छ तर उहाँहरू गुट नभएर कांग्रेसका पिलरहरू हुन् । सबै पिलरहरू मिलेर त कांग्रेस एउटा मजबुत पार्टी बनेको छ ।
० वर्तमान अवस्थामा कांग्रेसको मधेश नीति कस्तो पाउनुहुन्छ ?
— इतिहासलाई हेर्ने हो भने कांग्रेसले मधेशलाई हेर्ने दृष्टिकोण तुलनात्मकरूपमा वामहरूभन्दा धेरै नै सकारात्मक नै हो । कांग्रेसको जग नै मधेश हो भन्ने कुरा कांग्रेसले बिर्सेको छैन । तथापि केही साथीहरूले क्रान्तिकारी कुरा गरेर कांग्रेसले इमान्दारिता देखाएन भन्ने आरोप लगाउनुहुन्छ । कांग्रेस एक्लै मात्र चाहेर पनि मधेशका सबै मुद्दा सम्बोधन गर्न सक्दैन । तर, हामी चाहन्छौं कि मधेशमा देखिएका समस्याहरूलाई समाधान गर्नुको साटो केही कम्युनिष्टहरूले राष्ट्रियताको नाम दिएका छन् । मधेशका समस्या सम्बोधनका निम्ति कांग्रेस जहिले पनि सकारात्मक नै रहन्छ ।
० यदि कांग्रेसको जग नै मधेश हो भने आजसम्म नेतृत्वमा कुनै मधेशी किन पुग्न सकेन त ?
— यो कुरामा कांग्रेसभन्दा पनि केही मानसिकताहरू छन् । त्यसमा मधेशी समुदायका नेताहरू पनि आफ्नो अग्रसरता लिन सक्नुपर्दथ्यो तर नसकेको पनि त यथार्थ हो । कुनै राजनीतिक दलको नेतृत्व कसैले फुलमाला लगाएर दिने विषय त होइन । नेतृत्व भनेको आफ्नो संघर्ष र क्षमताले त्यहाँसम्म पुग्ने विषय पनि हो । यद्यपि, संविधानसभा गठन भएदेखि मधेशकै व्यक्तिहरू ठूलाठूला पदमा पुग्न पाए । राष्ट्रपति, उपराष्ट्रपति मधेशकै नेताहरू भए । त्यसैले, नेतृत्वमा पुग्न आफ्नो क्षमता र योग्यता पनि देखाउनुपर्छ । तर, केही हदसम्म पहाडी मानसिकता पनि देखिएको छ । केही मधेशी नेतृत्वमा पनि त्यहीं मानसिकता छ । समग्र राष्ट्रप्रति राष्ट्रिय सोचको अभाव पनि देखिएको छ । मधेश र पहाडका बारेमा समान धारणा राख्नुपर्ने हुन्छ ।
० विगतमा कांग्रेसले सरकारको नेतृत्व गर्दा मधेशका समस्याहरू समाधान गर्ने प्रयास गरेन नि ?
— कांग्रेसले मधेशको समस्या समाधान गर्न अग्रसरता देखाएन भन्नुभन्दा पनि अहिले त मधेशमा मधेशी नेतृत्वकै सरकार छ, के सबै समस्या समाधान भयो त । तर, तुलनात्मक रूपमा मधेश अहिले धेरै कुराहरूमा फड्को मारेको छ । कांग्रेसभित्र पनि मधेशका दिग्गज नेताहरू हुनुहुन्छ, यसले त राम्रो संकेत गरेको छ । आगामी दिनमा कांग्रेस मधेशमा थप बलियो भएर जान्छ र बाँकी रहेका कार्यभारहरू पूरा गर्नेछ । अब मधेशको मात्र कुरा गरेर हुँदैन । तुलनात्मकरूपमा मधेशका धेरै समस्याहरू समाधान भइसकेको छ ।
० कांग्रेसले संविधान संशोधनको मुद्दालाई आफ्नो मुद्दाको रूपमा कहिल्यै पनि उठाएन, किन ?
— संसदमा संविधान संशोधनको मस्यौदा दर्ता कांग्रेसले संशोधनको पक्षमा मतदान गरेको होइन ? त्यसैले कांग्रेस एकलो चाहेर संशोधन हुने विषय थिएन । तर, अहिले सरकारसँग दुई तिहाईको बहुमत छ, उपेन्द्र यादवजी त्यत्रो आन्दोलन गर्नुभयो, उहाँ पनि सरकारमै हुनुहुन्छ । तर, उहाँले पनि संविधान संशोधन गराउन सकिरहनुभएको छैन । जबकि यो सुविधा हामीसँग थिएन त्यतिबेला । हामी एक्लो चाहेर पनि संशोधन गर्न सक्ने स्थिति थिएन । तर, अहिले उपेन्द्र यादवजीसँग छ । तर गर्न सकिरहनुभएको छैन । त्यसैले समस्या कहाँ छ भनेर बुझ्न जरूरी छ । सबै मधेशीहरू राष्ट्रघाती हुन् भन्नेहरू आज उपेन्द्रजी नभइकन सरकार बन्दैन भनेर कसरी लाचारी देखाएर उपेन्द्रजीलाई सरकारमा लगे ? उपेन्द्रजी पनि केपी ओली जस्ता राष्ट्रघाती दुनियँमा छैन भनेर तर्क गर्ने मान्छे आज एक अर्काका सहयात्री भएका छन् । अहिले कति मजाको गठजोर बनेको छ, तर पनि संविधान संशोधन हुन नसक्ने अनि सबै दोष जति कांग्रेसमाथि थुपार्ने ? बरू अहिलेको सरकार संशोधनको प्रस्ताव संसदमा दर्ता गरोस्, हामी कांग्रेसको तर्फबाट पहलकदमी गर्छौं । मधेशले चाहेअनुसारको संशोधन प्रस्ताव आउँछ भने कांग्रेस संशोधनको पक्षमा मतदान गर्न तयार छ । कांग्रेस अहिले प्रतिपक्ष हुँदा पनि मधेशले चाहेअनुसारको संशोधनमा सघाउन जहिले पनि तयार हुन्छ । संशोधन मुलुकको हितका निम्ति जोडिएको हुनाले कांग्रेस संशोधनकै पक्षमा रहनेछ । तर, प्रस्ताव सरकारले संसदमा ल्याउनुप¥यो । त्यसले गर्दा सबै आरोप कांग्रेसमाथि नै लगाउनु निराधार हो । कतिपय कुरामा कांग्रेस चुकेको हुन सक्छ ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया