कुनै पनि बेला सरकारबाट बाहिरिन सक्छौं : अमरेश नारायण झा

नेता, समाजवादी पार्टी

अन्तर्वार्ता

8/23/2019

० समाजवादी पार्टी सरकारबाट बाहिरिने चर्चा भइरहेको छ, के हो कुरो ? 

— हामीले यो सरकारमा सशर्त सहभागी भएका हौं । मुलुकका सम्पूर्ण उत्पीडित समुदायका समस्याहरूलाई यो संविधानले सम्बोधन गरेको छैन । खासगरी, पहिचानको आधारमा राज्य पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार प्रदेशहरूको सीमांकन हुनेगरी संविधानलाई संशोधन गर्ने हाम्रो मुख्य एजेन्डा हो । यस्तै, समानताको आधारमा समानुपातिक प्रतिनिधित्वको सवाल लगायतका विषयमा सरकार र तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग सम्झौता भएको हो । त्यो सम्झौतालाई कार्यान्वयन यो सरकारले नगर्ने पनि भनिरहेको छैन र गर्नका लागि प्रक्रिया पनि सुरू गरिरहेको अवस्था छैन । त्यसैले, हामीले बारम्बार यो सरकारलाई दबाब दिइरहेका छौं । यदि अब पनि यो सरकार संविधान संशोधनप्रति गम्भीर भएन भने हामी कुनै पनि बेला सरकारबाट बाहिर आएर सडक संघर्षमा जान सक्छौं ।

० भनेपछि नेकपासँग समाजवादीको दूरी बढ्दै गएको छ ? 

— दूरी त बढेको छैन । हामी सुरूदेखि नै आफ्नो एउटा धारमा उभिएका छौं । हाम्रा मागहरू सम्बोधनका लागि जसरी अगाडि बढ्नुपर्ने हो त्यसरी आइरहेको छैन । त्यसले गर्दा हामी नेकपा नेतृत्वको सरकारप्रति सशंकित भएका छौं । हाम्रा मागलाई यसरी नै बेवास्ता गर्दै गयो भने हामी धेरै दिन सरकारमा बस्न सक्दैनौं ।

० तपाइँहरू कहिलेसम्म सरकारमा बस्ने ?

— जब हामीलाई महसुस हुन्छ कि यो सरकारले संविधान संशोधन गर्न सक्दैन, त्यतिबेला हामी सरकारबाट बाहिरिन्छौं । हामी सत्तामा बस्नकै लागि सरकारमा गएका होइनौं । हामी आफ्नो मागमा अडिग छौं । यो सरकारले गरेन भने कुनै पनि बेला सरकारबाट बाहिर आउन तयार छौं ।

० प्रधानमन्त्री, सञ्चारमन्त्री लगायतले आवश्यक्ता महसुस भयो भने संविधान संशोधन हुन्छ भन्दै आउनुभएका छन् ? तपाइँहरूले आवश्यक्ता र औचित्य महसुस गराउन सक्नुभएको छैन ? 

— नेकपाका नेताहरूले पनि संविधानमा संशोधन आवश्यक छ भनेर भन्दै आएका छन् । यो संविधान संशोधन नभएसम्म देश अगाडि बढ्न सक्दैन । तर, उनीहरूले जसरी आवश्यक्ता र औचित्यको आधारमा संशोधन हुने भन्दै आइरहेका छन्, त्यसमा हामी बारम्बार भनिरहेका छौं । हामीले माग गरेको आवश्यक्ताभन्दा बाहिरको कुरा होइन । नेपालका बहुसंख्यक जनता संविधानमा संशोधन चाहेका छन् । यो सरकारलाई संशोधन गर्न सजिलो होस् भनेर नै अहिलेसम्म हामी सरकारमा बसिरहेका छौं । अहिले पनि हामीलाई विश्वास छ । तर, जुन दिन हामीलाई लाग्छ कि यो सरकारले संशोधन गर्दैन त्यो दिन हामी बाहिरिन पूर्णरूपमा तयार छौं ।

० तर, कहिलेसम्म ?

— हामीले समयसीमा नै तोकिसकेका छैनौं । हामीले बारम्बार भनिरहेका छौं कि छिट्टो गर्नुस्, ढिलो भइसक्यो । धेरै दिनसम्म यसरी अब चल्न सक्दैन । प्रक्रिया सुरू गरौं भनेका छौं ।

० संविधान संशोधनका लागि राजपा र तत्कालीन फोरम सँगै आन्दोलन गरेको थियो । तर, अहिले संशोधन गराउने बेलामा दुवै दलको दुईटा धार छन् । संशोधनका लागि राजपा र समाजवादी पार्टीबीच सहकार्य हुन्छ त ? 

— हामीबीच सुरूदेखि नै सहकार्य हुँदै आएको छ । हामी प्रदेश २ मा सहकार्य गरेर सरकार पनि चलाइरहेका छौं । हामी त्योभन्दा पनि सँगै कसरी अगाडि बढ्न सक्छौं, त्यो प्रयासमा पनि छौं । जनताको आकांक्षाअनुसार हामी यहाँसम्म पनि पुग्छौं ।

० समाजवादी पार्टी पनि सरकारबाट बाहिर आएर राजपाकै बाटोमा जान लागेको हो ?

— अहिलेसम्म हाम्रो बाटो त फरक–फरक नै छ । हाम्रो सोच मिल्न सक्छ । भोली के हुन्छ त्यो कुरा अहिले नै भन्न सक्दैनौं । हामी एकभएर पनि जान सक्छौं । हामी आफ्नो माग पूरा गराउन कतै पनि पछाडि हटेका छैनौं । संघीय सरकारको गलत कार्यको हामी सशक्तरूपमा विरोध पनि गर्दै आएका छौं । हाम्रो माग पूरा भएन भने निश्चितरूपमा सशक्त भएर सडक आन्दोलन गर्नेछौं । यसमा द्विविधा छैन ।

० समाजवादीले सरकार छोडेर आन्दोलनमा जाने धम्की मात्रै दिँदै आएको छ नि ? 

— हामीले धम्की दिएको छैन, सरकारलाई सचेत गराइरहेका छौं । हामीले जनताको हितमा कार्य गरोस् भनिरहेका छौं । अन्तरिम संविधानबाट जनताले जे अधिकार पाएका थिए, त्यो पनि यो संविधानमा खोसिएको छ । भोलीको दिनमा यो सरकारले जनताको पक्षमा काम गर्न सकेन भने सशक्तरूपमा सडक आन्दोलनमा जान्छौं । जनताको पक्षमा निर्णयका लागि हामीले यो सरकारलाई बाध्य पार्छौं । 

० संघीय संसदमा समाजवादीका एक अध्यक्ष सत्तापक्ष र अर्का अध्यक्ष प्रतिपक्षीको बेन्चमा अहिलेसम्म किन बस्दै आएका छन् ? 

— फोरम र नयाँ शक्ति पार्टी अहिलेसम्म दर्ता प्रक्रियामा थियो । निर्वाचन आयोगले जबसम्म आधिकारिकरूपमा दर्ता भएको जानकारी गराउँदैन तबसम्म छुट्टाछुट्टै बेन्चमा बसिरहनुभएको छ । आयोगले सदनलाई जानकारी गराइसकेपछि सिटको व्यवस्थापन हुन्छ । 

० समाजवादी र राजपाबीच एकताका लागि अनौपचारिकरूपमा वार्ताहरू भइरहेको सुनिन्छ, तर औपचारिकता किन पाएको होला ? 

— दुवै पार्टीबीच एकताका लागि धेरै अगाडिसम्म कुरा बढिसकेको छ । दुवै पार्टीका नेताहरूले महसुस गरेका छन् कि एकता हुनुपर्छ । एकताअघि दुवै पार्टीका विभिन्न कुराहरू मिलाउनुपर्ने हुन्छ । दुवै पार्टीका नेता कार्यकर्ताहरूलाई कसरी एक ठाउँमा ल्याउन सकिन्छ र सबैको भावनालाई समेट्न सकिन्छ भन्ने कुराको निर्णय गर्न अलि समय लाग्छ । हामीलाई पूर्ण विश्वास छ कि हामीबीच एकता हुन्छ नै । नेताहरूको समायोजन धेरै महत्वपूर्ण कुरा हो । निश्चितरूपमा यी कुराहरू टुंगो लगाउन पहिला अनौपचारिकरूपमा नै गर्नुपर्छ । यी कुराहरू अनौपचारिकरूपमा मिलिसकेपछि औपचारिकरूपमा घोषणा हुने हो । 

० यो एकताका लागि नेतृत्वमा बढी समस्या छ कि मुद्दामा ? 

— नेतृत्वमा धेरै समस्या छैन । नेतृत्वभन्दा पनि सिद्धान्तमा केही कुराहरू फरक छ । हामी निर्वाचित राष्ट्रपति भनेका छौं भने राजपाले संसदीय व्यवस्थाको मूलमर्मअनुसार भनेको छ । यस्ता कुराहरूमा हामीबीच गहन छलफल हुन्छ । जब हामी मिल्छौं भने कुनै एक सिद्धान्तमा हामी आउनैपर्छ । त्यसका लागि केही समय लाग्छ । नेताहरूलाई कसरी समायोजन गर्ने यो पनि एउटा महत्वपूर्ण मुद्दा हो । 

० छिमेकी मित्रराष्ट्र भारतले काश्मिरको सन्दर्भमा गरेको निर्णयमा समाजवादी पार्टीको औपचारिक धारणा के हो ? यसमा समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराईले विरोध जनाउनुभएको छ । 

— यस विषयमा समाजवादीले नीतिगत निर्णय गरिसकेको छैन । त्यसैले, मैले समाजवादीको आधिकारिक धारणा भन्न सक्दिन । डा.बाबुरामजीले अध्यक्षको हैसियतले जे कुरा राख्नुभएको छ, त्यो उहाँको निजी धारणा हो । किनभने पार्टीले यस विषयमा निर्णय गरेको छैन । तर, हरेक देशलाई आफ्नो आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार हुन्छ । यदि भारतले आफ्नो आन्तरिक मामिलामा केही निर्णय गरेको छ भने त्यसबाट हामी आतिहाल्नुपर्ने आवश्यक छैन । भारतले आफ्नो आन्तरिक मामिलामा कुनै निर्णय गर्छ भने अन्य पक्षले चिन्ता लिनुपर्दैन । 

० भनेपछि, डा.भट्टराईको त्यो धारणालाई निजी विचारकै रूपमा लिनुपर्छ ? 

— अहिले पार्टीले यस विषयमा निर्णय गरेको छैन ।

० तर, भारतको त्यो निर्णयमा समाजवादीले विरोध ग¥यो भन्ने किसिमका चर्चा भइरहेको छ नि ? 

— समाजवादी पार्टीको औपचारिक धारणा बाहिर आइसकेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ