० जनमत पार्टीको महाधिवेशनको तयारी कस्तो छ ?
— जनमत पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन एक दिवसीय मात्रै गर्ने योजनामा छौं । महाधिवेशनका ५ हजार दुई सय प्रतिनिधिहरु छन् । यसबाहेक मधेशका हरेक जिल्लाबाट करिब २५ हजारसम्म युवा जनमत संघका स्वयम्सेवकहरु आउनेछन् । सम्पूर्णको व्यवस्थापनमा हामी लागेका छौं । समग्रमा भन्नुपर्दा हाम्रो महाधिवेशनको सम्पूर्ण तयारी करिब–करिब पूरा भइसकेको छ ।
० एक दिनमै कसरी महाधिवेशन सम्पन्न हुन्छ ?
— दुई वा तीन दिन महाधिवेशनलाई लम्ब्याउँदा बढी खर्चियो भएको हुनाले हामी एक दिनमै सम्पन्न गर्ने योजनामा छौं । हामीले समय तालिकाअनुसार काम गर्ने हो । ठिक १० बजे बिहान हाम्रो महाधिवेशन सुरु हुनेछ । १२ बजेसम्म हाम्रो खुल्ला सत्र हुनेछ । त्यो अवधिमा महाधिवेशनमा आएका अतिथिहरुले आफ्नो शुभकामना मन्तव्य दिनुहुन्छ । त्यसपछि १२ बजेदेखि २ बजेसम्म स्वयम्सेवक साथीहरुलाई प्रशिक्षण दिने कार्यक्रम छ । २ बजेदेखि ३ बजेसम्म ब्रेक हुनेछ । त्यसपछि ३ बजेदेखि बेलुकी ७ बजेसम्म हाम्रो बन्द सत्रको कार्यक्रम सुरु हुनेछ । यसरी नै हामीले व्यवस्थित तरिकाले महाधिवेशन सम्पन्न गर्ने योजना बनाएका छौं ।
० अहिले कोरोना संक्रमण फेरि बढ्न थालेको छ, सुरक्षाका मापदण्डहरु अपनाइनेछ त ?
— हामीले कोरोनाबाट बच्नका लागि पूर्णरुपमा सुरक्षा मापदण्ड अपनाइ महाधिवेशन सम्पन्न गर्नेछौं । त्यसका लागि हामीले जनकपुरधामको बाह्रबिघामा महाधिवेशन सम्पन्न गर्ने र सुरक्षाका हरेक मापदण्ड अपनाउने तयारी गरिरहेका छौं । मञ्चमा पनि हाम्रा अतिथिहरु बस्दा सामाजिक दूरी कायम गर्दै बस्ने व्यवस्था मिलाउँदैछौं । ठूलो मञ्च बनाएका छौं । ठूलो पण्डाल लगाएका छौं । मास्क र सेनिटाइजरको पनि व्यवस्था गरेका छौं । त्यसैले हामीले कोरोनालाई मध्यनजर गर्दै सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउँछौं ।
० महाधिवेशनका मूल एजेन्डा के हो ?
— हाम्रा सबै नेताहरु एकै ठाउँमा भेला भएका थिएनन् । सबैलाई एकै ठाउँमा ल्याएर परिचय गराउने हाम्रो एउटा मूल उद्देश्य हो । पार्टी गठनभएपछि हाम्रा नेता कार्यकर्ताहरु सबै एकै ठाउँमा अहिलेसम्म भेला भएका थिएनौं । यसअघि हाम्रा समितिहरु तदर्थ समिति मात्रै थिए । हाम्रो लगभग ६० प्रतिशत जिल्ला तथा वडा अधिवेशनहरु सम्पन्न भइसकेका छन्, ती सबैलाई वैधानिकता दिने कार्यक्रम पनि हो । विधानमा पनि हामीले अलिकति परिवर्तन गर्ने तयारी गरेका छौं । हामीले निर्वाचन लक्षित कार्यक्रमहरु पनि सुरु गरेका थियौं । त्यसका लागि पनि हाम्रो तालिमका सेसनहरु हुनेछन् ।
० यी एजेन्डाहरु त तपाइँहरुको पार्टी लक्षित मात्रै भयो, जनताका लागि के ?
— जनमत पार्टी भनेको जनताको बीचबाट जन्मिएको र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात गर्दै आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गर्न लागेको छ । तत्कालीन मधेशकेन्द्रि दलहरुले आफ्नो महाधिवेशन गर्न सकिरहेका थिएनन् । ती पार्टीहरुमा अहिले पनि टिका लगाएर मनोनयन गर्ने प्रचलन अहिले पनि जारी नै छ । तर जनमत पार्टी आफ्नो गठनको दुई वर्षकै अवधिमा यत्रो भव्यताका साथ महाधिवेशन गर्न लागेको छ । हामीले यो महाधिवेशनमा प्रत्येक वडाका कम्तीमा २५–३० जना युवाहरुलाई तालिम दिने छौं । हाम्रो समाजमा आइपर्ने आपतकालीन अवस्थामा कसरी जनतालाई जोगाउने, सुरक्षा दिने, राहत दिने लगायतका सहयोग दिनसक्ने विषयमा पनि हामीले तालिम दिने छौं । जुन हाम्रो समाजका लागि पूरै खुशीको कुरो हुनसक्छ ।
० जनमत पार्टीमा शीर्षस्थ अधिकांश नेता कार्यकर्ताहरु डाक्टर, इन्जिनियरहरु नै बढी छन्, यसले मधेशमा परिवर्तन ल्याउँछ त ?
— यहाँ कस्तो देखियो भने अनपढहरुले पढेलेखेकाहरुमाथि शासन गरिरहेका छन् । स्थानीय तहमा हेर्दा कतिपय एसएलसी पनि पास नगरेका मेयर वा जनप्रतिनिधिहरुले मास्टर्स गरेका इन्जिनियरहरु शासन गरिरहेका छन् । जुन काम नियम कानूनले मिल्दैन, प्राविधिकरुपमा हुन नसक्ने काहरु पनि अहिले जनप्रतिनिधिहरुले दबाब दिएर इन्जिनियरहरुलाई काम गर्न बाध्य बनाउँछन् । त्यहीं कारणले अब पढेलेखेका डाक्टर इन्जिनियर साथीहरु जागरुक भएर यो पार्टीमा लागिरहेका छन् । जनमत पार्टीमा डा.इन्जिनियरहरु मात्रै हैन, सबै किसिमका व्यवसाय गर्ने साथीहरु पनि जनमत पार्टीमा आबद्ध भइरहानुभएको छ । पढेलेखेकाहरुले गर्ने काम र अनपढले गर्ने काममा धेरै भिन्नता हुन्छ । अहिलेसम्म किन विकास भइरहेको छैन भन्ने कुराले प्रष्टयाउँछ । विश्वमा कसरी उद्योग धन्दाहरु स्थापना भइरहेको छ, कृषिको आधुनिकीकरण कसरी भएको छ लगायतका कुराहरु विदेशमा गएर पढेलेखेका वा काम गरेका साथीहरुसँग बढी अनुभव हुन्छ । उहाँहरु नै विदेशबाट आएर यो पार्टीमा लागेपछि आउने दिनमा गर्ने काम, आधुनिकीकरण, औद्योगीकरण, योजनाहरु अवश्य पनि लागू हुनेछ । अहिले भइरहेको विकास निर्माणको तुलनामा अझै पनि एडभान्स तरिकाले गर्नुहुन्छ भन्ने हिसावले नै जनमत पार्टीमा त्यस्ता पढेलेखेका साथीहरु आबद्ध भइहनु भएका छन् ।
० तपाइँ लामो समयदेखि विदेशमा बस्नुभयो, व्यवसाय गर्नुभयो र अहिले ती सबै छोडेर आउनुभएको छ । फेरि फर्किनुहुन्छ कि ?
— मैले सातवटा देशहरु पोर्चुगल, स्पेन, साउदी अरेबिया, कतार, दुबईमा काम गरेको छु । अबको दिनमा स्वदेशमै बसेर मधेशकै साथीहरुसँग बसेर यहाँको विकासका लागि लाग्ने योजनाका साथ नै आएको हुँ । विदेशको बसाइको क्रममा मैले अध्ययन गरिरहेको थिएँ कि यहाँ कसरी विकासहरु भइरहेको छ । दुबईको नै उदाहरण हेर्ने हो भने आजभन्दा ४२ वर्ष अगाडि त्यहाँ केही पनि थिएन, बालुवा नै बालुवा थियो । त्यो ठाउँमा आज विश्वकै सबभन्दा मोडल सिटीको रुपमा विकास भएको छ । त्यहाँका विकास निर्माणहरुको अनुभव लिएर नै म यहाँ आएको छु । मधेश र यो देशलाई पनि दुबई जस्तै यहाँ गर्न सकिने योजनाहरु हामीसँग छ । अब निरन्तर मेरो यही बास हुन्छ र मधेश विकासकै लागि काम गर्नेछु ।
० जनमत पार्टीले युवाशक्ति विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्छ ?
— आगामी निर्वाचनलाई मध्यनजर गर्दै हामीले मुख्यरुपमा दुईटा एजेन्डालाई अगाडि सारेका छौं । जनमत पार्टीले यदि चुनाव जित्यो भने जनता राज ल्याउने हाम्रो पहिलो अवधारणा हो । जनता राज भनेको जनताले जे चाहन्छ त्यहीं हिसावले हाम्रो अवधारणा बन्छ र लागू गर्नेछौं । दोस्रोमा हामीले १० लाख युवालाई रोजगारीको सुनिश्चितता गर्ने अवधारणा पनि ल्याएका छौं । जसमा मधेशको हरेक घरमा एउटा रोजगारी सिर्जना गर्ने हिसावले हाम्रो कार्यक्रमहरु छन् । विदेशमा हाम्रो करिब दुई लाखभन्दा बढी मधेशी साथीहरु हाम्रा सदस्यहरु छन् । जबकि मधेशबाट करिब सात लाख मधेशी विदेशको भूमिमा रोजगारीका लागि गएका छन् । यदि हाम्रो योजनाअनुसार काम गर्न सक्यौं भने सबैका लागि यही नै रोजगारीको सिर्जना गर्छौ । कुनै ठाउँमा विकास गर्नका लागि त्यहाँ भएका स्रोत साधनहरुलाई नै हामीले उपयोग गर्न सक्यौं भने ठूलो सम्भावना हुन्छ । मधेशमा भएको सबभन्दा ठूलो स्रोत भनेको उर्बर भूमि हो र त्यसपछि यहाँका जनशक्ति हो । यो उर्बर भूमि र जनशक्तिमा प्रविधि मात्र प्रयोग गरियो भने ३०–४० लाख व्यक्तिलाई हामीले यही रोजगार दिन सक्छौं । उदाहरणका लागि हामीले दुबईलाई हेर्न सक्छौं । त्यहाँको जम्मा जनसंख्या भनेको ९६ लाख मात्र छ । त्यसमा १८ लाख मात्रै त्यहाँका स्थानीय बासिन्दा छन् । त्यसबाहेक सबै बाहिर आएर त्यहाँ काम गरिरहेका छन् । जबकि हाम्रो यहाँ सबै थोक हुँदाहुँदै पनि बेरोजगारीको अवस्था छ । त्यसलाई हामीले परिवर्तन गर्दै यही नै रोजगारीको सिर्जना गर्ने हाम्रो लक्ष्य हो ।
तपाईको प्रतिक्रिया