कथित मसिहा नै हुन् उपेन्द्र यादव : सांसद श्रीवास्तव

अन्तर्वार्ता

5/14/2021

० प्रधानमन्त्रीलाई विश्वासको मतका लागि बोलाइएको संसदको विशेष अधिवेशनमा जसपाको भूमिकाबारे के भन्नुहुन्छ ?

— आम जनताले के बुझिदिनुप¥यो भने मधेश र मधेशीको नाउँमा राजनीति गर्ने र भोट लिने मान्छेहरु आफ्नो स्वार्थका कारण एजेन्डा बिर्सेर गए । जुन नेतृत्वले मधेश र मधेशीको एजेन्डा पूरा गराउनका लागि सरकारसँग अनुरोध गर्दागर्दै पनि त्यसमा सहयोग गर्नुको साटो तुहाउने जस्ता काम गरे । हाम्रा नेता महन्थ ठाकुरले ओली सरकारसँग मधेशको मुद्दाहरु राखेर छलफलहरु गर्नुभयो र त्यही क्रममा सरकारले केही मागहरु पूरा पनि ग¥यो र केही पूरा गर्ने प्रक्रियामा छ अहिले । मधेश र मधेशीको नाउँमा राजनीति गर्ने नेताहरुले के बुझे भने महन्थ ठाकुरले त अब मधेशीहरुको माग पूरा गराउने भो, अब भोली के एजेन्डा लिएर जनताको भोट माग्न जाने त ? त्यसकारण उनीहरुले मधेश र मधेशीको माग पूरा नगरोस्, यो सरकारको बरु विरोध गरौं, ताकि पूरा नहोस् र भोली यसैलाई भजाएर हामी जनतालाई ठगौं भन्ने मनसायका साथ केही साथीहरुले मधेशीको जायज माग पूरा गराउने नियत देखाएका छैनन् । त्यसैको प्रतिफल विश्वासको मतको विपक्षमा मतदान गरेको बुझ्न सकिन्छ ।

० प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नेहरु मधेशको माग र मुद्दा सम्बोधन चाहेका छैनन् त ?

— बिल्कुलै छैन । बाबुराम भट्टराईजी कहिले मधेशको समस्या हेर्नुभएको छ र । उहाँ माओवादीमा हुँदा मधेशलाई नै शोषण गर्नुभयो, जे–जे गर्नु थियो सबै गर्नुभयो । उहाँले मधेश र मधेशीलाई ललिपप पनि देखाउनुभउो । उहाँहरुको मधेशप्रति कुनै भावना नै छैन नि । मधेशको मुद्दाबारे उहाँहरुसँग के अपेक्षा गर्न सकिन्छ र ? सबैलाई आआफ्नो राजनीतिक रोटी सेक्नुछ । हिजोसम्म जो माओवादीमा थिए, त्यसपछि नयाँ शक्ति पार्टी खोले त्यहाँबाट पनि केही गर्न सकेनन्, अब कहाँ जाने, बरु मधेशी पार्टी हो, यसैमा गए भने पूर्वप्रधानमन्त्रीको हिसावले नेतृत्व लिन पाइन्छ भन्ने उद्देश्यले नै आएका हुन् ।

० संसदमा उपेन्द्र यादवले गरेको सम्बोधनलाई कसरी हेर्ने त?

— हात्तीको देखाउने दाँत र खाने दाँत फरक–फरक हुन्छ । यी नेताहरुलाई वास्तविक समस्याप्रति कहिल्यै पनि ध्यान गएको छैन । अब जसले माग सम्बोधन गराउन खोज्छ अनि बीचैमा भाँडभैलो गरिदिने अनि आफ्नो अस्तित्व बचाउनका निम्ति म नै हुँ मधेशको मसिहा भन्नका निम्ति षड्यन्त्रपूर्ण काम गरिरहेका हुन्छन् ।

० भनेपछि उपेन्द्र यादव कथित मसिहा हुन् ?

— कथित मसिहा नै हुन् उपेन्द्र यादव । यिनीहरुको विगत हेर्नुस् त । हिजोसम्म एउटा कुर्ता पैजामा लगाएर सानो झोला बोकेका मान्छेको अहिले विलासिता जीवन हेर्नुस् त । उनीसँग करोडौंको फ्ल्याट छ, डेढ–डेढ करोडको गाडी चढेर हिंडिरहेका छन् ।

० त्यत्रो विलासिता जीवन कसरी भयो ?

— त्यो त खोजबिन गर्नुप¥यो । कहाँबाट यत्रो पैसा आयो ? मन्त्री पाउन्जेल ठिक । यहाँसम्म कार्यकर्तालाई समेतलाई स्थान नदिएर आफ्नो परिवारका मान्छेलाई स्वकीय सचिवमा राख्ने, देशविदेश घुम्न जाँदा आफ्नै बालबच्चालाई लिएर जाने, कहिलेकाहीं पार्टीका कार्यकर्तालाई पनि हेरेको भए हुन्थ्यो नि । अहिले कुन पार्टीका नेताले डेढ करोडको गाडी चढेका छन् ? तर क्रान्तिकारी पार्टीकै नेताले डेढ करोडको गाडी चढ्नुपर्ने ? त्यसमा पनि कुनै दूतावासको लगानी होला । मैले सुनेको कि पार्टीले किनिदियो रे । यो पार्टी कति धनाढ्य भइसक्यो कि एउटा सेकेन्ड म्यानलाई पार्टीले डेढ–डेढ करोडको गाडी किनेर दिन्छ । यसबाट पनि मूल्यांकन गर्न सकिन्छ नि ।

० उपेन्द्र यादवको विलासिता जीवन भनेको आफैले आर्जन गरेका हुन् कि भ्रष्टाचारको पनि कुरा छ ?

— यसबारे त अनुसन्धान गर्ने विभिन्न निकायहरु छ । म पनि राजनीति गरेको ५२ वर्ष भयो । चार पटक म वीरगन्जको मेयर भएँ, विभिन्न पदमा आसिन भएँ, अहिले पनि सांसद छु, सानोतिनो आफ्नो व्यवसाय पनि गरेकै छु । मेरो हैसियत छैन अहिलेसम्म कि डेढ करोडको गाडी चढुँ ।

० उपेन्द्र यादवले चिनियाँ दूतावासबाट करोडौं रुपैयाँ लिएको विभिन्न सञ्चारमाध्यमहरुमा चर्चा चल्यो, यसमा कतिको वास्तविकता देख्नुहुन्छ ?

— मैले पनि यसरी नै सुनेको छु । उनको व्यवहार हेर्दा पक्कै पनि केही न केही लिएकै हुनुपर्छ जस्तो लागिरहेको छ । होइन भने करोडौं करोडको फ्ल्याट कहाँबाट आयो काठमाडौंमा ? सबा–डेढ करोडको गाडी कहाँबाट आयो ? अझ राजविराज र विराटनगर कहाँ–कहाँ होलान् त्यो छोडिदिउँ । भनेपछि आगो नबलिकन धुवाँ त आउँदैन । यसमा कतिको सत्यता छ मिडियाका साथीहरुले पनि बुझ्नुपर्ने कुरा हो ।

० तपाइँ उपेन्द्र यादवकै पार्टीबाट चुनाव लड्नुभयो, उहाँलाई राम्ररी चिन्नुभएको होला । उहाँले भन्दै आएको वैकल्पिक सरकार किन चाहियो त ?

— उपेन्द्र यादवले त मधेशीको नाममा भोट लिएर आए, संविधान संशोधन गराउँछु भनेर मन्त्री खाए । स्वास्थ्य एवं उपप्रधानमन्त्री खाए, त्यहाँ के चाहिँ मिलेन, त्यसबाट झारेर कानूनमन्त्री बनाइदियो । त्यो बेला पनि राजीनामा दिनुपर्ने मान्छे अझ के भन्छन् भने मलाई माया गरेर ओलीजीले कानूनमन्त्री दियो रे । भनेपछि उनलाई जस्तो मन्त्रालय दिए पनि हुन्छ । अहिले पनि प्रचण्डसँग उनको साँठगाँठ केका लागि हो भने सकभर गृह मन्त्रालय भेटाउँछन् कि मालवाला मन्त्रालय भेटाउँछ । नियतै सफा भएन । यही महन्थ ठाकुरलाई हेर्नुस्, दुई–तीन चोटि भएपनि आफू सरकार गएनन् नि । बरु अन्य मान्छेहरुलाई पठाए । भनेपछि नेतृत्व त उद्दार हुनुपर्छ ।

० वैकल्पिक सरकारका लागि शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले संयुक्तरुपमा राष्ट्रपति समक्ष हस्ताक्षर गरेर आग्रह गर्नुभएको छ । जसपाको तर्फबाट उपेन्द्र यादवको आधिकारिक पत्र थियो त ?

— शेरबहादुर देउवाजी कांग्रेसको सभापति हुनुहुन्छ, प्रचण्डजी माओवादी केन्द्रका अध्यक्ष हुनुहुन्छ उहाँहरुलाई अधिकार प्राप्त होला । उपेन्द्रजी पनि जसपाका नेता हुन् तर उहाँलाई कसैले अधिकार दिएको छैन । त्यो पार्टीगत निर्णय पनि होइन । कसैले आफ्नो व्यक्तिगत स्वार्थले गर्दा कसैसँग पार्टीको नामले सम्झौता गर्छ भने त्यस्ता व्यक्तिलाई पार्टीले कारबाही गर्छ । पार्टीका पहिलो नम्बरको अध्यक्ष महन्थ ठाकुर हो र उहाँकै हस्ताक्षर चल्छ । संसदमा सबै पार्टीका एक–एक जनाले सम्बोधन गर्ने भनिएको थियो । त्यो आधारमा कांग्रेसबाट देउवा, माओवादीबाट प्रचण्ड र जसपाको नेताको नाताले महन्थ ठाकुरले बोल्नुभयो । अनि उपेन्द्रजीले म पनि दुई शब्द बोल्न पाउँछु भनेपछि सभामुखले उहाँलाई पनि बोल्न दिइयो । संसदले पनि प्रमाणित गर्छ कि यो पार्टीको नेता महन्थ ठाकुर नै हुन् ।

० उपेन्द्र यादवलाई पार्टीले कारबाही गर्छ त ?

— गर्नुपर्छ । हाम्रो माग हो त्यो ।

० नयाँ सरकार गठन हुन्छ त ?

— राष्ट्रपतिज्यूले दुई वा दुईभन्दा दलहरु यदि मिलेर आउँछन् भने नयाँ सरकार निर्माण हुन्छ भनेर आह्वान गर्नुभएको छ । कांग्रेस र माओवादी मिलेर संख्या पुग्दैन । उपेन्द्र यादव कुन पार्टीको आधारमा सरकार बनाउन जाने ? यदि जसपाको तर्फबाट हो भने त पार्टीको निर्णय भएर, पार्टीको अध्यक्षले पठाएको चिठि मात्रै आधिकारिक हुन्छ । महन्थ ठाकुरले वक्तव्य निकालेर भनिसक्नुभयो कि हामी सरकार बनाउने वा गिराउने खेलमा छैनौं । भनिसकेपछि उपेन्द्रजीले हस्ताक्षर गरुन् वा कोही नेताले हस्ताक्षर गरुन् त्यो त व्यक्तिसरह भयो ।

० भनेपछि जसपा विभाजित भइसकेको हो ?

— राजनीतिमा जबसम्म अन्तिम नतिजा आउँदैन तबसम्म यही हुन्छ भन्न गाह्रो छ । पार्टी सिस्टममा यसलाई बडो विचित्रको घटनाको रुपमा लिन सकिन्छ । जुन दुःखदायी हो ।

० यही केपी ओलीको सरकारमा दुई बुँदे सहमति गरेर जसरी उपेन्द्र यादव सरकारमा जानुभयो, उहाँ सरकारमा रहँदासम्म मागहरु पूरा गराउन कति इमान्दार प्रयासहरु गर्नुभयो त ?

— कुनै प्रयास गर्नुभएन । कसरी कमाउँ, कसरी आफ्ना परिवारसहित देशविदेश भ्रमण गरौं त्योबाहेक कुनै पनि काम मधेश र मधेशीका लागि भएन । पद पाएपछि मधेश र मधेशीको कुरासँग के मतलब ? पदबाट हट्ने बित्तिकै मधेश र मधेशीको समस्या बोल्ने, पदमा रहूञ्जेल मधेश र मधेशी को छ थाहै छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ