कांग्रेसले मधेशलाई भोटबैंकको रुपमा मात्र बुझ्यो : बजरंग नेपाली

अन्तर्वार्ता

6/25/2021

० नेपाली कांग्रेसको १४औं महाधिवेशन भाद्र महिनाको अन्त्यतिर हुने मिति तय भएको छ । तोकिएको मितिमा महाधिवेशन हुने सम्भावना छ ?

— कांग्रेसको महाधिवेशन गर्नैपर्ने वैधानिक बाध्यता छ । भाद्र महिनाभित्रै महाधिवेशन गर्नैपर्ने बाध्यतात्मक परिवेश छ । तर यो महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने विषयमा विभिन्न शंका उपशंकाहरु पनि गरिएको छ, जुन स्वाभाविक पनि हो । यसका दुई कारणहरु छन्, वैश्विक महामारी कोरोना र देशको राजनीतिक परिस्थिति । त्यसले भाद्रसम्म नेपालको कस्तो परिवेश रहन्छ त्यो एउटा कुरा हो । अहिले नेकपा एमालेको सरकारबाट जुन किसिमको गतिविधि भइरहेका छन्, जसले गर्दा देश कतातिर जान्छ त्यसमा पनि निर्भर हुने कुरा छ । तर पनि हामी कुनै न कुनै विधि प्रक्रियाले कांग्रेसको इतिहास जोगाउनका लागि जसरी पनि महाधिवेशन गर्नुपर्ने हुन्छ ।

० भाद्रमा महाधिवेशन भएन भने कांग्रेसमा वैधानिक संकट आउने अवस्था रहँदारहँदै पार्टी सरकार केन्द्रित किन भएको हो ?

— यो पनि कांग्रेसको लागि बाध्यात्मक परिस्थिति छ । नेपाली जनताले जुन पार्टीलाई यत्रो बहुमत दियो उसको नै पाँच वर्षसम्म सरकार चलोस्, प्रतिनिधिसभा रहोस् भन्ने चाहना कांग्रेसको छ । तर कम्युनिष्ट पार्टीभित्र अविश्वास, भाँडभैलो हुँदाहुँदै सरकार नै चलाउने अवस्थामा देखिँदैन । परिणामस्वरुप जालझेल गर्दै विभिन्न किसिमका समस्याहरु अहिले देखिरहेका छन् । यस्तो अवस्था मुलुकमा देखिरहँदा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भूमिका देखिएन भन्ने किसिमका आरोपहरु लाग्न थालेको थियो । यो बाध्यात्मक परिस्थितिमा कांग्रेसको सरकारको अगुवाई गर्ने प्रयास गरेको छ ।

० तत्काली नेकपासँग करिब दुई तिहाइको बहुमत थियो । तर आफ्नै पार्टीको सरकारलाई अहिलेका प्रचण्ड र माधव–झलनाथहरुले राम्ररी चल्न दिएनन् । कांग्रेस अहिले तिनीहरुसँग नै मिलेर सरकार बनाउन खोज्दैछ । कांग्रेसको सरकारको पनि त्यही हविगत हुँदैन भनेर कसरी विश्वास गर्न सकिन्छ ?

— यो प्रश्नमा सत्यता छ । जुन किसिमको परिस्थिति अहिले ओली सरकारको भएको छ भोली यो कांग्रेसको सरकारसँग पनि हुँदैन भनेर भन्न सकिँदैन । तर अहिलेको परिस्थितिमा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमबाट राष्ट्रले जुन पीडा भोग्नुपरेको छ, त्यस्ता प्रवृत्तिलाई परास्त गर्नका लागि कांग्रेसको यो एउटा बाध्यात्मक प्रयास हो । अर्को हामी सरकारभन्दा पनि नेपाली जनताले पाँच वर्षका जुन संसद निर्माण गरेको छ, त्यसको कदर गर्नका लागि यदि कांग्रेस सरकारमा जानैप¥यो भने यो संसदलाई जीवित बनाएर लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्छ । यो संसदको अब डेढ वर्षभन्दा केही समय बाँकी छ, त्योभन्दा पहिला हामी जनतामा जानु हुँदैन भन्ने जनचाहनाको कदर गर्न पनि कांग्रेस बाध्य भएको छ । किनभने लोकतन्त्र र संसदीय प्रणालीमा संसद नै मूल आधार हो । त्यो मूल आधारलाई जोगाउनका लागि यो अभ्यास भइरहेको छ । त्यसले कांग्रेसका सामु जोखिम छ । तर ओलीको तानाशाही प्रवृत्ति अन्त्य गर्नका लागि कांग्रेसले अग्रसरता लिन खोजेको हो ।

० कांग्रेसको प्राथमिकतामा सरकार हो कि महाधिवेशन ?

— कांग्रेसको प्राथमिकता भनेको महाधिवेशन नै हो । कांग्रेसको इतिहास र जीवनमाथि नै वैधानिक र संवैधानिक संकट छ । अहिलेको कोभिडको संकट र राजनीतिक द्वन्द्वको अवस्थामा कसरी महाधिवेशन सम्पन्न गर्ने विषयमा कांग्रेस केन्द्रित भएको छ । आजको युगमा धेरै किसिमका प्रविधि र प्रक्रियाहरु विकसित भइसकेका छन् । त्यसैले प्रविधिको प्रयोग गरेर कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने बाटोमा हामी लागेका छौं ।

० समयमै महाधिवेशन सम्पन्न गर्न तयारीको अवस्था के छ त ?

— महाधिवेशनको फेरि नयाँ क्यालेन्डर आएको छ । समयको एकदमै अभाव छ । कांग्रेस अहिले दोधारो अवस्थामा छ । यस्तो अवस्था आउनुको कारण कोभिड त छँदैछ र राजनीतिक कारण पनि छ । तर हाम्रा नेतृत्वले समयमै महाधिवेशनको तयारी गर्दा वा महाधिवेशन नै गराएको भए यस्तो अवस्था आउने थिएन । यस विषयमा हाम्रा केन्द्रीय नेतृत्वहरुले कमीकमजोरी गरेकै हुन् ।

० नयाँ क्यालेण्डरअनुसारको तयारी भएको हो ?

— हामीसँग समय एकदम कम छ, त्यसैले नयाँ क्यालेण्डरअनुसार युद्धस्तरमै तयारी गर्नुपर्ने बाध्यता पनि छ । अहिले कोभिडको कारणले भेलाहरु गर्ने वा बैठकहरु गर्ने अवस्था त छैन । यद्यपि तोकिएकै मितिमा कसरी महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र बहस चलिरहेको छ । मूल त क्रियाशील सदस्यता हो, त्यो टुंगो लागिसकेपछि विधि प्रक्रियामा प्रवेश हुन्छ ।

० कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि सात जनासम्म आकांक्षीहरु देखिएका छन् । यो महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व पाउने सम्भावना कतिको छ ?

— यसपटकको महाधिवेशनमा सभापतिका लागि धेरै आकांक्षीहरु देखिनु कांग्रेसका लागि राम्रो पक्ष हो । कांग्रेसजस्तो ऐतिहासिक पार्टीमा स्थायी चरम गुटबन्दी छ, जुन राम्रो पक्ष होइन । पार्टीभित्र स्थायी गुटबन्दी हुनुहुँदैन । तर यो महाधिवेशनले कांग्रेसको स्थायित्व गुटबन्दीलाई निरस्त गर्छ । कांग्रेसको अहिलेको विधान अत्यन्त समावेशी पनि हो । संविधानले जति क्लष्टर छुट्याएको छ, सोहीअनुसार कांग्रेसले आफ्नो विधानमा व्यवस्था गरेको छ ।

० कांग्रेसको आधारभूमि मधेश नै हो र कांग्रेसको इतिहासमा पहिलोपटक मधेशी मूलबाट सभापतिको आकांक्षी देखिनुभएको छ । यो महाधिवेशनबाट कांग्रेसले मधेशको नेतृत्वलाई स्वीकार गर्ने अवस्था छ कि छैन ?

— कांग्रेसको सभापतिको आकांक्षी देखिनुभएका विमलेन्द्र निधिलाई मधेशीको रुपमा मात्रै हेर्नु हुँदैन । उहाँ राष्ट्रिय नेताको रुपमा छवि बनाउनुभएको छ । मधेशी मूलका धेरै नेताहरु कांग्रेसमा ठूलो पदमा हुनुहुन्छ । विमलेन्द्र निधिजस्तो सशक्त नेतृत्वले पनि आफूलाई सभापतिको उम्मेदवारको आउनु भएको छ । यो कुरा महाधिवेशनले निर्णय गर्छ । अहिले सभापति शेरबहादुरजी पनि आफै लड्छु भन्नुभएको छ । अहिले नै भन्न सकिँदैन ।

० कांग्रेसले मधेशलाई भोटबैंकको रुपमा मात्रै प्रयोग गर्दै आएको आरोप लाग्दै आएको छ । मधेशी मूलका नेताले यसपटक नेतृत्व गर्न पाउने सम्भावना छैन ?

— यो कुरा पूर्णतः असत्य पनि छैन । यदि कांग्रेसले मधेशलाई भोटबैंकको रुपमा मात्र प्रयोग नगरेको भए पछिल्लो चुनावमा यस्तो कमजोर प्रस्तुती हुने थिएन । कांग्रेसले आफ्नो जनाधार भएको मधेशलाई आत्मसात गरेको भए आज मधेशमा कांग्रेसको बलियो उपस्थिति हुने थियो । यो कुरा अब कांग्रेसको नेतृत्वमाथि निर्भर छ । कांग्रेसका नेतृत्वले यसबारे सोच्नुपर्छ । यो गम्भीर विषय हो, यसबारे नेतृत्व र महाधिवेशन प्रतिनिधिहरुले सोच्नुपर्छ । नेतृत्व छान्ने काम महाधिवेशन प्रतिनिधिको हो । सबैले राष्ट्रिय स्वरुप दिन सक्यो भने कांग्रेसको लागि आगामी दिनमा राम्रो हुनेछ । कांग्रेस चलाउनु भनेको देश चलाउनु हो । निधिजी योग्य हुनुहुन्छ, उहाँले देश पनि चलाउन सक्नुहुन्छ र कांग्रेस पनि । यो कुरा महाधिवेशन प्रतिनिधि र नेतृत्वले आत्मसात गर्नुप¥यो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ